विराटनगर / कोरोनाका कारण विराटनगरको कोशी अस्पतालमा सोमबार दिउँसो एक वृद्धको मृत्यु भएको छ । विराटनगर ५ घर भएका उनलाई बिहान उपचारका लागि अस्पतालमा लगिएको थियो । अस्पतालको आइसोलेसनमा उनको ३ः१५ बजेतिर मृत्यु भएको जनाइएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमण भएको हुन सक्ने आशंकामा बिहान १० बजे उनको स्वाब संकलन गरिएको थियो । रिपोर्ट नआउँदै उनको मृत्यु भएको हो । मृत्यु पछिमात्र उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । ‘वृद्धको मृत्यु भएको केही समय पछि कोरोना रिपोर्ट पोजेटिभ आयो,’ डाक्टर दासले भने, ‘कोरोना रिपोर्ट पोजेटिभ आएपछि बिरामी कुरुवाको पनि कोरोना जाँच गर्ने तयारी हुँदैछ ।’मृतक वृद्ध मधुमेह रोगबाट पीडित थिए । चार दिनयता ज्वरो आएपछि सोमबार उपचारका लागि ल्याइएको अस्पतालले जनाएको छ ।
वृद्धको मृत्युसँगै प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनको संख्या दुई पुगेको छ । यस अघि गत बुधबार मोरङ सुनवर्षीका एक पुरुषको विराटनगरबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेपछि मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved