काठमाडौं उपत्यकाको जनजीवन सामान्य छ । सधै जस्तै आज बिहान पनि सवारी साधन सडकमा गुडेका छन् । कहिँ कतै सवारी अवरोध भएको छैन । प्रहरीका अनुसार बिहान ८:३८ बजेसम्मको जनजीवन सामान्य छ । सबैतिर पसलहरु खुलेका छन् । मानिसहरु सधै जस्तो आज पनि निर्वाध रुपमा आफ्नो दैनिकीमा लागेका छन् । नयाँ घटना केही भएको छैन
उपत्यकामा उच्च सुरक्षा सतर्कता
एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले बिहीबार आयोजना गर्ने प्रदर्शनमा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गर्दै सरकारले उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर (जेओसिसी) गठन गरिएको छ ।
काठमाडौंकेन्द्रित प्रदर्शन हुन लागेको हो । ‘राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिइएको प्रदर्शनमा सहभागी हुन देशभरबाट नागरिकको सहभागिता हुने दाबी गरिएको छ ।
प्रसाईंले हिन्दुराज्य कायम गर्नुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज अन्त्य हुनुपर्नेलगायतका मुद्दासहित अभियान सुरु गरेको बताएका छन् । ‘अहिलेको व्यवस्था परिवर्तन नभइन्जेलसम्म यो प्रदर्शन जारी रहन्छ,’ नयाँ पत्रिकासँग प्रसाईंले भने, ‘बिहीबार काठमाडौंमा उद्घाटन मात्रै हो । यहाँबाट घन्टी मात्रै बजाउने हो, त्यसपछि देशैभर यो प्रदर्शन जारी रहन्छ । सरकारको रबैया हेरेर थप कदम चालिनेछ । ’
प्रदर्शनका लागि देशभरबाट कम्तीमा पाँच लाख नागरिकको उपस्थिति हुने अनुमान गरिएको प्रसाईंले दाबी गरे । विभिन्न स्थानबाट समूह बनाएर बल्खु आइपुग्ने कार्यक्रम रहेको र देशका स्वतन्त्र व्यक्तिले सम्बोधन गर्ने प्रसाईंले दाबी गरे । अभियानका लागि राष्ट्रप्रेमी राजनीतिक दल, धार्मिक संघसंस्था, विभिन्न गुरुकुल, आश्रमहरू, विभिन्न धर्मका धर्म गुरूहरू, कर्मचारी संघ संगठनहरू, पूर्वसुरक्षाकर्मी संघसंगठनहरू, पेसागत संघसंगठनहरूलगायत ४६ वटा संघ संस्थाले समर्थन र ऐक्यबद्धता जनाएको प्रसाईंले दाबी गरे ।अभियानका लागि प्रसाईंले काठमाडौंस्थित पेरिसडाँडामा कार्यालय नै स्थापना गरेका छन् । अभियान सफल पार्न सातसदस्यीय अध्यक्षमण्डल नै गठन गरिएको छ, जसमा दुर्गा प्रसाईं, हरि कार्की, राजु पनेरू, आनन्द प्याकुरेल, ईशा खड्का, रमा सिंह र प्रेमदीप लिम्बू छन् । कार्यक्रम गर्न सुरक्षा व्यवस्थादेखि खाद्यान्नलगायत २१ वटा समिति बनाइएको छ । काठमाडौंमा आउने मानिसलाई दुई दर्जन बढी पार्टी प्यालेसमा बस्ने–खाने व्यवस्था मिलाइएको छ
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved