प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि आज शान्तिपूर्ण रुपमा मतदान भएको छ । मतदानका लागि बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।
निर्वाचन आयोगका अनुसार मतदान उत्साहजनक र शान्तिपूर्ण भएको छ । केही मतदान केन्द्र नजिक सामान्य विस्फोट भएपनि त्यसको असर समग्र मतदानमा नपरेको भन्दै आयोगले करिब साठी प्रतिशत मतदान भएको र मतपेटिका संकलनपछि स्थानीय स्तरमा हुने सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जनाएको छ । आयोगका अनुसार भक्तपुर, बाग्लुङ र दाङमा मतदान सम्पन्न भएको हो ।
प्रतिनिधिसभाको रिक्त रहेको कास्की–२, प्रदेशसभाको भक्तपुर–१(क), बागलुङ–२(ख) र दाङ–३(ख) मा उपनिर्वाचन भएको हो । उपनिर्वाचनले स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिकामा प्रमुख, संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द, महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पनि निर्वाचित गर्ने छ ।
यस्तै, विभिन्न नगरपालिकामा २२ र गाउँपालिकामा २१ वडाध्यक्ष निर्वाचित हुनेछन् । तत्कालीन एमालेका नेता रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ रिक्त थियो । यहाँ ११ राजनीतिक दलकासहित २१ उम्मेद्वार मैदानमा उत्रिएपनि सत्तारुढ नेकपाका तर्फबाट रवीन्द्रकी पत्नी विद्या भट्टराई र नेपाली कांग्रेसका खेमराज पौडेलबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।
प्रदेशसभातर्फ भक्तपुर १(क) बाट निर्वाचित हरिशरण लामिछाने, र बागलुङ २(ख) बाट निर्वाचित टेकबहादुर घर्तीमगर र दाङ ३(ख) बाट निर्वाचित उत्तरकुमार वलीको निधनका कारण ती स्थानमा पनि उपनिर्वाचन गरिएको हो ।
लामिछाने र वली तत्कालिन एमाले र घर्ती जनमोर्चाबाट विजयी भएका थिए । स्थानीय तहतर्फ धरान उपमहानगरको प्रमुखमा विजयी तत्कालीन एमालेका तारा सुब्बा, संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा विजयी तत्कालिन एमालेकै खड्कबहादुर कटुवाल, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा निर्वाचित कांग्रेसका अमरकुमार नेम्वाङ र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा विजयी राजपाका विनोदकुमार चौधरीको निधन भएपछि ति स्थानीय तहमा पनि नयाँ नेतृत्व छनोटका लागि निर्वाचन गरिएको हो ।
प्रदेशसभाका तीनवटा निर्वाचन क्षेत्रमा १५ र स्थानीय तहका विभिन्न पदका लागि २० राजनीतिक दलले चुनावमा भाग लिएका छन् । तीनवटै तहमा राजनीतिक दलका २ सय ५३ र स्वतन्त्र ८४ गरी ३ सय ३७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved