काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता अग्नि सापकोटाका छोरा रुपक सापकोटालाई नियुक्ति दिएका छन् ।प्रधानमन्त्री ओलीलाई भनेर प्रचण्डले रुपकलाई नियुक्ति दिलाएको चर्चा नेकपा वृत्तभित्र चलेको छ । पार्टीमा खटिने कार्यकर्तालाई वास्ता नगरी नेताका छोराछोरीलाई नियुक्त गर्ने प्रवृत्तिको नेकपाभित्र आलोचना हुन थालेको छ ।ओली सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकमा रुपक सापकोटालाई नियुक्त गरेको हो । प्रतिष्ठान परराष्ट्र सम्बन्धी नीतिगत बन्दोबस्त मिलाउने सरकारी निकाय हो ।ओली सरकारले प्रतिष्ठानको कार्यकारी निर्देशकमा सशस्त्र प्रहरी बलका पूर्व एआईजीपी राजेश श्रेष्ठलाई नियुक्त गरिसकेको छ । परराष्ट्र मामिला सम्बन्धी सामान्य जानकारी समेत नभएको व्यक्तिलाई निर्देशक बनाएपछि नेकपाभित्रै विरोध भएको थियो ।प्रचण्ड नै विरोधमा उत्रिएपछि ओलीले प्रचण्डलाई मनाउन उनकै सिफारिसमा रुपकलाई उपनिर्देशक बनाएको चर्चा नेकपाभित्र छ । रुपक प्रचण्ड गुटका नेता अग्नि सापकोटाका माइला छोरा रहेको स्रोतले जनाएको छ ।लाभका महत्वपूर्ण पदमा नेताका छोराछोरीलाई अवसर दिने प्रवृत्तिका कारण राजनीति र पार्टीमा खटिने इमान्दार कार्यकर्ताले अवसर नपाउने भन्दै नेकपाभित्र असन्तुष्टि बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved