राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा सुनसरीमा जिल्ला स्तरीय छलफल कार्यक्रमको आयोजना गरिएको छ ।जिल्ला तथ्याङ्क कार्यालय सुनसरीले जिल्लाका सरोकारवालाहरुको भेला डाकी जनगणनाको तयारीका बारेमा जानकारी गराएको हो ।कार्यक्रममा दिइएको जानकारी अनुसार २०७८ को जनगणना २०६८ को भन्दा पूर्ण हुनेछ । एकमात्र लागत फारम प्रयोगमा ल्याइने भएकाले समेत अपनाउन लागिएको बहुमोडल प्रकृया चुस्त र प्रभावकारी हुने विश्वास लिइएको छ ।
जिल्ला तथ्याङक अधिकृत सुवास अधिकारीका अनुसार यस पटकको राष्ट्रिय जनगणनाले पूर्ण विवरण संकलन गर्ने छ । सहज पहुँचलाई मध्यनजर गर्दै तथ्याङक व्यवस्थापनको कार्य प्रविधिमैत्री बनाइने हुँदा सम्पूर्ण नतिजा स्थानीय तहसम्म निकाल्न सकिने उनले कार्यक्रममा जानकारी गराए ।कार्यालय स्थापना देखि कर्मचारी व्यवस्थापन, जनशक्ति परिचालनका अलावा प्रचारप्रसार सहित राष्ट्रिय जनगणनालाई विश्वसनीय र सफल बनाउन सरोकारवालाहरुको भुमिकाको विषयमा समेत कार्यक्रममा छलफल चलाइएको थियो । राष्ट्रिय जनगणनालाई सफल बनाउन सरोकारवाला सबैको साथ र सहयोग जुटाउने उद्देश्यसाथ जिल्ला स्तरीय छलफल कार्यक्रमको आयोजना गरिएको तथ्याङक कार्यालय सुनसरीका सुपरीवेक्षक पुष्कर प्रसाद गुरागाईले बताए ।उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, जिसस सुनसरी उपप्रमुख कृष्णकुमारी विक, प्रहरी प्रमुख यज्ञविनोद पोखरेल सहित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सहितको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved