प्रदीप भण्डारी भन्छन्- विकास म गर्छु, पाहुना उमेदवारबाट आशा गर्नु बेकार छ

  • प्रकाशित मितिः मंसिर २५, २०७४
  • 1201 पटक पढिएको
  • समय अनलाइन

प्रदीप भण्डारी
उमेदवार (सुनसरी क्षेत्र नं १ (क))

– सङ्खुवासभाको चन्दनपुरमा २०१२ सालमा जन्मिएका प्रदीप भण्डारीको कर्मथलो भने सुनसरीको धरान हुन गयो । धरानको शिक्षा सदन माविमा करिव ३७ वर्ष सेवा गरेका भण्डारीको नाम शिक्षा क्षेत्रसँगै राजनीतिमा पनि अघि नै आउँछ ।२०२७ सालदेखि नै विद्यार्थी राजनीति शुरु गरेका भण्डारी २ वर्षअघि सहायक प्रअबाट अवकास लिएपछि पूर्णरूपमा राजनीतिमार्फत समाज सेवामा समर्पित छन् । आफ्नो ६२ वर्षे जीवनकालमा उनले मजदुर आन्दोलन, शैक्षिक आन्दोलनलगायतका विभिन्न राजनीतिक मोर्चामा सक्रिय रहँदै जेलनेल पनि भोगे । भण्डारी हाल नेकपा एमाले सुनसरी जिल्ला सचिवालय सदस्य तथा धरान उपमहानगरपालिका कमिटिका इञ्चार्जको जिम्मेवारीमा छन् । भण्डारी यही मङ्सिर २१ गतेको प्रदेश सभा निर्वाचनमा सुनसरी क्षेत्र नं १ प्रदेशसभा ‘क’ बाट वाम गठबन्धनको उमेदवार छन् । यहाँ हेरौं, भण्डारीको उमेदवारी र चुनावी अभियानका बारेमा गरिएको कुराकानी

प्रदेशसभा सदस्यको उमेदवार बन्नु भएको छ, चुनावी अभियान कसरी अगाडि बढ्दै छ ?

विशेषतः मतदाताको घरघरमै पुगेर मत माग्ने, उहाँका गुनासा सुन्ने काम गरिरहेका छौँ । वाम गठबन्धनका उमेदवारसँग जनताको धेरै अपेक्षा र विश्वास छ । घरदैलोमा जाँदा गुनासा सुन्ने र बुझ्ने काम भइरहेको छ । जनताका गुनासालाई आत्मसात गरिरहेको छु । अहिले तत्काल समाधान हुने कुरा छ भने तत्काल पहल पनि गरिरहेको छु । स्थानीय सरकार हाम्रो नेतृत्वमा छ । म जुन ठाउँमा पुग्छु त्यही ठाउँबाट सम्बोधन गर्ने प्रण गरेको छु ।

तपाईंको उमेदवारी किन र केका लागि हो ?

मेरो उमेदवारी भनेको धरानको समग्र विकासका लागि हो । धरानको विकास गर्ने सवालमा एमालेले जसरी पाँच वर्षे, २० वर्षे भिजन बनाएको छ त्यो भिजनलाई पूरा गर्नुछ । अरू कुनै पनि दलले धरानको विकासका लागि चुनावको बेला घोषणा पत्र बनाउनेबाहेक कुनै योजना बनाएको सुन्नमा आएको छैन । अरूले बनाएको पनि छैन । एमालेले बनाएको भिजनअनुसार नै आज धरानको विकास भइरहेको छ । अरू दलको घोषणा पत्रका कतिपय बुँदा एमालेका योजनालाई घुमाउरो पारामा कपी गरेका छन् । हामीले ल्याएको विस्तृत भिजनको सफल कार्यान्वयन गर्न मेरो उमेदवारी हो ।

तपाईंको भिजनमा के छ ?

पहिलो कुरा त धरानको विकासको मुद्दा हो । धरानका सेउती, सर्दु, खहरेजस्ता खोलाको नियन्त्रण गर्ने, धरानमा विमानस्थल बनाउने, धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तै सुविधा सम्पन्न धरान सिटी हस्पिटल बनाउने, धरानको वडा नम्बर ६ मा औद्योगिक ग्राम बनाउने, धरानको खानेपानी समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्ने, रिङरोड बनाउने, विश्वविद्यालय स्थापना गरेर यहाँका मातृभाषाको पठनपाठन सञ्चालन गर्ने, धरानलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने, धरानको २० नम्बर वडामा पर्ने विष्णुपादुकालाई कृषि उत्पादनको नमुना क्षेत्र बनाउनेजस्ता विविध बिषयलाई समेटेर दीर्घकालीन भिजन तयार गरेका छौँ ।

तपाईंले भन्नु भएको कतिपय मुद्दा केन्द्रीय सरकारबाट मात्र हुने सम्भव देखिन्छ त ?

यहाँ धरानवासीले बुझ्नपर्ने के छ भने अहिले हामी वाम गठबन्धनको तर्फबाट उमेदवारी दिएका छौं । देशैभरि वाम गठबन्धनको माहोल बनेको छ । यो गठबन्धनको उद्देश्य भनेको अब वाम गठबन्धनले केन्द्र, प्रदेश र स्थानीय तहमा आफ्नै सरकार बनाउने हो । धरान उपमहानगरमा एमालेले स्थानीय सरकारको नेतृत्व गरेको छ, अब प्रदेशमा पनि वाम गठबन्धनकै सरकार र केन्द्रमा पनि बन्नेछ । त्यसो हुँदा मैले भनेको धरानका धेरै योजना पूरा गर्न हामीलाई कुनै समस्या पर्दैन ।

केन्द्रीय सरकारको लागि धरानबाट वाम गठबन्धनका तर्फबाट जयकुमार राईले उमेदवारी दिनु भएको छ । प्रदेश सभामा क्षेत्र १ को ‘क’ बाट मेरो र ‘ख’ बाट एमालेका सचिव तथा पूर्व मन्त्रि भीम आचार्य उमेदवार हुनुहुन्छ । अझ भनौं भीम आचार्य त प्रदेश नं १ को मुख्यमन्त्री नै हुने लगभग पक्का छ । त्यसैले स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा धरानको सिधा पहुँच बन्ने हुनाले धरानवासीले वाम गठबन्धनलाई मत दिन आवश्यक छ । पाहुनाकारूपमा आएका उमेदवारले धरानका लागि केही गर्छ भन्ने आस गर्नु बेकार हुन्छ ।

त्यसो हो भने धरानमा वाम गठबन्धन जोडतोडका साथ लागेको छ ?

मलाई लाग्छ वाम गठबन्धनको धरानको जस्तो सुमधुर र सौहार्दपूर्ण अवस्था अन्यत्र विरलै होला । वाम गठबन्धनका नेता, कार्यकर्ता र उमेदवार अरू सबै कुरा छाडेर अब धरानको विकास गर्न लागि पर्नु भएको छ । सिंगो देशलाई नै विकास गर्ने महान अभियानमा धरानका वाम गठबन्धनका साथीहरू लागि पर्नु भएको छ । एकताले मात्र विकास सम्भव हुन्छ भन्ने कुरा धरानले पुष्टि गर्दैछ ।

धरानलाई प्रदेशको राजधानी बनाउने विषय उठाइरहनु भएको छ, आधार पनि त स्पष्ट हुनुपर्यो नि ?

अन्य दलले जस्तो हामी जनतालाई भ्रम छर्ने काम गर्दैनौं । म सुन्दै छु लोकतान्त्रिक गठबन्धनका साथीहरू धरानमा राजधानी बनाउँछौँ भनिरहनु भएको छ रे । ए बाबा, अहिले सरकार उहाँहरूकै हातमा छ । पहिले घोषणा गरेर देखाउनु परो नि । आफू सरकारमा हुँदा पनि घोषणा गर्न नसक्नेले पछि गर्न सक्ला र ? विश्वास गर्ने आधार नै छैन । अहिले हाम्रो सरकार छैन, हामीले तर्क संगत हिसाबले सरकारलाई धरानमा राजधानी बनाउनु पर्छ भनेर दबाब दिने हो, हामीले त्यसकालािग तर्क पेस गर्ने हो ।

अब आधार के के छन त भन्दा पहिलो कुरा धरान शैक्षिक केन्द्रको राजधानी हो । धरानमा नभएको विश्वविद्यालय र पढाई नहुने कुनै बिषय नै छैन । अर्को कुरा स्वास्थ्य केन्द्रको राजधानी पनि धरानै हो । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो दक्षिण एसियाकै नमुना स्वास्थ्य केन्द्र कहीँ छैन । धरान खेलकुदको राजधानी भनिरहेका छौँ, धरानमा जति खेलकुद यो प्रदेशको अरु कुन ठाउँमा हुन्छ ? धरानबाहेक यसको अर्को जवाफ नै छैन, धार्मिक र सांस्कृतिक केन्द्र धरान हो । धरानको जस्तो धार्मिक, सांस्कृतिक विविधता अन्य ठाउँमा छैन । यहाँको हावापानी सदावहार छ । धरान सभागृह नमुना सभागृह बन्दैछ । रङ्गशाला बन्दै छ । पर्यटनको केन्द्र पनि धरान हो । यो १ नम्बर क्षेत्रमा खुल्ला जग्गा पनि प्रसस्त छ । सुचना र सञ्चारको राजधानी पनि धरान नै हो । यस्ता धेरै आधार छन् । धरानलाई राजधानी बनाउने । हामी यस्ता आधारहरूका आधारमा राजधानी बनाउने पूर्ण प्रयासमा छौँ ।

भावी मन्त्रीका रूपमा पनि तपाईंको चर्चा भइरहेको छ .....?

धरानवासी मतदाताको चाहना र पार्टीले आवश्यक्ता ठानेर जिम्मेवारी दियो भने मजस्तो पनि जिम्मेवारी लिन तयार छु । त्यो जिम्मेवारी पाएपछि धरानको विकास मेरो पहिलो कदम हुने छ । विगत लामो समय म शैक्षिक क्षेत्रमा सकृय थिएँ । राजनीतिक आन्दोलनमा सक्रिय थिएँ । त्यहाँ मैले गरेको नेतृत्वबाट सन्तुष्ट भएर नै कार्यकर्ता र मतदाताले त्यो अपेक्षा गर्नु भएको हुन सक्छ ।

तपाईं विजयी भएपछि यो क्षेत्रका लागि पहिलो काम के गर्नु हुन्छ ?

मेरो पहिलो काम भनेकै मतदातबाट व्यक्त भएका अपेक्षालाई पूरा गर्ने र हाम्रो घोषणा पत्रमा उल्लेख कार्यक्रमलाई पूरा गर्ने हो । स्थानीय सरकारले सुकुम्बासीलाई घर जग्गाको स्वामित्व दिन घर नम्बर वितरण सुरु गरेको छ । अब प्रदेस सरकार बनेपनि आवश्यक नीती बनाएर सुकुम्बासीलाई घर जग्गाको स्वामित्व दिने काम प्राथमिकतामा पर्छ । धरानका सर्दु, सेउती, खहरेजस्ता खोलाको नियन्त्रण, बहुभाषिक विद्यालय र विश्व विद्यालय सञ्चालनमा पहिलो कदम हुने छ । बहुजातीय संग्राहलयको निर्माणको कामलाई सम्पन्न गर्ने प्राथमिक काम हुनेछ ।

बुढासुब्बा, दन्तकाली, पीण्डेश्वर, विष्णुपादुका, वराहक्षेत्रको एकीकृत विकास, धरान १४ को विजयपुर दरबार क्षेत्रको संरक्षण र पुनःनिर्माण, मुस्लिम समुदायका विद्यार्र्थीका लािग मदरसा, चर्चहरूको संरक्षण, थाउजेन्ड बिग बुद्ध निर्माणका लागि आवश्यक ठाउँ पहिचान गरेर निर्माण गर्ने काम मेरो पहिलो प्राथमिकतामा पर्छन ।

मतदातालाई के भन्नु हुन्छ ?

अहिले सुनसरी क्षेत्र नम्बर १ का तीनै जना उमेदवार वाम गठबन्धनका साझा उमेदवारहरू उठ्नु भएको छ उहाँहरूलाई सूर्य चिह्नमा मतदान गरेर विजयी गराउन म मतदातामा अनुरोध गर्छु । स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म गठबन्धनकै सरकार बनाएर धरान र सिंगो देशकै विकास गर्ने अभियानमा यहाँहरूको मत जाने छ भन्ने विश्वास लिएको छु । हामी ताजा र साझा उमेदवार भएकाले यो क्षेत्रको विकास गर्न आतुर छौँ । यहाँहरूले सूर्य चिह्नमा मतदान गरेर बहुमतले विजयी गराउनु हुन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved