नजिकका नेताप्रति देउवा कनेक्सन : रामचन्द्रसहित १० नेता केन्द्रीय सदस्यमा मनोनीत

  • प्रकाशित मितिः पुष १८, २०७८
  • 399 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आफूलाई सभापतिमा जिताउन योगदान दिएका नेताहरुको व्यवस्थापनमा सकस देखिएको छ। 

पार्टीको सभापतिमा दोहोर्‍याउन महाधिवेशनमा सघाएका नेताहरुका आ–आफ्ना महत्वकाङ्क्षाका कारण उनलाई सभापतिमा जिताउन योगदान पु¥याएका नेताहरुको व्यवस्थापनमा सकस देखिएको  हो।  

यद्यपि उनले शनिबार आफूलाई साथ दिएका र डा. शेखर कोइरालाको पक्षमा नखुलेका केही नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेर व्यवस्थापन थालेका छन्। 

देउवाले शनिबार रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई शनिबार कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरे।

मनोनीतमध्ये पौडेल चौधौँ महाधिवेशन डा. शेखरलाई साथ नदिइ तटस्थ बसेर मतदानमा पनि सहभागी भएका थिएनन्। निधि र सिंहले पहिलो चरणमा सभापतिमा पराजित भएपछि दोस्रो चरणमा देउवालाई सघाएका थिए। 

गच्छदार उपसभापतिमा पराजित भएका हुन्। डा. महत महामन्त्रीमा हारेका थिए। त्यस्तै सिटौला, खड्का, विश्वकर्मा र रेग्मी चुनावी प्रतिस्पर्धामा थिएनन्। 

उता नेतृ कोइराला भने सभापतिमा पराजित सिंहसँग मिलेर उपसभापतिमा उठेकी थिइन्। यद्यपि उनले न्यून भोट ल्याइन्। 

यो मनोनयनले आफूलाई जिताउन भूमिका खेलेकालाई देउवाले पहिलो प्राथमिकता दिएको देखिन्छ। यद्यपि उनले मनोनयन गरेका १० जनामा सभापतिमा पराजित कोइराला पक्षका कोही पनि छैनन्।

यसबाट देउवाले कोइरालाप्रति नरम व्यवहार नदेखाउने संकेत गरेका छन्। उनले यसअघि डा. कोइरालालाई वरीयताको २० औँ नम्बरमा राखिदिएका थिए। 

यी १० बाहेक १४ औँ महाधिवेशनमा देउवालाई सभापतिमा जिताउन आकांक्षा राखेको पदबाट तल झरेर केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गरेका र चुनावी प्रतिस्पर्धामै नउत्रिएका नेताहरु पनि केन्द्रीय सदस्यमा मनोनित हुन खोजिरहेका छन्। 

महाधिवेशनका क्रममा पदाधिकारीमा टिकट नपाएका, टिकट पाएर पनि पराजित भएका, मनोनयनको आश्वासनका कारण चुनावी प्रतिस्पर्धामै सहभागी नभएका र सभापतिमा जिताउन सघाएका नेताहरुले विभिन्न पदमा मनोनयनका लागि कसरत गरिरहेका छन्। 

उता विजेता नेताहरु पनि गतिला विभागमा जाने दौडमा छन्। उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा छानिने कसरतमा छन्। 

यद्यपि, देउवाको समूहबाट उपसभापतिमा निर्वाचित एकमात्रै उम्मेदवार भएका कारण उनले प्रतिष्ठान प्रमुख पद पाउने निश्चितप्रायः छ। 

पार्टी विधानको धारा ३६ अनुसार सभापतिले दुईमध्ये एक उपसभापतिलाई प्रतिष्ठान प्रमुख तोक्न पाउँछन्। उपसभापतिमा निर्वाचित अर्का उपसभापति धनराज गुरुङ डा. शेखर कोइराला समूहबाट निर्वाचित भएका हुन्। 

‘अर्को समूहबाट निर्वाचित उपसभापतिलाई प्रतिष्ठानको जिम्मेवारी दिने सम्भावना न्युन हो,’ १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित देउवानिकट एक नेताले भने, ‘पूर्णबहादुरजी नै हुनुहुन्छ होला।’ कांग्रेसमा प्रशिक्षण प्रतिष्ठानलाई सबैभन्दा महत्वपूर्ण निकाय मानिन्छ। 

संस्थापन समूहबाट महामन्त्रीको आकांक्षा राखे पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगको तालमेलले टिकटबाट वञ्चित भएका गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्व सिँचाइमन्त्री एनपी साउद पनि पार्टीको महत्वपूर्ण जिम्मेवारी लिने ‘लबिङ’ मा छन्। 

जसमध्ये महामन्त्रीको आकांक्षा राखेर केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गरेका गृहमन्त्री खाँण र पूर्व सिँचाइमन्त्री पार्टीको संगठन विभाग प्रमुखका लागि ‘लबिङ’ मा लागेका स्रोतको दाबी छ। 

महामन्त्रीको टिकट नपाएपछि केन्द्रीय सदस्यमा झरेका सञ्चारमन्त्री कार्की, पूर्व कोषाध्यक्ष चित्रालेखा यादव, बिनाविभागीय मन्त्री उमेश श्रेष्ठ, मधेसी कोटाबाट निर्वाचित केन्द्रीय सदस्य विनोद चौधरीले कोषाध्यक्षमा आकांक्षा देखाएका छन्।

पार्टी विधानको धारा २१ (४) मा यसपल्ट सभापतिले कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ। ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष १,’ विधानमा उल्लेख छ।

स्रोतका अनुसार सभापति देउवाले पूर्व अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री कार्कीलाई कोषाध्यक्ष बनाउन चाहेका छन्। कोषाध्यक्षको जिम्मेवारी दिने योजनाअनुसार नै देउवाले उनलाई महाधिवेशनमा आर्थिक व्यवस्थापन समितिको जिम्मेवारी दिएको ती नेताको भनाइ छ।

यस्तै केन्द्रीय सदस्यहरु रमेश लेखक, रामहरि खतिवडा पार्टी प्रवक्ताको दाबी गरिरहेका छन्। यस्तै प्रधानमन्त्री देउवालाई सभापतिमा जिताउन भन्दै अन्तिम समयमा सहमहामन्त्रीमा दिएको मनोनयन फिर्ता लिएका मीनबहादुर विश्वकर्मा पनि प्रवक्ताको आकांक्षीमा पर्दछन्। 

उनी शनिबार केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। ‘उहाँ केन्द्रीय सदस्यमा शनिबार मनोनीत  हुनुभएको छ। अब जिम्मेवारी दिए नाइँ भन्नुहुन्न्,’ उनीनिकट एक नेताले भने, ‘यसअघि पनि सभापतिज्यूले उहाँलाई प्रवक्ता बस्न भन्नुभएकै हो। उहाँले नै विश्वप्रकाशजीलाई बनाउनुस् भन्नुभएको थियो।’

यद्यपि, पार्टी प्रवक्तामा केन्द्रीय सदस्य एनपी साउदको चर्चा छ। इच्छा देखाए सभापति देउवाले उनलाई सहजै पार्टी प्रवक्ता नियुक्त गर्ने सम्भावना बलियो रहेको एक नेताको भनाइ छ। ‘एनपीजीले प्रवक्ता चाहियो भन्नुभयो भने सहजै पाइहाल्नुहुन्छ नि। उहाँलाई प्रवक्ता बनाउने कुरामा सभापतिजी सकारात्मक नै देखिनुहुन्छ,’ ती नेताले भने। 

सभापति देउवालाई केही दिनअघि सरकारी निवास बालुवाटारमा भेटेका एक निवर्तमान केन्द्रीय सदस्यले पनि प्रवक्तामा नेता साउदको सम्भावना रहेको जानकारी दिए। ‘मैले पाएको नाम भनेको प्रवक्तामा एनपी साउद हो,’ उनले  भने।   

सभापतिमा उम्मेदवारी दिने घोषणा गरे पनि अन्तिम अवस्थामा केन्द्रीय सदस्यमा झरेका अर्का नेता गोपालमान श्रेष्ठको व्यवस्थापनमा पनि सभापति देउवालाई सकस छ। 

उनले पदभन्दा वरीयतालाई प्राथमिकता दिएका छन्। पूर्व उपसभापतिसमेत रहेका श्रेष्ठले पुस १० गते बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवापछि आफ्नो वरीयता हुनुपर्ने माग राखेका थिए। 

सभापति देउवाले उपसभापतिमा पराजित गच्छदार र महामन्त्रीमा पराजित डा. महत, सहमहामन्त्रीको मनोनयन फिर्ता लिएका नेता विश्वकर्मा, उम्मेदवारी नै नदिएका परराष्ट्रमन्त्री डा. खड्कालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

यस्तै सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा सघाएका सभापतिका उम्मेदवारहरू निवर्तमान उपसभापति निधि, पूर्वमहामन्त्री सिंह पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। अब आफूलाई सघाएका निवर्तमान केन्द्रीय सदस्य कल्याण कुमार गुरुङलाई मनोनीत गर्नुपर्ने नैतिक दबाबमा देउवा छन्। 

यस्तै १४ औँ महाधिवेशनमा सघाएका पूर्वमहामन्त्री सिटौला पनि केन्द्रीय सदस्यमा आएका छन्। महामन्त्रीमा पराजित सिटौलानिकट युवा नेता प्रदीप पौडेललाई मनोनयन गर्नुपर्ने बाध्यता छ। 

कोइराला समूहबाट उपसभापतिमा उठेका डा. चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाललगायतका नेताहरु पनि मनोनित हुनुपर्ने सूचीमा छन्। 

पार्टी विधानको धारा २१ (१०) ले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ। मनोनीत गर्दा केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला हुनुपर्ने, समावेशी सिद्धान्त र अपांगता वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यान दिनुपर्ने उल्लेख छ। 

सभापतिले कार्यसमितिमा महिला प्रतिनिधित्व एकतिहाइ पु¥याउन १५ महिला मनोनयन गर्नै पर्नेछ। बाँकी १८ केन्द्रीय सदस्यमा पदाधिकारीमा चुनाव हारेकादेखि निर्वाचन नलडेर आफूलाई सघाएकासम्म नेताहरूलाई मनोनयन गर्नुपर्ने दबाबमा देउवा छन्।   

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved