काठमाडौं / थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आइतबार(आज) उपवास (व्रत) परेको छ। सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ।
यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन्। पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ। सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन्।
उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया मनाउँछन्। थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताए। उनले अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको उनले जानकारी दिए। हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उनको भनाइ छ। यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ। यस्तै जितियामा कोसेली ९पहुरा० पुर्याउने चलन पनि छ।
सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ (निराहर) ‘उपास’ व्रत बस्ने मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताए। बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन्। त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved