सुनसरी / अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ। बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो। नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका-२, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका-६ डुबानमा परेको हो।
बाढी रोक्न नगरपालिकाको तर्फबाट प्रयास भए पनि कोसीमा पानीको बहाव बढेसँगै आएको बाढीले नियन्त्रणकोलागि निर्माण गरेको बाँधलाई फुटाए पछि बेलका नगरपालिकाका दर्जनौँ बस्ती, हजारौँ परिबार जोखिममा परेका छन्। नदीको बाँध फुटेर गाउँ पस्दा कति क्षति भयो यकिन तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिए।
सोमबार बेलका नगरपालिकाले बस्ती छाड्न माइकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको र आफू घटनास्थल जाँदै गरेको उनले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले उद्धारको काम गरेको प्रजिअ यादवको भनाई छ। सप्तकोसी नदी फुटेको स्थानमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुख स्थलगत अवलोकन गर्न लागेको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए।
‘कोसीको पुरै भंगालो पसेको छैन, बाढी ओभरफलो भएको हो। सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको उनले बताए।सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ। बर्खामा नदीले वर्षेनी धेरै जनधनको क्षति गरेको छ। बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोशी किनाराका हजारौँ बासिन्दा घरबारविहीन भएका छन्।
सुनसरीको भाण्टाबारी कोसी व्यारेजदेखि उत्तर बराह क्षेत्र सम्मका बाँध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको रहेको छ। कोसी व्यारेज निर्माण गरेको बेला देखिको सो सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरे पनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको हो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved