आफ्नी प्रेमिकाको बाबु र एउटा धनाढ्य आर्ट कलेक्टरलाई प्रभावित गर्नका लागि एउटा युवा कलाकारले साथीकोबाट साथीले जम्मा गरेका दुर्लभ र महँगा सामग्री चोरेर ल्याउँछ । उसको घरमा एक्कासि बत्ती जान्छ । यसपछि उसको घरमा जे जति रोमाञ्चक घटना घट्छन्, ती सबै अँध्यारोमै घट्छन् । नाटक ‘झिमिक् झिमिक् झ्याप्प’ को मुख्य कथा हो यो ।
‘झिमिक् झिमिक् झ्याप्प’ पछिल्लो पुस्ताको महत्वाकांक्षा उजागर गर्ने नाटक हो । आधुनिकताको खास्टो ओढेर आफ्नो हैसियत र औकातभन्दा माथि उठ्न खोज्ने युवा पुस्ताको चित्रण गर्दै समय र वास्तविकतालाई नजरअन्दाज गर्दा उसले भोग्नुपर्ने समस्यालाई नाटकले उजागर गरेको छ ।
आफ्नी प्रेमिका र उसको बुबालाई ‘इम्प्रेस’ पार्न एक युवा कलाकारले गरेको ‘हर्कत’ ले कसरी आपसी सम्बन्धहरु छिन्नभिन्न हुन्छन्, ‘झिमिक् झिमिक् झ्याप्प’ ले पर्दाफास गरेको छ ।
नाटकमा एक युवा कलाकार विनय हुन्छन्, जो आफ्ना आर्ट किन्न आउन लागेका एक धनाढ्य इन्डियन आर्ट कलेक्टर अग्रवाललाई आफ्नो कोठामा स्वागत गर्न चाहन्छन् तर त्यसका लागि उसको घरमा सजावटका सामग्री हुँदैनन् । केही दिनका लागि घुम्न निस्किएको आर्ट कलेक्टर साथी हितेशको कोठाबाट उसले मूर्ति चोरर ल्याउँछ ।
यत्तिकैमा प्रेमिका काव्याको बुबा कर्नेल विनयको कोठामा आउँछन् । ठिक त्यसकै पूर्वसन्ध्यामा कोठामा बत्ती जान्छ । बत्ती गएपछि कोठामा एकपछि अर्को घटना घट्न थाल्छन् । काव्यासँगै विनयकी अर्की पनि प्रेमिका हुन्छिन् कृपा । उनको फोन आउँछ । कर्णेल आइपुग्छन् । यसैबीचमा अँध्यारोको भयले छिमेकी कोठामा बस्ने सुलोचना पनि विनयकै कोठाका आउँछिन् ।
यत्तिकैमा केही दिनका लागि घुम्न निस्किएका हितेश आफ्नो कोठामा फर्किन्छन् । बाटैमा रहेको विनयको कोठामा जब हितेश छिर्छन्, नाटकले गति लिन्छ । विनयको सपनामा पर्खाल लाग्छ, उसको कालो कर्तुतको पर्दाफास हुने त्रासले अनेक बहाना निकाले पनि उसले बत्तीको विकल्प खोज्न दिँदैन । अँध्यारोमा उसले साथीको कोठाबाट ल्याएका सामग्री उसको कोठामा लगिदिन्छ । अग्रवाल आउन ढिलो गर्छन् । आफ्नो प्रेमीलाई बचाउन उसले बुबा कर्णेल, छिमेकी सुलोचना विनयको साथी हितेशलाई ड्रिंक्स पिलाएर भुल्याउँछिन् ।
यत्तिकैमा नो लाइटबाट आएका कर्मचारीलाई उनीहरुले अग्रवाल सम्झिन्छन् । उसले पनि बत्ती नभएको र अग्रवाललाई नचिनेको फाइदा उठाउँछ ।
नाटकले गती लिने क्रममा मञ्चमा त्यतिबेला देखिन्छिन्, जतिबेला उनकै बारेमा कुरा भैरहेको हुन्छ, त्यो पनि नकारात्मक । आफूलाई छोरी दिने कि नदिने भनेर भेट्न आएका काव्याका बुबा कर्णेल आएकै बेला उनकी अर्की प्रेमिका कृपा आएपछि विनयलाई परिस्थिति सम्हाल्न हम्मेहम्मे पर्छ । विभिन्न बहानाबाजी गरेर विनय परिस्थिीलाई सम्हालेर आफू पानीमाथिको ओभानो त बन्न खोज्छ । तर, उसले ओढेको झुटको खास्टो क्रमशः खस्दै जान्छ । कृपाले वृतान्त कहन्छे । व्यापारी अग्रवाल आइपुग्छन् । उनले विनयले हितेशकाबाट चोरेर ल्याएको
बुद्धको मूर्ति मन पराउँछन् र ब्ल्यान्क चेक छोडेर जान्छन् । आफ्नो कोठामा पुगेको हितेशले विनयले आफ्नो कोठाका सबै बहुमूल्य सामान चोरेको थाहा पाउँछन् ।
रिसले आगो भएर बदला लिन विनयको कोठामा फर्किएका हितेश र आफ्नी छोरीलाई प्रेमको नाटक गरेर कृपासँग रङ्गलिलामा रहेका विनयलाई त्यसको सजाय चखाउन तयार रहेका कर्णेल भएर उसलाई अँध्यारोमै खोजिरहेका छन् । त्यही समय कोठामा बत्ति झ्याप्प आउँछ । र, नाटक सकिन्छ ।
बेलायती नाटककार पिटर स्याफरको नाटक ‘ब्ल्याक कमेडी’ लाई नेपालीमा अनुवाद गरेर नाटक मञ्चन गरिएको हो । दिलिप रानाभाटले निर्देशन गरेको नाटकमा एचके अधिकारी, आयुष्मा गिरी, प्रशंसा पौडेल, सन्देश ले भोटे शाक्य, आयुष्मान प्याकुरेल, प्रस्तुती भट्टराई, श्रवणराना मगर र विपिन रिमालले अभिनय गरेका छन् ।
उच्च महत्वाकांक्षा पालेर देखावटी जीवन जिउने युवा पुस्ताको आलोकाँचो चाहनामाथि लखिएको नाटकको विषयमा खोट लगाउने ठाउँ छैन । अँध्यारोलाई उज्यालोमा देखाउने परिकल्पना र प्रस्तुति अब्बल छ । तर दर्शकलाई अभिनयमा पारंगत कला नभेट्टाउन सक्छन् । पात्र चयनमा निर्देशक कतै चुकेका छन् भने कतै उत्कृष्ठ लाग्छन् । आम नेपाली युवा चरित्र, मनोविज्ञान र विचलनलाई चित्रण गर्न भने निर्देशक सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved