लामो समयदेखि बन्द रहँदै आएको सुनसरी जिल्लाको नेपाल–भारत सीमाबाट हुने अवैद्य तस्करीको लाईन सुरक्षाकर्मीसँगको सेटिङमा दशैयता खुल्ला गरिएको छ ।
झापादेखिका ठूला कारोवारीहरु यतिवेला सुरक्षाकर्मीसँगको सेटिङमा सुनसरीको बिभिन्न नाकाबाट संगठित रुपमा खुलेआम तस्करीका सामानहरु भित्र्याईरहेका छन भने साना परिमाणमा हुने र सीमा क्षेत्रमा रहेका स्थानीय चौकीसँगको सेटिङमा हुने तस्करीबाट असुली गर्न सुनसरीमा रहेका सुरक्षा निकायले ठूलो संख्यामा घुमुवा परिचालन गरेर असुलीलाई तिब्र बनाएका छन ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीको जिम्मेवार अधिकृत तहबाट खुलाईएको अबैद्य तस्करीबापतको नजराना उठाउन नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीका ३ जना घुमुवाहरु सक्रिय रहेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका दक्षिणी भेगमा सक्रिय घुमुवा सुरक्षाकर्मीहरु जिल्लादेखि प्रदेश तहसम्मबाट परिचालितहरु रहेका छन ।
लामो समयदेखि सुरक्षानिकायको माथिल्लो तहबाट रोकिदै आएको तस्करीको लाइन दशैं तिहारदेखि सुचारु भएपछि सादा पोसाकका घुमुवाहरुको चहलपहल बढेको र उनीहरुले खुलेआम असुली गर्ने र रकम नदिनेको सामान पक्राउ गर्ने गरेको स्रोतले जनाएको छ ।
झण्डै एक दर्जनको संख्यामा दिनहुँ मोटरसाईकलमा दौडाहा गर्ने घुमुवाहरुले व्यापारीहरुको गोदामदेखि सीमा क्षेत्रसम्म मालसामान ओसारपसार गर्ने तस्करहरुको बिचमा तालमेल मिलाएर सामान ल्याउने बाटो खुल्ला गरिदिने गरेका छन ।
व्यापारी तथा मालसामान ओसारपसारमा संलग्न रहेकाहरुका अनुसार नेपाल प्रहरीमा सेवारत प्रहरी हवल्दार विजय यादव, प्रहरी सहायक निरीक्षक मुन्ना चौधरी, प्रहरी हवल्दार कपलेश्वर यादव, प्रमोद परसैला, र श्रेष्ठ थरका अर्का प्रहरी जवान अवैध रुपमा चोरी निकासी पैठारी हुने मालसामानहरुको सहज ओसारपसार गराउन सक्रिय रहेका छन ।
यसैगरी सशस्त्र प्रहरी वलमा सेवारत विष्णु चौधरी र कृष्ण साह नाम गरेका सादा पोसाकमा परिचालित सुरक्षाकर्मीहरु समेत “माथिको लाईन” का नाममा सेटिङमा ओसारपसार गर्नेहरु सँग रकम असुलीमा दिनरात सक्रिय रहदै आएका छन ।
दुवै सुरक्षा निकायका घुमुवाहरुले आफ्नो साथमा दुई जना अन्य सादा पोसाकका सुरक्षाकर्मीहरुलाई साथमा लिएर जाने गरेका छन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी वलमा कार्यरत रहेका सादा पोसाकका घुमुवाहरुले सुनसरीको भाण्टावारीदेखि साहेवगञ्जसम्म र सदरमुकाम इनरुवामा सेटिङका नाममा राजश्व छलीका सामान भित्र्याउनेहरुबाट असुली गर्ने गरेका छन ।
कोशी गाउँपालिका अन्र्तगतको श्रीपुरजब्दीका सीमा क्षेत्र, लौकही सीमा क्षेत्र, भोक्राहा नरसिंह गाउपालिकाको साविक नरसिंह गाविसमा पर्ने सीमा क्षेत्र, हरिनगर गाउँपालिका अन्र्तगतको बसन्तपुर, घुस्की, रामनगर भुटाहाका सीमा क्षेत्र, देवानगञ्ज गाउँपालिका अन्र्तगतको देवानगञ्ज, कप्तानगञ्ज, साहेवगञ्जको सीमा क्षेत्रसँगै चिमडी, औरावनी, जल्पापुर, बविया, इनरुवा नगरपालिका क्षेत्रमा सादा पोसाकका घुमुवा सुरक्षाकर्मीहरुले जिल्ला र प्रदेश र संघीय ईकाइका नाममा प्रत्येक दिनरात दररेट तोकी मालसामान ओसारपसार गर्न छुट दिई असुली गरिरहेको पाईएको हो ।
सादापोसाकका घुमुवाहरुले तस्करीको भाषामा प्रयोग हुने लाईन नमिलेका तस्करहरुले ल्याएको सामान भने नियन्त्रणमा लिएर भन्सार बुझाउने गरेका छन ।
यसरी नियन्त्रणमा लिइएका सामानहरु रकममा कुरा नमिले पछि मात्र सुरक्षा निकायले नियन्त्रणमा लिएर तस्करी नियन्त्रण गरिएको बाहिर देखाउने गरेको बताईन्छ ।
स्रोतका अनुसार लाइनमा रकम बुझाएर क्लिन चिट पाएपछि बाटो बाटोमा ड्युटीमा रहेका सुरक्षाकर्मीलाई सामानको मुल्यअनुसार २० रुपैयाँदेखि १ सय नजराना बुझाउँदै गोदामसम्म सामान लैजाने गरिएको छ ।
स्रोतका अनुसार सुनसरीको भण्टावारी सीमा नाकाबाट विगत तीन महिनादेखी विराटनगर, इटहरी, धरान, झापाको दमक र सप्तरीको फत्तेपुर क्षेत्रका व्यापारीहरुको विभिन्न प्रकारका मालसामानहरु “माथिको लाईन” का नाममा सेटिङमा ओसारपसार गर्ने गरेका छन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved