धरानमा औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेला शुरू भएको छ । फागुन १५ देखि २४ गतेसम्म धरानस्थित पब्लिक हाइस्कुलको खेल मैदानमा यस्तो मेला लागेको हो ।
मेलाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सङ्घीय राज्यमन्त्री मोतिलाल दुगडले गरेका छन् । उनले उद्योगी–व्यवसायीका समस्यामा राज्य गम्भीर रहेको बताए । उनले धरानलाई विशिष्ट औद्योगिक ग्राम स्थापनाका लागि सरकार लागिपरेको बताए । ‘हरेक जिल्लामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ, धरानलाई पनि बजेट छुट्याइसकिएको छ, धरानलाई विशिष्ट औद्योगिक क्षेत्र बनाउन लागिपरेका छौं ।’ उनले भने ।
सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरे समृद्ध नेपाल बन्न सक्ने बताउँदै उनले देश समृद्ध बनाउन निजी क्षेत्र र राज्य दुवै सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । ‘उद्योगी व्यवसायी र निजी क्षेत्रको मनोबल खस्किए देश समृद्धतर्फ जाँदैन’, उनले भने, ‘त्यसैले उद्योगी व्यवसायीको मनोबल खस्किन दिनुहुँदैन भन्ने पक्षमा सरकार लागिपरेको छ ।’ कार्यक्रममा बोल्दै उनले औद्योगिक प्रदर्शनीले उपभोक्तालाई फाइदा पुग्ने बताए ।
सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, प्रदेश नं. १ का उद्योग वाणिज्य महासङ्घका अध्यक्ष नरेन्द्रकुमार खड्का, प्रदेश नं. ५ का अध्यक्ष गुणनिधी तिवारी, प्रदेश सांसद् उमिता बराइली, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीलगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै मेला संयोजक शिवराज श्रेष्ठले विशेषतः उपभोक्तालाई फाइदा पुग्ने र सस्तो दर रेटमा सामान किन्न पाइने वातावरण सिर्जना गरेको बताए ।
संयोजक श्रेष्ठका अनुसार जुत्ता–चप्पलदेखि लिएर अन्य प्रकारका अटोबाइल्स, औद्योगिक सामग्री, हस्तकला उद्योगबाट उत्पादित सामग्री, गार्मेन्ट तथा छालाजन्य वस्तु, श्रृङ्गार सामग्री, कृषि उत्पादन, घरेलु वस्तुको लगायतका सामग्री सस्तो दररेटमा किन्न पाइनेछ । ‘जुत्ता–चप्पल मेलामा विशेषतः १५ देखि ६० प्रतिशतसम्म छुट रहेको छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved