पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर

  • प्रकाशित मितिः जेठ २२, २०७५
  • 1309 पटक पढिएको
  • Prakash

कुनै बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनेबित्तिकै काठमाडौंका सहरमा विरोध जुलुस निस्कने गर्थे । धेरै समयसम्म सरकारले अबौं रुपियाँ अनुदान दिएर पनि कृत्रिमरूपमा पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गरेको थियो । पछि ‘स्वचालित मूल्य नीति‘ अपनाइएको भन्दै सरकारले निगमलाई मूल्य बढाउन अपेक्षाकृत स्वतान्त्रता दिएको थियो । अहिले त्यही स्वचालित मूल्य नीतिअन्तर्गत मूल्य समायोजन गर्ने कार्य भइरहेको दाबी गरिएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको बेलामा पनि नेपालमा भने मूल्य बढ्ने गरेको छ । यस्तै यदाकदा मूल्य घटाइए नै पनि त्यस्तो कटौती नाममात्रको हुने गरेको छ । निगमले २०७४ कात्तिक १६ गते यता ११ पटक मूल्य समायोजन गर्दा एकपटकमात्र घटाएको थियो भने १० पदक बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य बढेको पछिल्लो उदाहरण गत शनिवारको मूल्यवृद्धि हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलरबाट ७६ मा झरेकै बेला नेपालमा भने ११० रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य बढेर ११३ रुपैयाँ पु¥याइएको छ ।

 

राजनीतिक खपतका लागि विरोध गर्नेबाहेक अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध पनि वास्तविक विरोध देखिएन । पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई नेपाली समाजले अरू विकृति र विसंगतिजस्तै सहजरूपमा लिन थालेको देखिएको छ । देशमै उत्पादित तरकारी वा खाद्यान्नमा अस्वाभाविक मूल्यवृद्धि हुनुलाई समेत स्वाभाविक ठान्ने नेपाली समाजले विदेशबाट आयात गर्नुपर्ने र मूलतः अन्तर्राष्ट्रिय बजारमा निर्भर हुने पेट्रोलियम पदार्थको भाउको राजनीति नबुझ्नु वा बुझ्न कोसिस नगर्नु आश्चर्यको विषय पनि हैन । पछिल्लोपटक शनिवार पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । नेपालमा पेट्रोलियम पदार्थको ढुवानी र विक्रीमा निजी क्षेत्र संलग्न भए पनि यसको व्यापारमा सरकारी स्वामित्वको नेपाल आयल निगमले एकाधिकार छ । गुणस्तरका सम्बन्धमा कहिलेकहीँ अनुगमन गरिए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयमा अहिलेसम्म अर्को निकायले अनुमगन गर्ने चलन छैन । यसैले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा सरकार नै प्रत्यक्ष जिम्मेवार देखिन्छ । मूल्यवृद्धिको औचित्य सिद्ध गर्ने क्रममा आयल निगमका तालुक मन्त्रीले भारतमा चोरी निकासी हुने हुनाले पेट्रोलियम पदार्थको भाउ बढाउन परेको भन्नेजस्तो तर्क गरेका छन् । यथार्थमा यो तर्क सरकारको हास्यास्पद लाचारीको प्रदर्शनमात्रै हो ।

 

नेपालभित्र बेचिने पेट्रोलियम पदार्थमा अनुदान दिएको भए त्यसरी अवैधरूपमा भारत लैजान दिनु हुँदैन । भारतको बजारमा सरकारी करका कारण महँगो भएपछि पेट्रोलियम पदार्थको नेपाल, भुटान र बंगलादेशबाट समेत तस्करी हुनेगरेको छ । तर, भुटान वा बंगलादेशले त्यही बहानामा आफ्नो आन्तरिक बजारमा पेट्रोल महँगोमा बेच्ने गरेका छैनन् । नेपालको यातायात, धेरै हदसम्म खेती र सेवा उद्योगमा पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धि प्रत्यक्ष असर पर्छ । अर्थात्, पेट्रोलियम पदार्थको मूल्य बढ्दा यससँगै महँगीको दुश्चक्र पनि सुरु हुन्छ र त्यसबाट सिंगो जनजीवन तथा राष्ट्रिय अर्थतन्त्र प्रभावित हुन्छ । यसैले सरकारी स्वामित्वको नेपाल आयल निगमले घाटा नै लाग्ने अवस्थामा बाहेक पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्ने प्रयत्न गर्नुपथ्र्यो । आयल नियमको चुहावट नियन्त्रण र दक्षता अभिवृद्धि हुनसके यसको सञ्चालन खर्च घटाउन सकिने थुप्रै प्रतिवेदनहरू सरकारले कार्यान्वयन गरेको छैन । यस्तै, निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको कारोबारमा संलग्न गराएर आयल निगमको एकाधिकार अन्त्य गर्नुपर्ने सुझावलाई पनि सरकारले कार्यान्वयन गर्ने चासो नै दिएन । यसैले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा बढ्ने र आपूर्ति मन्त्री स्वयंले बढेको मूल्यको प्रतिरक्षा गर्ने विडम्बना देखिएको हो ।आयल निगमलाई राजनीतिक र प्रशासनिक उच्चपदाधिकारीले दोहन गर्न छाड्ने, भ्रष्टाचार तथा चुहावट नियन्त्रण गर्ने एवं व्यवस्थापनमा सुधार गर्ने हो भने पक्कै पनि तेलको मूल्य बजारकै भरमा छाड्दा पनि नेपाली उपभोक्ताले ठगिएको ठान्ने थिएनन् । सरकारले लिने करलाई लचिलो बनाएर पनि तेलको मूल्य अन्तर्राष्ट्रिय बजारको तुलनामाअपेक्षाकृत स्थिर राख्न सकिनेछ । अहिले सरकारले विभिन्न शीर्षकमा पेट्रोलियम पदार्थमा कुल मूल्यको करिब एक तिहाइ अर्थात् लगभग ३३ प्रतिशत रकमसम्म करका रूपमा उपभोक्ताबाट उठाउने गरेको छ । तेलको मूल्यवृद्धिबाट सिंगो अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावको लाभलागत विश्लेषण गरेर सरकारले पेट्रोलियम पदार्थको मूल्यसँग करमा पनि समायोजन गर्ने नीति अपनाउनु उचित देखिन्छ । आयल निगमको सुधार, भ्रष्टाचार तथा चुहावट नियन्त्रण र राजनीतिक एवं प्रशानिक उच्चपदाधिकारीले निगमको दोहन गर्ने प्रवृत्तिलाई उपेक्षा गरेर कथित स्वचालित मूल्य समायोजन पद्धति लागु भएको भन्दै मूल्यवृद्धि गरिरहनु न्यायोचित हुँदैन । करमा पुनर्विचार गरेर भए पनि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट देशको अर्थतन्त्र र जनसाधारणलाई जोगाउनु आवश्यक र उचित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved