विराटनगरको एक होटलमा गठबन्धनका नेताहरूसँगको कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सिर्जना दनुवारले संसदीय परम्परालाई तोडेको आरोपछलफलपछि मुख्यमन्त्री थापाले संचारकर्मीहरुसँग कुराकानी गर्दै उपसभामुखले संसदीय व्यवस्थालाई धरापमा पार्ने काम गरेको आरोप लगाए । कोशी प्रदेश उपसभामुख दनुवार बिरामी बिदा बसेपछि आज बस्ने भनिएको प्रदेश सभाको बैठक अनिर्णित बनेको छ । बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बिना निष्कर्ष टुंगिएको थियो । उपसभामुखले आज गरेको काम गलत भएको समेत उनले बताए ।
राज्य व्यवस्था र संसदीय व्यवस्थाबीच द्वन्द्व बढाउने काम उपसभामुखले गरेको उनले बताए । विश्वासको मत लिने आधारहरू पनि धेरै रहेको उनले बताए ।
‘अब हामी सबै ढोका खुल्ला गरेर जान्छौं । अदालत जानु पर्छ कि प्रदेश सभामा बसेर छलफल गर्नु पर्छ कि बाहिर बसेर छलफल गर्नु पर्छ । यसका लागि हामी तयारी गर्दैछौं । उपसभामुखलाई विश्वासको मतमा बस्ने मनशाय थिएन भने समय नदिएको भए हुने थियो ।’ उनले भने ।
विश्वासको मत लिनका लागि सबैसँग छलफल गरेर नै अगाडि बढेको समेत उनले बताए ।
मुख्यमन्त्री थापाले बजेटका विषयमा पनि सहमति भएको बताए । अघिल्लो सरकारले ल्याएको बजेटको ८५ प्रतिशत नचलाउने र अहिलेको सरकारले १५ प्रशित मात्रै फेरबदल गर्ने सहमति भएको थियो । थापाले भने, ‘सहमति एउटा गरेर काम भने अर्कै गरेको देखियो ।’ उनले हिकमत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट पूरै परिवर्तन गर्ने समेत संकेत गरे ।
अघिल्लो सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो । उनी बिदामा बसेसँगै अब प्रदेश सभा बैठक बस्ने नबस्नेबारे अन्योल सिर्जना भएको छ ।
यसअघि नै एमालेले आफ्ना ज्येष्ठ ७ र राप्रपाले २ जना जेष्ठ सदस्य सांसदहरूलाई बिदामा राखेको छ । उपसभामुखले राजीनामा दिएको अवस्थामा जेष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने भएकाले एमाले र राप्रपाले उनीहरूलाई बिदामा राखेका हुन् ।
कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो । प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको छ ।
हाल कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाका १ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved