फोहोर व्यवस्थापनमा इटहरीले मारेको फड्को, ग्याँस र प्राङगारिक मल उत्पादन शुरु

  • प्रकाशित मितिः फाल्गुन २०, २०८०
  • 194 पटक पढिएको
  • समय अनलाइन

इटहरी/ फोहोर मैला व्यवस्थापनमा इटहरी उपमहानगरपालिकाले निकै ठुलो फड्को मारेको छ। शहरमा उत्पादन भएको फोहोर खाल्डा खुल्डीमा फाल्नुपर्ने, चारेकोशे जङ्गल तथा सामुदायिक बनमा फाल्नुपर्ने अवस्था देखी अहिले आफ्नै प्रशोधन केन्द्रबाट ग्याँस र प्राङगारिक मल उत्पादन सम्म आई पुगेको छ।

फोहोर व्यवस्थापनको काम शुरु भएको १० वर्षपछि फोहोरबाट ग्याँस र प्राङगारिक मल उत्पादन शुरु भएको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर १०मा स्थापना भएको फोहोर प्रशोधन केन्द्रले प्लान्ट निर्माण सम्पन्न गरी सन् २०२२ मे ७ देखि ग्याँस उत्पादन परीक्षण शुरु गरेको वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लिका सञ्चालक मानध्वज मोक्तानले जानकारी दिनुभयो।

परिक्षणकाल अवधिमा एक सय सिलिन्डर ग्याँस उत्पादन गरी विक्री गरिएको कम्पनीले जनाएको छ। उत्पादन भएको ग्याँस सुनसरीकै नेमुवामा रहेको जानकी ट्याङ्की उद्योगलाई विक्री गरिएको कम्पनीका सञ्चालक मोक्तानले जानकारी दिनुभयो। कम्पनीले अव भने केही प्राविधिक पक्षलाई व्यवस्थापन गर्दै व्यवसायीक रूपमा ग्याँस र मल उत्पादन गर्न सक्षम भएको बताएको छ। ग्याँस र मलको उत्पादन तथा विक्री गरी राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको इन्भारो कम्पनीका सञ्चालक मोक्तानको विश्वास छ । 

कति ग्याँस उत्पादन हुन्छ र कहाँ खपत हुन्छ ? 

आयोजनाको डिपीआर अनुसार साढे १३ करोड लाग्ने अनुमान थियो। तर ग्याँस उत्पादनको अवस्था सम्म आइपुग्दा करिब २१करोड लगानी भएको इन्भारो म्यानेजमेन्ट कम्पनीले जनाएको छ। योजनाको डिपीआर अनुसार स्थापना भएको प्लान्टबाट दैनिक ३० टन कुहिने फोहोर प्रशोधन गरी ८ टन ग्याँस र ६ टन प्राङ्गारिक मल उत्पादन गर्न सकिन्छ। कुहिने फोहोरबाट ग्याँस र मल उत्पादन गर्न २ करोड ७० लाखको लागतमा डाईजेस्टर निर्माण गरिएको छ। सो डाईजेस्टरमा ग्याँस र मल उत्पादन गर्न दैनिक ३०टन कच्चा पदार्थ(कुहिने फोहोर) आवश्यक पर्छ। 

उत्पादन भएको ग्याँस सिलिन्डरमार्फत विक्री गर्न सकिने कम्पनीले जनाएको छ। उत्पादन भएको ग्याँसलाई बजारको कुनै समस्या छैन। सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरूले सहजै खरिद गरिदिने वेस्ट एण्ड इन्भारो कम्पनीका सञ्चालक मानध्वज मोक्तान बताउनुहुन्छ। कम्पनीले पनि उत्पादन गरेको ग्याँसलाई औद्योगिक क्षेत्रलाई नै टार्गेट गरी विक्री गर्ने योजना बनाएको छ । 

परीक्षणकालमा उत्पादन भएको ग्याँस पनि आद्यौगिक कोरिडोरकै जानकी ट्याङ्की उद्योगले खरिद गरिदिएको थियो।

१० वर्षको प्रयास पछिको उपलब्धि 

ल्याण्डफिल्ड साईड सञ्चालनमा आएपछि फोहोर मैला व्यवस्थापन सहज मात्र भएको छैन, सडकमा जथाभाबी देखिने फोहोर समेत हटेको छ। इटहरीका मुख्य चौक, सडक तथा भित्री सडकहरू समेत सफा देखिन थालेका छन्। दैनिक नियमित रूपमा फोहोर सङ्कलन र व्यवस्थापन हुन थालेपछि इटहरी सफा देखिन थालेको हो। अहिले फोहोर व्यवस्थापनमा कुनै समस्या भोग्नु नपरेको इटहरी उपमहानगरपालिका वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले बताउनुभयो। पहिले जस्तो दुःख नभएको उहाँले बताउनुभयो। निजी क्षेत्रलाई दिएपछि फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा सामुदायिक बनमा फाल्नुपर्ने बाध्यता पनि हटेको चौधरीले बताउनुभयो। 

इटहरीको फोहोर मैला व्यवस्थापन अर्को चरणमा पुगेको वातावरण शाखा प्रमुख चौधरीको भनाई छ। अव भने उद्देश्य अनुसार फोहोरबाट मोहर बनाउने अवस्था सम्म आई पुगेको उहाँले बताउनुभयो। यो अवस्था सम्म आइपुग्न १० वर्ष लागेको छ। फोहोर व्यवस्थापन टाउको दुखाई बनेपछि इटहरी उपमहानगरपालिकाले २०७० साल देखी व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको थियो। संकलित फोहोर फाल्ने ठाउँ नहुँदा ठुलो समस्या हुने गरेको थियो। इटहरी उप–महानगरपालिकाले फोहोर फाल्ने ठाउँ उपलब्ध गराउन नसक्दा शहरका खाल्डाखुल्डीमा फाल्नुपर्ने बाद्यता थियो। 

विरोध आउन थालेपछि चारकोशे जङ्गल तथा सामुदायिक बनमा लगेर फाल्ने गरिएको थियो। जङ्गलमा फालिएको फोहोरमा आगो लाग्दा निस्किएको धुवाँले इटहरीको भवानीपुर क्षेत्रका स्थानीयले स्वास्थ्य समस्या भोग्नु परेको थियो। आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको थियो। विशेष गरी दम र श्वासप्रश्वास सम्बन्धी रोग भएका बिरामीलाई ठुलो समस्या हुने गरेको थियो। 

इटहरीले जङ्गलमा फोहोर फाल्न छाडेपनि धरान उपमहानगरपालिकाले फोहोर फाल्न नछाडेको भवानीपुरका स्थानीय कुमार चौलागाँईले बताउनुभयो। इटहरीले फोहोर फाल्न छाडे पनि धरानको फोहोरका कारण समस्या भने उस्तै रहेको चौलागाँई बताउनुहुन्छ। पटक पटक आग्रह गर्दा पनि धरान उप–महानगरले फोहोर फाल्न नछाडेको उहाँले बताउनुभयो।

सामूहिक प्रयास

इटहरीको फोहोर मैला व्यवस्थापन यहाँसम्म आइपुग्न भएको सामूहिक प्रयास अर्को महत्वपूर्ण पक्ष हो। फोहोर व्यवस्थापन गर्नु इटहरी उप–महानगरपालिका र निजी क्षेत्रको पहिलो कर्तव्य थियो। व्यवस्थापन निजी क्षेत्रले गरेपनि फोहोर एक ठाउँमा फाल्नुपर्छ, आफ्नो घर आँगन, पसल व्यवसाय आफैले सफा गर्नुपर्छ। फोहोर जथाभाबी नफाली बिहान गाडीमा हाल्नुपर्छ भन्ने संस्कारको विकास गर्न सामूहिक प्रयास भएको देखिन्छ।

शुरुका दिनमा सञ्चालन भएका विभिन्न सफाइ अभियानहरूले फोहोर व्यवस्थापनका लागि महत्त्वपूर्ण योगदान गरेका थिए। के आई सी इटहरी अभियान,उद्योग वाणिज्य संघ इटहरी, विभिन्न सामाजिक संघ संस्था, टोल विकास संस्थाहरूको रचनात्मक सहयोगले फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई सहयोग पुगेको थियो। इटहरीमा देखिएको सामाजिक अभियानले छिमेकी शहरमा समेत सकारात्मक प्रभाव पारेको थियो। 

के छन् चुनौती ? 

उत्पादित ग्याँस बिक्री गर्न बजारको समस्या छैन तर केही प्राविधिक पक्ष भने अझै चुनौती रहेको कम्पनीको भनाई छ। उत्पादित ग्याँस अन्य एल पी ग्याँस भन्दा कडा हुने हुँदा भण्डारण, बिक्री गर्ने सिलिन्डर र अन्य केही प्राविधिक पक्ष फरक छन्। केही थप मेसिन तथा उपकरण खरिद गर्नुपर्ने भएकाले अर्डर गरिएको र केही समयमा नेपाल आई पुग्ने कम्पनीले जनाएको छ। 

ठुला र बढि तौलका सिलिन्डर भएका कारण भण्डारण र वितरणमा चुनौती छ। त्यसैले कम्पनीले घरेलु प्रयोग भन्दा पनि औद्योगिक बजारलाई प्राथमिकतामा राखेको छ। अर्को मुख्य चुनौती कच्चापदार्थको देखिएको छ। दैनिक सञ्चालनका लागि आवश्यक पर्ने कुहिने कच्चापदार्थ सङ्कलन गर्नु चुनौतीपूर्ण छ। दैनिक ४० देखी ४५ टन फोहोर उत्पादन हुने इटहरीमा केवल डेढ टन मात्रै कुहिने फोहोर संकलन हुँदा चुनौती देखिएको कम्पनीको भनाई छ।

प्रशोधन केन्द्रको दीर्घकालीन सञ्चालनका लागि आवश्यक कच्चापदार्थको व्यवस्थापनका लागि श्रोतमै फोहोरको सेग्रिगेसन गर्नुपर्ने उप–महानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी बताउनुहुन्छ। व्यवस्थापन कम्पनीले फोहोरको सेग्रिगेसनका लागि काम गर्नुपर्ने उहाँको सुझाव छ। यसका लागि उप–महानगरले पनि आवश्यक पहल गरिरहेको उहाँले बताउनुभयो।

यता, अपुग कच्चापदार्थका लागि विकल्प खोजी भईरहेको कम्पनीले जनाएको छ। पशु फार्मबाट गोबर, उखु मिलका कच्चा पदार्थ र जङ्गलका झारलाई विकल्पको रुपमा प्रयोग गर्ने योजना बनाएको कम्पनीका सञ्चालक मोक्तानले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved