के रोग लाग्यो भगवतीलाई ? डाक्टर बताइदेउ !

  • प्रकाशित मितिः माघ ९, २०७४
  • 1109 पटक पढिएको
  • समय अनलाइन

 काठमाडौं । रोल्पाकी भगवती गिरी अहिले २० वर्षकी भइन् । राम्रो लगाउने, मीठो खाने उमेर हो भगवतीको । तर लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमै उनलाई अनौठो रोगले सताएको छ । उनका पितालाई पनि यही रोगले लग्यो, भाइलाई पनि यसैले गाँजिसकेको छ । उनी अहिले उपचार खोज्दै काठमाडौं आएकी छिन् । तर, डाक्टरले रोग पत्तो लगाउन सकेका छैनन् ।

भगवतीलाई भेट्न अनलाइनखबरकर्मी सोमबार गोंगबु बसपार्कस्थित हिमाञ्चल गेष्ट हाउस पुग्दा उनी माइजू पर्ने एकजना महिलासित खाटको एउटा कुनामा बसिरहेकी थिइन् । उनी साथीसंगीसित बाहिर हिँडडुल गर्न सक्ने अवस्थामा थिइनन् । न त घरको काम नै गर्न सक्ने अवस्थामा थिइन् । उनका दुबै खुट्टा सुन्निएका थिए । आँखा रसाएका थिए । उनी स्तव्ध देखिन्थिन् । अनुहार मलीन थियो आँखा सुन्निएका थिए । उनी फुटेका खुट्टातिर बेलाबेला हेरिरहन्थिन् । उनीसँग त्यहाँ नातेदार दीपेन्द्र र अनिल पनि भेटिए ।

रोल्पा जिल्ला सुवर्णावती गाउँपाचलिका २ हिले स्थायी घर भएकी भगवतीलाई बिहान-बेलुकीको छाक टार्नसमेत धौधौ छ । विगत ६ वर्षदेखि हात्तीपाइले जस्तै खुट्टा सुन्निने रोगबाट ग्रसित उनी उपचार अभावमा अरुको मुख ताक्न बाध्य छिन् । घरमा आमा छिन्, तर उनको बोली आउँदैन ।

६ वर्षअघिको समस्या

भगवतीसँगै भेटिएका दीपेन्द्रका अनुसार आजभन्दा ६ वर्ष पहिले भगवती करिब १४ वर्षकी हुदाँ घाँस दाउरा बोक्ने क्रममा भीरबाट लडेकी थिइन् । लगत्तै उनको दाहिने खुट्टा सुन्निएको थियो ।

‘सुरुमा त सुन्निएको बस्यो, तर केही समयपछि फेरि खुट्टा सुन्निन थाल्यो’ दीपेन्द्रले अनलाइनखबरसँग भने, ‘केही सीप नलागेपछि करिब १० महिना भारतमा राखेर उपचार गरियो, त्यहाँ घाउ केही बिसेक भएपछि नेपाल ल्याइयो, तर फेरि बल्झियो ।’

दीपेन्द्रका अनुसार नेपालगञ्ज, चन्द्रौटा लगायतका नेपालका विभिन्न अस्पतालमा भगवतीको थप उपचार गरियो । उपचारकै क्रममा दाहिने घुँडाको अपरेशन पनि भयो । अपरेशन गरेको केही समय खुट्टा सुन्निन ठीक भए पनि त्यसपश्चात्त अचानक सुन्निन थाल्यो । अहिले सुन्निने क्रम दाहिने खुट्टा हुँदै देव्रे खुट्टामा सरेको छ ।

६ वर्षदेखि अनवरतरुपमा रोगसँग जुझिरहेकी भगवतिले अनलाइनखबरसँग भनिन्- ‘सुरुमा त सामान्य ज्वरो आउने र ज्वरो आएपछि खुट्टा सुन्निने मात्र गर्थ्यो, पछि एक्कासी खुट्टा पटपट फुट्न थाल्यो ।’

खुट्टा फुट्दा सहनै नसकिने गरी दुख्ने र टेक्नसमेत नसकिने भगवतीले सुनाइन् । उनकाका अनुसार अहिलेसम्म दुईपटक यसैगरी खुट्टा सुन्निने र फुट्ने समस्या भैसकेको छ । अहिले पनि उनका दुवै खुट्टा सुन्निएका अवस्थामा छन् ।

भगवतीको जब खुट्टा फुट्न थाल्छ, सुरुमा उनलाई ज्वरो आउने गर्छ । त्यसपछि दुवै खुुट्टा क्रमशः सुन्निन थाल्छ । र, अचानक खुट्टामा बञ्चरोले चिरेजस्तो गरी पटपट फुट्न थाल्छ । त्यसपछि खुट्टाबाट गन्हाउने पानी, तरल पदार्थ र रगतसमेत बग्न थाल्छ । त्यसरी खुट्टा फुट्दा असह्य पीडा हुने भगवती बताउँछिन् ।

बुबालाई यही रोगले लग्यो, धामीले सकेनन्

परिवारका ६ सन्तानमध्ये भगवती माइली छोरी हुन् । परिवारमा यस्तो रोग लाग्ने उनी एक्ली होइनन् । उनका बुबालाई पनि सानै उमेरदेखि दाहिने खुट्टा सुन्निने समस्या थियो । त्यही समस्याका कारण बुबाको निधन भयो । अहिले भगवतीसँगै उनका भाइ पनि यही समस्याबाट ग्रसित छन् ।

‘घरको आर्थिक अवस्था कमजोर छ, बुवा यही रोगका कारण बित्नुभयो, भाइलाई पनि दाहिने खुट्टामा यस्तै रोग लागेको छ, भगवतीले दुखेसो पोखिन्,’कसैले उपचार गरिदिए भविश्यमा जागिर खाएर परिवारको ज्यान पाल्थे । भाइको पनि उपचार गर्थें ।’

भगवती र उनका बुबालाई सुरुमा घरपरिवारले के भएको हो भनेर पत्ता लगाउन सकेनन् । गाउँलेहरुले भाकल लागेको, देवीदेउता रिसाएका कारण त्यस्तो भएको हुन सक्ने बताएपछि । उनका परिवारले धामीझाँक्रीका लगाए । भाले पनि काटे । देवीदेउताको पूजा पनि गरे । तर, रोगले निको हुने कुनै लक्षण देखिएन ।

धाँमीझाँक्रीले पार नलगाएपछि थप उपचारका लागि काठमाडौं ल्याएको तर ट्रमा सेन्टरबाट डिस्चार्ज भएको २४ दिन बितिसक्दा समेत सुन्निएको खुट्टा बस्ने संकेत नदेखिएको गिरी परिवारको गुनासो छ ।

के रोग लाग्यो यस्तो ?

चिकित्सकहरुका अनुसार भगवतीलाई हात्तीपाइले रोग लागेको हो । तर, हात्तीपाइले रोगसँगै उनका खुट्टा फुट्ने र त्यसबाट गन्हाउने तरल पदार्थ, पीप र रगत निस्कने समस्याका कारण थप समस्या परेको हो ।

‘सुरुमा त खुुट्टा सुन्निएको मात्रै थियो, विस्तारै फुट्न थालेपछि भारत र नेपालका विभिन्न अस्पतालहरुमा चेकजाँच गरायौं’ भगवतीका दाजु दीपेन्द्र गिरीले अनलाइनखबरसँग भने, ‘ तर, कहीँबाट रोग पत्ता नलागेपछि करिब एक महिना अगाडि वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि राख्यौं ।’

ट्रमा सेन्टरमा करिब २४ दिन राखेर उपचार गर्दा पनि रोग निको नभएपछि अहिले भगवतीको परिवार सहयोगको प्रतिक्षामा रहेको उनका दाइ दीपेन्द्रले बताए । उनीहरु रोल्पा फर्किन पनि सकेका छैनन् । राजधानीमै बसेर थप उपचार गराउनका लागि खर्चपर्च पनि छैन ।

हात्तीपाइले रोगका कारण खुट्टा हात्तीको झैं सुन्निने भए पनि फुट्ने कारण के हो भन्ने कुरामा भने चिकित्सकले समेत पत्तो लगाउन नसकेको उनीहरुको गुनासो छ ।

‘ट्रमा सेन्टर उपचार गर्दा पहिले त घाउको मात्र उपचार भयो, पछि चिकित्सकहरुले हात्तीपाइले भन्नुभयो । औषधि सेवन गरेमा एक सेन्टिमिटरसम्म घट्छ । यसको रोकथाम हुन्छ पनि भन्नुभएको थियो,’ भगवती भन्छिन्, तर, यसको उपचार नेपाल मात्रै नभई विश्वका कुनै देशमा पनि सम्भव छैन भनेपछि थप तनाव सिर्जना भएको दीपेन्द्र बताउँछन् ।

उनी भन्छन्, ‘पहिले उपचार गरेपछि सामान्यजस्तै भइसकेको थियो । अहिले फेरि सुन्निन थालेपछि तनाव उत्पन्न भएको छ । यद्यपि, कहीँ कतैबाट उपचार हुन सक्छ कि भनेर हामीले सबैतिर गुहारिरहेका छौं ।’

उपचारमै सिद्धियो पैसा

नेपालका विभिन्न अस्पताल तथा भारतमा लगेर उपचार गर्ने क्रममा भगवतीको परिवारको लाखौं रुपैयाँ सकिएको छ । घरमा समेत लाउन खान दुःख छ । भएको एउटा घर पनि कान्छाबाबुले खाइदिएको र हाल रोल्पाको एक खोलाकिनारमा गोठजस्तो घरमा ५४ वर्षीया वाक क्षमता नभएकी आमा र ८ वर्षका भाइसित बस्दै आएको भगवती बताउँछिन् । भाइ स्वयं हात्तीपाइले रोगबाट पीडित छन् ।

‘अहिलेसम्म त भाइले धेरथोर’ पैसा पठाइदिएकाले सक्दो उपचार गर्दै आएका थियौं, तर ऊ आफैं पनि यो समस्याबाट ग्रसित भएपछि अब कसरी उपचार गर्ने ? उपचार त गरौंला तर डाक्टरले ६ वर्षसम्म रोगै पत्ता लगाउन सकेनन्’ भगवतीका दाइ नाता पर्ने अनिल घर्तीमगरले अनलाइनखबरसित भने ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved