विराटनगर / कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि मोरङको विराटनगर महानगरपालिका र बूढीगंगा गाउँपालिकामा आइतबार साँझबाट मानिस तथा सवारी साधन आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ ।बढी आवागमन र भीडभाड हुने स्थान विराटनगर–९ र बूढीगंगा–१ लाई लक्षित गरेर जिल्ला सुरक्षा समिति मोरङको आइतबार बसेको बैठकले कडाई गर्ने निर्णय गरेको हो ।
विराटनगर–९ को हनुमान मन्दिर पश्चिममा भट्टीमोड, उत्तरमा शनिमन्दिर र दक्षिणमा ट्राफिक चौक क्षेत्रमा ७२ घण्टासम्म आवतजावतलाई पूर्ण रुपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।विराटनगर महानगरपालिकामा मात्रै तीन सय ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये विराटनगर–९ का २८ जना छन् ।
सबैभन्दा बढी संक्रमित भेटिएको वडामा पीसीआर परीक्षणको दायरा फराकिलो पार्न र संक्रमितको पहिचानलाई प्राथमिकतामा राख्न कडाई गर्नु पर्ने भएपछि सुरक्षा समितिकै बैठकबाट निर्णय गरिएको निरौलाको भनाइ छ ।सतर्कताको हिसाबले विराटनगरमा साउन १६ गतेबाट दुई साताका लागि ‘लकडाउन’ गरिएको छ । ‘लकडाउन’को उल्लंघन गर्ने र पालना नगर्ने एवं संक्रमित बढी भेटिएका क्षेत्रमा अत्याधिक भीडभाड हुने गरेपछि स्थानीय प्रशासनले कडा कदम चाल्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।
त्यस्तै बूढीगंगा–१ को पनि आरती स्ट्रिप्स उद्योग रहेको क्षेत्रलाई लक्षित गरेर कडाई गर्ने निर्णय बैठकले गरेको छ । पुष्पलाल चौक पश्चिममा कोशी राजमार्ग, उत्तरमा टंकीसिनुवारी र दक्षिणमा महानगरपालिकाको ढाट क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको प्रजिअ निरौलाको भनाइ छ ।
कार्यरत रहेका २२ जना भन्दाबढीमा कोरोनाको संक्रमण देखिएपछि उद्योगनै सिल गर्नु पर्ने अवस्था आएको उनको भनाइ छ । जतिसक्दो चाँडो सिल गरेर पूरै उद्योगमा कार्यरत सबैलाई परीक्षणको दायरामा ल्याइने जानकारी निरौलाले दिए । उनकाअनुसार स्यानीटाइज गरेर उद्योगलाई ‘डिसइन्फेक्ट’ गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।
बैठकले गरेको निर्णय उल्लंघन गर्नेहरुमाथि भने कारबाही अघि बढाइने भएको छ । प्रजिअ निरौलाले सुरक्षा समितिको निर्णयबाट थप कडाई गरिएका स्थानमा परीक्षणको दायरा बढाएर संक्रमितको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गर्दै अरु संक्रमितको पहिचानलाई प्राथमिकतामा राखिएको उल्लेख गरे । उनले थप संक्रमण फैलिएर अवस्था भयावह नहोस् भनेर स्थानीय प्रशासन कठोर बन्नु पर्ने अवस्था आएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved