इटहरी : काँकडभिट्टाबाट धरान जाँदै गरेको बस अनियन्त्रित भई पल्टिएको छ । सडक बिचको डिभाइडरमा ठोक्किएर बस पल्टिएको हो ।
ग्यालेक्सी यातायात नाम गरेको मे १ ख २७४० नम्बरको दुर्घटनामा परि एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीम खड्काका अनुसार दुर्घटनामा दर्जन बढी यात्रु घाइते भएको र एक जनाको अवस्था गम्भीर छ ।
घाइतेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनले बताए ।
मंगलबार बिहानै इटहरीको मुख्य चोकमा अर्को दुर्घटना भएको छ । धरानतर्फबाट आउँदै गरेको कारलाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएपछि कारमा सवार दुई जना घाइते भएका हुन् । दुवै जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार चालक र बिरामी दुई जना धरानका रहेको र सम्बन्धमा बाबु छोरी रहेको प्रहरीको भनाइ छ ।