सिम्रिक एयरले पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउँदै पूर्वका पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वका तीन स्थानबाट पाथीभरासम्म हेलिकप्टर यात्रा गराउने भएको छ।
सिम्रिकले इलामको ऐतिहासिक खलंगा रहेको सूर्योदय नगरपालिका ११ को पूर्णे डाँडा, धनकुटाको भेडेटार र ताप्लेजुङको सुकेटारबाट पुसको तेस्रो साताबाट ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गराउने सिम्रिकका चिफ एक्ज्युकेटीभ अफिसर योगेश सापकोटाले जानकारी दिए ।
पूर्णेडाँडाबाट १७ मिनेटमा पाथीभरा पुग्ने दर्शनार्थीले एक घण्टा पाथीभरामा बिताउने सिम्रिकका इलाम प्रतिनिधि प्रेमप्रसाद आचार्यले जानकारी दिए । पर्यटन वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि पूर्वका स्थानमा नयाँ प्रोडक्ट थप गरेको सापकोटाले जानकारी दिए । 'यसले पूर्वाञ्चलको नयाँ गन्तव्यमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरेका छौं,' सापकोटाले भने ।
सिम्रिकले इलामबाट २८ हजार ९९९ रुपैयाँमा पाथीभराको दर्शन गराउने छ । त्यसैगरी भेडेटारबाट २९ हजार ९९९ रुपैयाँमा र सुकेटारबाट ६ हजार ९९९मा भ्रमण गराउने सापकोटाले जानकारी दिए।
इलाम प्रतिनिधि आचार्यले 'गाडीमा यात्रा गर्न सहज नहुने दर्शनार्थीका लागि यो नौलो अवसर भएको बताए। 'सिम्रिकले गत वर्ष भेडेटार- पाथीभरा सेवा प्रदान गरेका थियो। यस वर्ष पहिलो चरणमा भेडेटारबाट र त्यसपछि इलामको पूर्णेडाँडाबाट उडान सञ्चालन गर्ने सापकोटाले जानकारी दिए।
इलामबाट भारतको दार्जीलिङ, सिक्किम, सिलिगुडीसहितका दर्शनार्थीलाई पाथीभरा दर्शका लागि सहज हुने सापकोटाको भनाई छ । इलाममा बुकिङ सुरु गरेको आचार्यले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved