पोखरा– स्याङ्जामा २० प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार स्याङ्जाका २० प्रहरीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ९८ जना प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्न पठाइएको छ। केहीको परीक्षण रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।
संक्रमित प्रहरीमध्ये स्याङ्जाकै हेलुस्थित कालिका सामुदायिक अस्पतालको क्वारेन्टिनमा १६ जना र पुतलीबजार नगरपालिका ११ को करेन्डाडास्थित स्वास्थ्य चौकीको आइसोलेसनमा चारजना छन्।
कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए। उनका अनुसार स्याङ्जा प्रवेश गर्ने मुख्य दुई नाका राम्दी र कुभिण्डेमा सवारी जाँचमा कडाइ गरिएको छ।
खाद्यान्नबाहेकका पसल खोल्न रोक लगाइएको छ। यस्तै खाद्यान्नका पसल बिहानबेलुकी मात्र खुल्न दिने निर्णय भएको क्षेत्रीले जानकारी दिए।
स्याङ्जामा कोरोना भाइरस संक्रमण रोकथामका लागि परीक्षणको दायरा बढाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए।
संक्रमण फैलिन नदिन स्याङ्जाका नागरिकलाई घरमै बस्न आग्रह गरिएको छ।
स्याङ्जामा हालसम्म कोरोना संक्रमितको संख्या दुई सय २३ पुगेको छ। सक्रिय संक्रमितको संख्या ५५ छ।
साभार: nepalsamaya
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved