ग्रामथानको संरक्षण गर्दै इटहरी उपमहानगरी

  • प्रकाशित मितिः बैशाख १६, २०८१
  • 193 पटक पढिएको
  • जीवन फुयाल

इटहरी । प्राचीन कालदेखि बसोबास गर्दै आएका थारुलाई पहिलो जाति घोषणा गरेको इटहरी उपमहानगरपालिकाले उनीहरूको आस्थाको धरोहर ग्रामथानको संरक्षण र पुनर्निर्माण सुरु गरेको छ । 

चालु आर्थिक वर्षमा ग्रामथानहरूको अवस्था पत्ता लगाइ तिनीहरूको अवस्था अनुसार गर्नुपर्ने पुनर्निर्माणका काम भइरहेको उपमहानगरले जनाएको छ ।

सो अनुसार विभिन्न वडा वडामा बजेट विनियोजन भई पुनर्निर्माणको काम हुँदै छ भने नगर स्तरीय बजेट बाट पनि पुनर्निर्माणका लागि काम हुँदै छन् । 

इटहरीको वडा नं. ८ मा रहेका ५ वटा ग्रामथानमध्ये अघिल्लो आर्थिक वर्षमा ४ वटाको पुनर्निर्माण सम्पन्न भएको वडा अध्यक्ष रोहित चौधरीले जानकारी दिए । उनकाअनुसार चालु वर्षमा एक ग्रामथानको पुनर्निर्माणको काम चलिरहेको छ । 

यस्तै वडा नं. १८ मा रहेका ८ वटा ग्रामथानको घेरा बेरा लगाउने र आरसिसी ढलान गरी नयाँ निर्माणको काम सकिएको वडा अध्यक्ष राम कुमार चौधरीले जानकारी दिए । 

अघिल्लो आ.ब. मै सबै थानहरूलाई नयाँ निर्माण गरी ढलान गरेको उनले जानकारी दिए ।

वडा नं. १६ मा रहेका ग्रामथानहरूको पनि पुनर्निर्माणको काम भएको वडा अध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए । ग्रामथानको संरक्षण गर्ने काम उपमहानगर र वडा कार्यालयहरूले संयुक्त रूपमा भइरहेको उनले बताए ।  

यता, इटहरीको मुख्य चोकमा रहेको विच्छुधामी ग्रामथानको पनि पुनर्निर्माण सकिएको छ । इटहरी वडा नं. ६ धरान रोडमा रहेको सो ग्रामथान निर्माण गर्न वडा कार्यालयले २ लाख बजेट विनियोजन गरेको थियो । 

सो बजेटमा दाताहरूसँगको सहयोगका आधारमा ग्रामथानलाई पुरानै शैलीमा निर्माण गरिएको निर्माण उपभोक्ता समितिकी अध्यक्ष सुशीला चौधरीले जानकारी दिइन् । सो ग्रामथान निर्माणमा करिब ६ लाख बढी खर्च भएको उनको भनाई छ । 

नगर स्तरीय बजेट बाट नै इटहरी वडा नं. ४ चौधरी टोलमा रहेको पोखरीलाई इँटाको वालले घेरा बेरा गर्ने काम भएको छ ।  

अहिले अन्य वडाहरूमा पनि जीर्ण बनेका थान तथा ग्रामथानहरूको पहिचान गरी पुनर्निर्माणको काम भइरहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए । 

कति छन् ग्रामथान कस्तो छ अवस्था ? इटहरीमा कति ग्रामथान छन्, यसको यकिन तथ्याङ्क छैन । धेरै पुराना थानहरू त लोप भएर गइसके । अतिक्रमणका कारण धेरै ग्रामथानहरू हराएका छन् । कति जीर्ण भएर लोप हुने अवस्थामा पुगेका छन् ।

इटहरीका अधिकांश ग्रामथान जीर्ण अवस्थामा रहेको थारु कल्याणकारी सभा इटहरीका अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले जानकारी दिए । 

पहिले १, २ बिगाहामा रहेका थानहरू अहिले २, ३ धुरमा सीमित हुन पुगेको सभाका अध्यक्ष चौधरीको भनाई छ ।  इटहरी ५ आनन्द मिल छेउमा रहेको ग्रामथान अहिले अढाई धुरमा सीमित भएको उनले बताए । केही समय अघि त्यस थान वरिपरि करिब ४ कट्ठा जग्गा रहेको उनको भनाई छ । 

यस्ता थुप्रै उदाहरण आफूले ग्रामथानको अनुगमनका क्रममा भेटेको अध्यक्ष चौधरीले जानकारी दिए । थारु कल्याणकारी सभा नगर समितिले पनि ग्रामथानको तथ्याङ्क सङ्कलनको काम गरिरहेको उनले बताए । 

ग्रामथान जीर्ण भएर हराउने, जग्गा जमिन भू माफियाले कब्जा गर्दा लोप भएका छन्  । संरक्षणका लागि तीव्र दबाब आएपछि इटहरी उपमहानगरले ग्रामथानको सूचीकरण गर्न थालेको छ । 

कुन वडामा रहेका ग्रामथान कुन अवस्था छन्, जग्गा जमिन कति छ ,मेला पर्व, पुजारीको अवस्था सहित सबै विवरण उल्लेख गरी सम्बन्धित वडा कार्यालय तथा नगरपाकिालमा सूचीकरण गर्न थालिएको प्रमुख प्रशाकिय अधिकृत राम चरित्र मेहताले जानकारी दिए । 

उपमहानगरको परिपत्र पछि हाल सम्म २९ वटा ग्रामथान सूचीकरण भएका छन् । अझै धेरै ग्रामथानहरू सूचीकरण हुन बाँकी रहेकाले सूचीकरणको काम जारी नै रहने प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए । ग्रामथानहरू पूर्ण रूपमा संरक्षण नहुन्जेल सम्म सूचीकरण र पुनर्निर्माणका कामहरूले प्रत्येक वर्ष निरन्तरता पाउने मेहताको भनाई छ । 

के हो ग्रामथान ? संस्कृति अनुसार मानिसको जीवनपद्धति चल्छ । संस्कृति प्रकृति प्रदत्त चिज होइन । यो मानव निर्मित हो । तर प्रकृतिसँगै हुन्छ । थारु समुदायको आफ्नै संस्कार, संस्कृति छ ।

थारु समुदायले आफ्ना कुल, पितृहरूको सम्झना गर्दै सामूहिक रूपमा पूजा गरिने स्थललाई ग्रामथान भन्दछन् । हेर्दा सामान्य लाग्ने बाँसको टाटीले बारेको, टिनको छानो भएको, स साना घरहरू हुन । त्यहाँ भित्र माटोको ढिस्को हुन्छ । तिनीहरूको पूजा प्राकृतिक रूपमा गरिन्छ । त्यसैले थारुहरू प्रकृति पूजक हुन् । 

जन्मदेखि मृत्यु संस्कार सम्ममा ग्रामथान नभई हुन्न । ग्रामथानमा देवताको बास हुने भएकाले थारुहरूले सामूहिक पूजा गर्छन् । 

ग्रामथान जन्म, विवाह, पूजा पाठ र मृत्युको संस्कारसँग पनि जोडिने थारु नेता तथा १६ नं. वडाका अध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए ।

हाम्रो आस्था विश्वास सबै ग्रामथानमै रहको उनले बताए । ग्रामथानमा नै प्रत्येक वर्ष वैशाख महिनामा पूजा गर्ने र मेला लाग्ने अध्यक्ष चौधरीले जानकारी दिए । यसरी पूजा गर्दा फूल घडा, पानसुपाडी चढाउने गर्दछन् । प्राय सबै ग्रामथानमा ठुलो मेला( धाम) लाग्छ । यस्ता मेलामा जुलवीको विशेष महत्त्व रहने गर्दछ । वैशाख महिना भर थानहरूमा मेला लाग्ने गर्दछ ।  

ग्रामथान प्राय गाउँको बिचमा, खेतको बिचमा हुन्छन् । जहाँ पोखरी, ठुला ठुला रुख बिरुवा हुन्छन् । यिनीहरूको आ–आफ्नै महत्व रहेको छ । 

लामो समय सम्म संरक्षण नहुँदा यस्ता थानहरू पुराना र जीर्ण भएका छन् । उनीहरूको नाममा रहेका जग्गामा विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन बनाइएको छ । 

अर्कोतर्फ ग्रामथानको जग्गा भू–माफियाले आफ्नो नाममा नामसारी गरी विक्री वितरण गर्ने गरेका छन् । जसले गर्दा ग्रामथान लोप हुने अवस्थामा पुगेका छन् । 

नयाँ योजना ल्याउँदै उपमहानगर 

चालु आर्थिक वर्षमा थारु समुदायको उत्थान तथा आर्थिक विकासका कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा रहेको उपमेयर सङ्गीता कुमारी चौधरीले जानकारी दिइन् । 

उपमहानगरमा थारु जातिको उत्थानका लागि एक छुट्टै समिति गठन गरिएको छ । सो समितिको संयोजक उपमेयर आफै छिन् । यही समिति मार्फत कार्यक्रम सञ्चालनको तयारी भइरहेको उपमेयर चौधरीले जानकारी दिइन् । 

थारु जातिको उत्थानका लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरिएको छ । सोही बजेट बाट कार्यक्रम सञ्चालन हुनेछ । 

यस वर्ष मुख्य ५ कामलाई प्राथमिकतामा राखी काम थालिएको उपमेयर चौधरीले जानकारी दिइन् ।

पहिलो ग्रामथानहरूको संरक्षण तथा पुनर्निर्माण, दोस्रो थारुको जनगणना, तेस्रो थारु विद्यार्थीका लागि लोक सेवा कक्षा सञ्चालन, चौथो थारु होमस्टे सञ्चालन र पाँचौँ अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम रहेका छन् । 

विनियोजित ५० लाख बजेट मध्येबाट २० लाख रकम ग्रामथानको संरक्षणका लागि खर्च गरिनेछ भने बाँकी अन्य शीर्षकमा खर्च गरिने उपमेयर चौधरीको भनाई छ । यी उल्लेखित कामहरू थारु कल्याणकारी सभासँगको साझेदारीमा सञ्चालन गरिने उपमेयर चौधरीले जानकारी दिइन् । 

इटहरीमा थारु कति छन् यकिन तथ्याङ्क पत्ता लगाउन आन्तरिक जनगणना गर्ने समितिको योजना छ । 

राष्ट्रिय जनगणनाले निकालेको इटहरीको थारुको सङ्ख्यामा चित्त नबुझेकाले आफैले थारुको जनसङ्ख्या पत्ता लगाउन जनगणना गर्ने तयारी गरेको थारु कल्याणकारी सभाका नगर अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले जानकारी दिए । 

इटहरीका वडा नं. १०, ११, १२ र १७ मा थारु होमस्टे सञ्चालन गरिने उपमेयर सङ्गीता कुमारी चौधरीले बताइन् । होमस्टे सञ्चालनका लागि सो वडाबाट प्रस्ताव आएको उनको भनाई छ । 

थारुको जातीय संस्कार, संस्कृति,रहनसहन, परम्परा, खानाका परिकार, गीत सङ्गीत लगायत सबै विषयलाई समेटेर होमस्टे सञ्चालन गरिने छ ।

यस्तै, थारु विद्यार्थीहरूलाई सरकारी सेवामा प्रोत्साहन गर्न लोक सेवा तयारी कक्षा सञ्चालन गरिने जनाइएको छ । थारु महिलाहरूको सिप र कलालाई आर्थिक उपार्जनमा रूपान्तरण गर्न सिपमूलक तालिम तथा अन्य क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उपमेयरको योजना छ । 

तर यी सबै कार्यक्रम सञ्चालनका लागि बजेट अपुग हुने उपमेयरले बताइन् । आगामी आर्थिक वर्ष यो शीर्षकमा बजेट थप गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved