शनिबार रातिदेखि नेपालमा फेरि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार शनिबार रातिदेखि मनसुनको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिने सम्भावना रहेकाले वर्षा बढ्ने अनुमान गरिएको हो।‘हामी नियमित अपडेट गरेर त्यसको जानकारी गराउने नै छौं,’ उनले भने।
यस्तै आज (बिहीबार) र भोलि (शुक्रबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए। ‘एक–दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना छ,’ उनले भने।
उनका अनुसार अहिले बिहान भने काठमाडौं उपत्यकासहित बागमती प्रदेश, प्रदेश नम्बर १ र २ मा घाम लागिरहेको छ। यस्तै गण्डकी प्रदेशको पूर्वी भागमा पनि घाम देखिएको छ। ‘तर घाम पूर्ण रूपमा लागेको छैन, आकाशमा बादल पनि छ,’ उनले भने, ‘यी प्रदेशमा आंशिक बदलीको अवस्था छ।’गण्डकी प्रदेशदेखि पश्चिम प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिमका सबै क्षेत्रमा भने मौसम पूर्ण बदली (घामै नदेखिएको) भएको छ।
माैसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे प्रकाशन गरेकाे मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर माैसम सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
२४ घण्टे (बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म) चेतावनी जारी गर्दै महाशाखाले भनेको छ– ती स्थानहरू (वर्षा हुने) का नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
शुक्रबारको सम्भावना
शुक्रबार दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश २ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
यस्तै त्यस राति पनि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, बागमती, र गण्डकी प्रदेश का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहानको बुलेटिनमा उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved