इलाका प्रहरी कार्यालय इटहरी अगाडी ‘डिएसपी मुर्दावाद’ भन्ने इटहरी उपमहानगरपालिकाका एक कर्मचारी रातभर प्रहरीको हिरासतमा बसेका छन् ।
बुधबार साँझ ७ बजे देउसी खेल्न हिडेका इटहरी उपमहानगरपालिका १९ नम्बरका वडा सचिव सुरेश कार्कीले प्रहरी कार्यालय अगाडी डिएसपी धर्मराज भण्डारीको नाम लिदै ‘डिएसपी मुर्दावाद’ भनेका थिए । उनलाई इटहरी पूर्व टेग्रा खोला नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
कार्कीले ३ पटक डिएसपी बिरुद्ध जथाभाबी बोलेको भन्दै रातभर हिरासतमा राखी बिहिबार बिहान नेकपाका स्थानिय नेताको रोहवरमा छाडिएको थियो ।
कार्की नेकपा इटहरीका नेताहरुको देउसी टिममा सहभागी थिए । देउसी खेल्न जुटबिकास टोल जाने क्रममा प्रहरी कार्यालय अगाडी पुग्दा स्कुटरबाट कार्कीले अपशब्द बोलेको प्रत्यक्षदर्शी एक प्रहरीले जानकारी दिए ।
७-८ जनाको समूहमा रहेका कार्कीले स्कुटरबाटै डिएसपी मुर्दावाद तिनपटक भनेको ति प्रहरी बताउछन् । पछि डिएसपी साँबले पक्रेर ल्याउनु भनेपछि टेग्रा पुल पारीबाट उनलाई नियन्त्रणमा लिइएको उनले बताए ।
पक्राउ परेका कार्कीले मापसे सेवन गरेको बताइएको छ । कार्कीले देउसी खेल्दा केही ठाँउमा होहल्ला गर्ने गरेको जानकारी पाएपछि प्रहरीको एक टोलीले उनलाई भेटेरै त्यस्तो नगर्न चेतावनी दिएको थियो ।
तर सोही साँझ कार्कीले सोही कुराको रिसमा डिएसपीलाई अपशब्द बोलेको हुन सक्ने देउसीमा सहभागी एक नेकपाका कार्यकर्ताले बताए । कार्कीलाई हिरासतमा राख्दा समेत भित्र होहल्ला गरेको बताइएको छ ।
यता इटहरीका डिएसपी धर्मराज भण्डारीले बिषय सानो भएकाले यसलाई समाचार नबनाउन आग्रह गरे । ‘प्रहरी कार्यालय अगाडी होहल्ला गरेको आरोपमा पक्राउ परेको हुन्, अरु केही हैन’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved