बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनु पर्ने माग गर्दै उच्च अदालत विराटनगर अगाडि मौन प्रदर्शन गरेर धर्ना दिइएको छ।
अदालतबाट थुनामा राख्ने आदेश हुनु पर्ने माग गर्दै पीडितका तर्फबाट बिहीबार धर्ना दिइएको हो। धर्नामा सहभागीले हात–हातमा पीडितका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए। धर्नामा महिला, गैरसरकारी संस्थाकर्मी तथा मानवअधिकारकर्मीहरु सहभागी छन्। दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबामाथि सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।
उनलाई जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि मुद्दा उच्च अदालत विराटनगरमा पुगेको छ। उच्चमा यही मुद्दाको पेसी बिहीबारका लागि तोकिएको थियो। मुद्दालाई भने एकै पटक सुनवाई गर्नका लागि अदालतले यसअघि नै लगाउमा राखिसकेको छ।
जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो। निवेदनमा बेरितको आदेश बदर गरी प्रतिवादी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved