पोखराको मणिपाल शिक्षण अस्पतालमा मृतकका आफन्त सामू ‘डाक्टरहरूलाई साफ चुटेर आएँ’ भन्दै अपशब्द बोलेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।
श्रेष्ठलाई तत्काल अनुसन्धानका लागि निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) बुद्धिराज गुरुङले जानकारी दिए । डाक्टरहरुको भीडलाई लाठिचार्ज गरेर फर्किएपछि उनले अश्लिल शब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ, ढुटो पारेर रगतै रगत बनाएँ’ भनेको भिडियो भाइरल छ ।
विवादास्पद अभिव्यक्ति दिएपछि उनको चर्को विरोध पनि भइरहेको छ । उनीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालय, गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ ।
कास्की जिल्ला प्रहरी कार्यालय कास्कीले श्रेष्ठको निलम्बन सिफारिस गरेको हो । जिप्रकाले श्रेष्ठलाई निलम्बनको सिफारिस गृह मन्त्रालयलाई गरेको हो । प्रहरी निरीक्षकदेखि माथिका विभागीय कारबाहीका सम्पूर्ण अधिकार माथि नै रहेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले समय अनलाईन जानकारी दिए ।
छानबिन तथा अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले पुष्टि गरेका छन् । निलम्बनको अवधि छ महिनाको हुन्छ । दोषी देखिए नियमानुसार विभागीय कारबाही हुन्छ ।
इन्स्पेक्टर श्रेष्ठ हालै कास्कीमा सरूवा भएर आएका हुन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved