इटहरी । विश्वभर महामारीको रूपमा रहेको कोरोना भाइरस र यसको सङ्क्रमण रोक्न लगाइएको लकडाउनका कारण देश ठप्प छ ।
देश विदेशमा रहेका नेपालीहरू पनि कोरोनाका कारण त्यहाँ लकडाउन अवस्था छन् ।
तर नेपालमा लकडाउनको अवस्थाले विपन्न परिवारहरूले झेल्नु परेको समस्यालाई भने विदेशमा बस्ने नेपालीहरूको मनले छोएको छ ।
दैनिक ज्यालादारी गरी पेट पाल्ने विपन्न नागरिकहरू यो अवस्थामा अत्यन्त दुखमा छन् । उनीहरूको दुखमा राहत मार्फत मलहम लगाउने अभियानमा छ, तरहरा नेपाली समाज (युके) ।
सुनसरीस्थित तरहराका बासिन्दा जो हाल युकेमा छन् । उनीहरूको आर्थिक सहयोगले इटहरीमा पहिलो चरणमा दुई सय परिवारलाई राहत वितरण गर्ने अभियान चलाइएको छ।
नेपाली समाज युके परिवारले इटहरी आसपासका अति विपन्न परिवारलाई लकडाउनका बेला भोकै बस्न नपरोस् भनी बिहीबारबाट खाद्यान्नका सामाग्रीहरू वितरण सुरु गरेको हो ।
राहत वितरण गर्ने योजना अनुसार बिहीबारबाट राहत स्वरूप खाद्यान्नका सामाग्री वितरण सुरु गरिएको छ । पहिलो चरणमा इटहरी २ पिपल चौकमा १४ घर लाई राहत सामाग्री वितरण गरिएको छ ।
युकेमा रहेका नेपालीहरूबाट पहिलो चरणमा सङ्कलित १४५० पाउण्ड उठेको थियो । नेपालमा दुई लाख बढीको सो रकम बराबरको राहत वितरण कार्य सुरु भएको सामाजिक अभियन्ता सिजन गुरुङले जानकारी दिए ।
‘म आफै युकेमा छु, यस्तो विपत्तिमा सोचे भन्दा ठुलो रकम उठेको छ’ उनले भने ‘अब दोस्रो चरणको लागि हामी फेरी सहयोग रकम उठाउँछौ’ ।
‘विपन्न परिवारहरू यो अवस्थामा खाना नपाएर समस्यामा छन्, हामीले यो बेला जहाँ रहे पनि सानो सहयोग गर्न सके उनीहरूले राहत महसुस गर्नेथे भन्ने हाम्रो उद्देश्य हो’ ।
पहिलो चरणमा राहत पाएको परिवारहरूले युके समाजमा धन्यवाद दिएका छन् । विदेशमा बसेर नेपालीहरूको पिडालाई आफ्नै ठानेर राहत उपलब्ध गराइदिनु भएको प्रति सदैव कृतज्ञ रहने उनीहरूले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved