धरान - खुद्रा पैसा नभएको भन्दै धरानस्थित वीपी प्रतिष्ठानका कर्मचारीले सेवाग्राहीलाई ठग्ने गरेको पत्ता लागेको छ । प्रति सेवाग्राही २०–३० रुपैयासम्म बिल काउण्टरका कर्मचारीले झ्वाम पार्ने गरेको न्युजलयले फेला पारेको छ ।
बिल काउण्टरका कर्मचारीले खुद्रा पैसा नभएको भन्दै दश रुपैया भन्दा कम भएको फिर्ता पैसा नदिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । उनीहरुका अनुसार ९ रुपैया सम्म त फिर्ता नै पाइदैन, त्यो भन्दामाथि पनि कसै कसैलाई २०÷३० रुपैया पनि फिर्ता नदिने गरेको फेला परेको छ । फिर्ता पैसा पुगेन भन्दा उल्टै कराउँदै खुद्रा लिएर आउन भनेर हकार्ने गरेको एक बिरामीका आफन्तले बताए ।
आकस्मिक कक्षमा आपतकालीन अवस्थामा आएका बिरामीका आफन्तले कति फिर्ता दियो, कति पैसा तिर्नु पर्ने हो, त्यसको ख्याल नै गरेका हुँदैनन् । त्यसैको फाइदा उठाउँदै काउण्टरका कर्मचारीहरुले सेवाग्राहीलाई लुट्ने गरेका हुन् ।
प्रतिष्ठानको आकस्मिक कक्षको बिल काउण्टरबाट सेवाग्राहीहरु ठगिने गरेका हुन् । सबै भन्दा बढी भिड आकस्मिक कक्षकै बिल काउण्टरमा हुने गर्दछ । आकस्मिक सेवा लिन आउने संगै चौबिसै घण्टा खुल्ला हुने भएकाले अन्य विभागको बिल पनि त्यही काट्ने गरिन्छ । दैनिक हजारौंको संख्यामा आउने सेवाग्राहीहरु आकस्मिक बिल काउण्टरबाट ठगिने गरेका छन् । सानो सानो रकम भए पनि बिल काउण्टरले दैनिक हजारौं रुपैया सेवाग्राहीहरुबाट ठग्ने गरेका छन् ।
प्रतिष्ठानले ओपिडि सेवाको दर्ता शुल्क देखि बाहेकका सम्पुर्ण सेवाको बिल काउण्टर सनराईज बैंकलाई जिम्मा दिएको छ । यस अघि सम्म प्रतिष्ठान आफैले काउण्टर चलाउने गरेको थियो । प्रतिष्ठानले काउण्टर चलाएको समयमा पनि खुद्रा पैसाको अभावमा सेवाग्राहीहरु ठगिने गरेको गुनासो बढ्न थाले पछि खुद्रा पैसाको अभाव बैंकमा नहुने भएकाले बैंकलाई काउण्टर चलाउन दिएको थियो । तर अहिले पनि बैंककै कर्मचारीहरुले पनि खुद्रा पैसाको अभावमा फिर्ता नदिने गरेका छन् ।
बैंकलाई काउण्टर संचालन गर्न दिए पनि बैंकले पनि खुद्रा पैसा नभएको बहानामा सेवाग्राही ठगिन नहुँने कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोलेले बताए । उनले भने, ‘प्रतिष्ठानले काउण्टर संचालन गर्दा खुद्रा पैसाकै अभाव भएकाले बैंकलाई संचालन गर्न दिएको हो, त्यहाँ पनि खुद्रा पैसाकै बहानामा सेवाग्राही ठगिनु परेको छ, त्यस्ता कर्मचारीलाई कारवाहीको दायरामा ल्याउनु पर्छ ।’
बिल काउण्टरबाट ठगिएको गुनासोहरु यस अघि पनि बैंकमा आउने गरेको थियो । खुद्रा पैसा छैन भन्दै ठगिने गरेको गुनासो बढ्न थाले पछि बैंकले पर्याप्त खुद्रा पैसा काउण्टरलाई दिएको सनराईज बैंक धरान शाखाका प्रमुख बरबरिक पोखरेलले बताए । उनले भने, ‘यस अघि पनि गुनासो आए पछि पर्याप्त खुद्रा पैसा दिएको हो, फेरी पनि त्यस्तो भएको हो भने कर्मचारीको फटाई हो, त्यस्तालाई कारवाही गर्छौं ।’
हेर्दा सामान्य रुपैया खुद्रा पैसा फिर्ता नदिएको देखिन्छ, तर सानो सानो रकमबाटै हजारौ रुपैयाको ठगि हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved