कक्षा १० र १२ को परीक्षा असारको पहिलो साता,

  • प्रकाशित मितिः जेठ ११, २०७७
  • 1096 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं - स्थगित गरिएका कक्षा १० र १२ को परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न गठित समितिले अहिलेकै जस्तो अवस्था कायमै रह्यो भने असार पहिलो साता सम्म परीक्षा गर्न सकिने निश्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । कारोना भाईरस (कोभिड-१९) को जोखिमका कारण अन्तिम समयमा स्थगित भएका परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल संयोजकत्वमा गठित समितिले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बिहीबार प्रतिवेदन बुझाएको हो ।

कोरोनाको अहिलेको अवस्था हेर्दा जेठ अन्तिम सम्ममा अवस्था सामान्य हुन सक्ने आँकलन सहित समितिले, सोचे जस्तै भएमा स्वास्थ्य सचेतता अपनाउँदै असारको पहिलो साता परीक्षा गर्न सकिने निश्कर्ष निकालेको श्रोतले बताएको छ । दुबै कक्षाको एकै दिन विहान र दिउँसो परीक्षा गर्न सकिने सुझाव दिईएको छ । तर, त्यस अघि विभिन्न ३ वटा निकायबाट मञ्जुरी जरुरी हुने प्रतिवेदनमा उल्लेख छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड नियन्त्रण र रोकथाम सम्बन्धि उच्चस्तरीय समिति, शिक्षा मन्त्रालय र जिल्ला तहमा रहेका प्रमुख जिल्ला अधिकारी संयोजकत्वका जिल्ला परीक्षा समन्वय समितिले दिने मञ्जुरी पछि मात्रै परीक्षा सञ्चालन गर्न सकिने प्रतिवेदनमा लेखिएको छ । कक्षा १२ को परीक्षा आफैंले स्थगित गरेको भए पनि १० को परीक्षा उक्त उच्च स्तरीय समितिले स्थगित गर्ने निर्णय गरेको आधारमा उसको मञ्जुरी खोजिएको हो ।

१८ पृष्ठमा विभिन्न अनुसूची सहित बझाईएको प्रतिवेदनका २ खण्डमा सिफारिस समेटिएको छ । परीक्षा गर्ने निर्णय भयो भने जेठ अन्तिम साता गर्न पनि बोर्ड तयार हुने प्रतिवेदनमा उल्लेख छ । तर त्यस अघि माथि उल्लेखित ३ निकायको स्विकृती, सामाजिक दूरी कायम रहने गरी परीक्षा केन्द्रको व्यवस्थापन, स्थानीय सरकार र स्वास्थ्य संस्थाहरुको समन्वयमा परीक्षा केन्द्रमा हेल्थ डेक्सको स्थापना, शान्ति सुरक्षाको प्रत्याभुती हुनु पर्ने प्रतिवेदनम उल्लेख छ ।

यस अघि तोकिएका १ हजार ९ सय ९५ परीक्षा केन्द्र अन्र्तगत उपकेन्द्रहरु बनाएर विद्यार्थीलाई घर पायक पर्ने गरी परीक्षा गर्न सकिने प्रतिवेदनमा सिफारिस गरिएको छ । ५ सय भन्दा धेरै विद्यालयमा अहिले क्वारेण्टाईन बनाईएकोले परीक्षा अघि ती विद्यालयहरुको निर्मलीकरण गर्न जरुरी रहेको पनि प्रतिवेदनमा सिफारिस गरिएको छ ।

परीक्षा लिएको ४५ दिन भित्र नतिजा निकाल्न सकिने बोर्डको क्षमता रहेको भन्दै समितिका संयोजक पौडेलले आफूहरुलाई प्राप्त म्याण्डेडका आधारमा प्रतिवेदन बुझाएको बताए । उक्त प्रतिवेदन सरकारको सम्पत्ति भएकाले त्यसमा भएका विस्तृत कुरा शिक्षा मन्त्रालयबाटै बुझ्न उनले सुझाव दिए ।

'परीक्षा नगरे पनि हुन्छ भन्ने खालका कुराहरु विभिन्न मिडियामा आएको देख्दै पढ्दै त छौं, तर हामीले गरेको छलफलमा सहभागी सबै क्षेत्रका प्रतिनिधिले परीक्षा गर्नै पर्छ भन्ने सुझाव दिएको आधारमा हामीले शिक्षा मन्त्री ज्यूलाई प्रतिवेदन बुझायौं' उनले भने 'कुनै न कुनै दिन त अवस्था नर्मल भईहाल्छ अनी लिदाँ पनि हुन्छ भन्ने मत आएको छ, त्यसो हो भने बोर्ड तयारी हालतमा बस्ने र गृहकार्य गर्ने भन्ने आधारमा हामीले सुझाव दिएका छौं ।'

प्रतिवेदनका बारेमा विस्तृत बताउन नचाहे पनि उनले ३ वटा विषयमा आधारित रहेर आगामी मार्गचित्र समेत सिफारिस गरेको भने बताएका छन् । कक्षा ८ को परीक्षा स्थानीय सरकार, १० को प्रदेश सरकार र १२ को संघीय सरकार अन्र्तगत रहेको बोर्डले लिने गरी संरचना बनाउन आवश्यक रहेको कुरा प्रतिवेदनमा सिफारिस गरिएको बताएका छन् । यसै गरी प्रविधि प्रयोगको अवस्था सुधार र व्यापक बनाउनु जरुरी रहेको तथा शिक्षालाई सीप युक्त तथा जीवन उपयोगी बनाउन सकेमा आगामी दिनमा विद्यार्थीको परीक्षण र मूल्याँकन सहज हुन सक्ने मार्गचित्र बुझाएको उनले बताए ।

प्रतिवेदन तयार पार्नु अघि विभिन्न सरोकारवालाहरु, विज्ञ तथा अभिभावकहरुसँग व्यापक छलफल गरी विभिन्न ८ वर्गमा सूचना वर्गिकरण गरेर विश्लेषण गरिएको पनि उनले बताए । आफूहरुलाई कक्षा १०, ११ र १२ को परीक्षाका बारेमा अध्ययन गर्न म्याण्डेड दिएकोले त्यस तलका कक्षाका बारेमा कुनै सिफारिस नगरे पनि छलफलका क्रममा उठेका विषयलाई जस्ताको त्यस्तै समेटिएको उनो भनाई छ । जस अनुसार वैशाख २५ गते भित्र १ – ९ को नतिजा प्रकाशन गर्ने, २५ पछि भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्दै भर्ना प्रकिया अघि बढाउने लगायतका कुरा पनि प्रतिवेदनमा समेटिएको छ । कक्षा ११ को परीक्षा बारेमा भने आफूहरुले केही कुरा नबोलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved