इटहरी । रात परेपछि प्रहरीको ‘अघोषित नाकाबन्दी’ जस्तै हुने इटहरीमा प्रत्येक रात चोरीका घटना बढ्न थालेपछि प्रहरीको अनुसन्धानमाथि प्रश्न चिन्ह उठेको छ । साँझ ८ कट्न साथ प्रहरी आफै पसल र होटल बन्द गराउदै हिड्ने गर्छन । बाटोमा चेकिङको नाममा द्धन्दकालको झल्को दिने शैली अपनाउन थालेको इटहरी प्रहरीको नयाँ पुलिसिङ अझ रोचक छ । १० बजे उता इटहरीको कुनै पनि चौक, सडक या गल्लीमा डिएसपी शिवकुमार श्रेष्ठ सवार गाडीले कसैलाई भेट्यो भने आतंककारीलाई झै चेकिङ हुने गर्छ ।
दुवै हात माथि, प्रहरीको राईफलको नाल मुख नजिक अनि भिडियो रेकर्ड गदै शरीर चेकजाँच । मानौ बाटोमा हिड्ने सबै अपराधी हुन । त्यस सगै चोरीका घटना नियन्त्रणमा लिन डिएसपी श्रेष्ठले रातभर दुई सिफ्टमा सिभिल र बर्दीधारी प्रहरीको टोली इटहरी भित्र परिचालन गरेका छन् । जसले चोरलाई पासोमा थाप्ने काम, बाटोमा हिड्ने मान्छेको खानतलासी र घरको सुरक्षामा यी टोली परिचालन भएका हुन । डिएसपी पनि आफै राती तिन बजेसम्म छड्के चेकिङमा हिड्छन् ।
सबारी चेकजाँचको लागी सरप्राईज चेकिङ ठाँउ ठाँउमा चलिनै रहेका छन् । तर पनि चोरी किन घटेको छैन भन्ने प्रश्न चिन्ह प्रहरीमाथि यसरी उठेको हो । प्रहरीले आफ्नो सकृयता बढाएपनि चोरले ‘च्यालेन्ज’ गरे जतिकै चोरी बढ्नु सामान्य बिषय हैन । इटहरीको १० नं. वडामा २० गते एकै रात ४ वटा घरमा ‘प्रोफेसनल चोरी’ भयो । लहरै रहेको घरमा एकै समय घर र झ्याल फुटाएर महोत्वपूर्ण सामाग्री तथा नगद चोरी भएको थियो ।
२१ गते नै इटहरी ६ स्थित संगित चौकको एक होटल चोरी गदै गर्दा सिसिटिभीको सहयोगबाट रंगेहात एक जना मोबाइल चोर पक्राउ पर्यो । ६ नं. वडामा यो होटल सगै करिब ४ वटा पसल र एक घरमा चोरी घटिसकेको छ । असार २० गते भन्दा अगाडी इटहरीका बिभिन्न वडामा करिब २७ वटा चोरीका घटना सार्वजनिक भइसकेका छन् भने सार्वजनिक नभएका घटना अझ धेरै छन् । प्रोफेसनल चोरहरुले इटहरीका खाली घर, मोबाइल पसल, घुम्ती पसल, किराना आदी स्थानलाई निशाना बनाउने गरेका छन् ।
रात परेपछि आजकल इटहरीवासीलाई असार साउनको बाढी सगै चोरीको चिन्ताले थप त्रसित बनाएको छ । असार १७ र १८ गते २० नं. वडामा भएको चोरीलाई बर्षातले झन सहज बनाइदिएको थियो । बर्षा भइरहेको बेला सटर र ग्रिल फोडेर एक डिपाटमेन्ट स्टोर र फुटसल चोरी भएको थियो । पानी परेको समयमा मान्छेहरु मस्त निदाउने मौका छोपी चोरी भएको थियो ।
चोरबाट पिडित २० नं. वडाका व्यवसायी रोहित थापा भन्छन् ‘प्रहरी भन्दा चोर अगाडी देखियो’ । ‘चोरीमा गिरोह समुह सकृय छन,’ उनले भने ‘प्रहरीलाई नै निगरानी गरी मस्त चोरी भएको देखिन्छ’ । सिसिटिभि क्यामेर जडान भएको स्थानमा चोरी गर्नेहरु र अन्य स्थानमा चोरीमा संलग्न एउटै हुलिया भएको उनले बताए । ‘प्रहरीलाई घटनाको बारेमा बुझदा अनुसन्धान भइरहेको मात्र भन्छ, थापा भन्छन् ‘प्रहरीको उपस्थिति गाँउ टोलमा साँच्चै फितलो भएकै हो’ ।
इटहरीका व्यवसायी मणि गुरुङ मुख्य चौक आसपास चोरीका घटना हुनु प्रहरीको ‘गैरजिम्मेबारी’ हो भन्छन् । मुख्य चौक नजिक रहेको संगित चौकमा यस अघि पनि चोरी हुनुले प्रहरी चोरीको बिषयमा ‘सिरियस’ नभएको हो कि भन्ने शंका उनको छ ।
यता नागरिक समाज इटहरीका अध्यक्ष कमलेश पौडेलका अनुसार चोरी बढ्नुले इटहरीमा सुरक्षा चुनौती बढेको बताउछन । समाजको शान्ति सुरक्षा गर्ने जिम्मेबारी प्रहरीको भएकाले प्रहरी आफै सचेत र जिम्बेवारी हुनु पर्ने उनले बताए । चोरीमा पटक पटक संलग्न हुनेहरुको निगरानी नगर्दा, धुमुवा प्रहरीले सकृयता नदेखाउदा र पक्राउ परेकालाई कडा कारबाही नहुदा चोरी सदैव मौलाउने पौडेलको भनाई छ ।
चोरीका घटना बृद्धि भएको बिषयमा नागरिक समाज इटहरीले इलाका प्रहरी कार्यालय इटहरीलाई शनिबार ध्यानाकर्षण गराएको छ । इटहरीका डिएसपी शिवकुमार श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउदै चोरीका घटना नियन्त्रणमा लिन गम्भीर ध्यानाकर्षण गराएको हो । दुई महिना देखि श्रृङखलावद्ध रुपमा चोरी बढेको भन्दै नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको बताउदै समाजको शान्ति सुरक्षा कायममा सचेत हुन प्रहरीलाई आग्रह गरेको छ । इटहरीको २०, १०, ६, ५ र २ नं. वडामा भएको चोरीमा संलग्नहरुको बिषयमा गहन अनुसन्धान गर्न नागरिक समाज इटहरीका अध्यक्ष कमलेश पौडेलले माग गरे ।
चोरी बढेपछि प्रहरी समेत चिन्तित बनेको छ । बैशाख यता इलाका प्रहरी कार्यालय इटहरीमा ४५ बढी चोरीका घटना भएको उजुरी प्रहरीमा परेको छ । स–साना चोरीका उजुरी प्रहरीमा पर्दैनन् । चोरीका कूल घटनामध्ये आधा जतिको मात्र उजुरी पर्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीमा उजुरी परेका घटना कै पनि छिनोफानो हुनु अर्थात् चोर पक्राउ र धनमाल बरामद निकै कठिन काम हो । अधिकांश उजुरीमाथि छानविन ‘जारी’ नै रहन्छ, टुंगोमा पुग्दैन । चोरीका विरलै घटनामा मात्रै प्रहरीले सफलता पाउँछ । हुन पनि, सबभन्दा धेरै हुने अपराधमा पर्ने चोरी यस्तो अपराध हो, जुन प्रहरीका निम्ति सबभन्दा ठूलो टाउको दुखाइ र अनुसन्धान गर्न सबभन्दा बढी कठिन हुन्छ । लुकाउन सजिलो हुने चोरीका घटनामा सामान बिक्री भइसक्ने हुँदा प्रहरीलाई प्रमाण जुटाउन कठिन हुने गरेको छ ।
अनुसन्धान गर्न भने चोरीकै घटना कठिन हुन्छ । ‘कहिले चोर भेटिन्न, चोर भनेर समात्दा चोरी भएको सामान फेला पर्दैन, सामान फेला नपरे अदालतले छाडिदिन्छ,’ इटहरीका डिएसपी शिवकुमार श्रेष्ठ भन्छन, ‘कहिले चोर र सामान दुवै फेला पर्छन, तर पीडित भेटिंदैनन्’ ।
अहिलेसम्म ४० बढी व्यक्तिलाई चोरीको अभियोगमा पक्राउ परेको उनले बताए । चोरीमा प्राय सडक बालबालिका, भारतिय घुमन्ते र प्रोफेसनल व्यक्ति संलग्न भएको श्रेष्ठको बुझाई छ । ‘हामी अहिले प्रत्येक वडा स्तरमा कार्यक्रम गरिरहेका छौ,’ उनले भने ‘चोरी नियन्त्रणमा जनता आफै पनि सचेत हुनुपर्छ’ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved