सुनसरी इटहरी /नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई नेपाल प्रेस युनियन कोशी प्रदेश कार्यसमितिले नजिकबाट निकालिरहेको छ ।
शुद्धीकरणका नाममा कसैलाई काखा र कसैलाई पाखा गर्ने कार्य कहीँबाट भए नेपाल प्रेस युनियन कोशी प्रदेश कार्यसमितिलाई मान्य हुनेछैन । शुद्धीकरण अभियानलाई सफल बनाउन युनियनले जिल्ला, प्रदेश र केन्द्रसम्म सकारात्मक भूमिका निर्वाह गरिरहेको छ ।
प्रदेशका विभिन्न जिल्लाहरूबाट आएका सिफारिसमा महासंघ प्रदेश समितिले पक्षपातपूर्ण ढंगबाट केन्द्रमा नामावली सिफारिस गरेको भन्ने व्यापक गुनासो युनियनसमक्ष आएको छ । तसर्थ, जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रमा पठाउन आग्रह गर्दछौँ ।
खासगरी महासंघले जारी गरेको १५ बुँदे मापदण्डलाई आधार बनाएर जिल्ला र प्रदेशले सदस्यता शुद्धीकरण गर्नुपर्ने भएपनि त्यस विपरीत कसैलाई काखा र कसैलाई पाखा गरिएको पाइएको छ । जिल्लाबाटै सिफारिस नभएका नाम नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यसमितिले सदस्यता नामावलीमा सिफारिस गर्ने र जिल्लाले पठाउँदै नपठाएका र केही निष्क्रियहरूलाईसमेत महासंघ प्रदेश समितिले पुनः सदस्यता दिने कुरामा नेपाल प्रेस युनियन प्रदेश कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
साथै, नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिहरूले पठाएका नामहरू हुबहु केन्द्रमा पठाउन प्रदेश समितिलाई आग्रहसमेत गर्दछौँ । जबरजस्ती भागबण्डाका नाममा प्रेस युनियनमा आबद्ध पत्रकारहरूलाई सदस्यबाट बाहिर राख्ने कार्य भएमा युनियनलाई मान्य हुनेछैन ।
पत्रकार महासंघ कोशी प्रदेश समितिलाई छुटेका नामावलीलाई केन्द्रमा सिफारिस गर्न आग्रह गर्दछौं । यदि, युनियनमा आवद्ध पत्रकारहरूलाई राजनीतिक भागबण्डाका आधारमा काखा–पाखा गरेको पाइएमा र पक्षपातपूर्ण व्यवहार गरेर सदस्यताबाट वञ्चित गर्ने कार्य भएमा कडा आन्दोलनमा उत्रिनेसमेत चेतावनी दिन चाहछौं ।
पछिल्लो समय नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले शुद्धीकरणको नामावली केन्द्रमा पठाएको विषयलाई लिएर केही पेशागत संगठनहरूले महासंघको कार्यालयमा गरेको तालाबन्दीप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समस्याको समाधान तत्काल वार्ता र छलफलबाट गर्न युनियन जोडदार मागसमेत गर्दछ ।
जय नेपाल ।
सञ्जीव वाग्ले मीनकुमार नवोदित
महासचिव अध्यक्ष
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved