इटहरीको कर विवादमा जिम्मेवार को हो ?

  • प्रकाशित मितिः पुष १५, २०८०
  • 243 पटक पढिएको
  • जीवन फुयाँल

इटहरी/ इटहरी उपमहानगरपालिकामा चौधौँ नगर सभा स्थगित भएको छ । नगर सभा स्थगित भएपछि यो बिषयले नयाँ मोड लिएको छ । नगर सभा स्थगित हुनुको कारणलाई लिएर बिभिन्न टिका टिप्पणी भईरहेका छन् । चर्चा उपचर्चा हुन थालेका छन्। नगर सभा स्थगित गर्नुको कारणका बिषयमा फरक फरक बिषयहरु बजारमा आउन थालेपछि उप–महानगरपालिकानगर प्रमुख हेमकर्ण पौडलले आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। मुख्य रुपमा नगर सभा स्थगित गर्नुको कारण, करको बिषयमा देखिएको विवादका बिषयमा उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।

कर बृद्धिको बिषय नगर सभाले पास गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो। नगर प्रमुख पौडेलले ‘आर्थिक ऐन २०८०/८१ को अस्वभाविक कर बृद्धिको बिषय आउने बित्तिकै आम नगरबासीलाई के जानकारी गराउँछु भने यो कार्यपालिकामा करिब करिब दुई तिहाई नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु हुनुहुन्छ । कार्यदलले तयार गरेको प्रतिवेदननगर सभाबाट बहुमतले पास गरेको हो।’ भन्नुभयो।

आर्थिक बर्ष २०७९/०८०मा पूर्ववर्ती सरकारले छुट्याएको वडाको बजेटको सिलिङ बढाउने बिषय हुँदा आफुले प्रश्न गरेको बताउँदै प्रमुख पौडेलले ‘ करिव करिव ८५ लाख बजेट थप गरेर जाँदा त्यसको व्यय भार कसरी व्यहोर्ने भन्ने मैले प्रश्न गर्दा कर बढाएर जानुपर्छ साथीहरुले भन्नुभएको थियो’ भन्नुभयो।

पूर्ववर्ती एमालेको सरकार भएपनि कर नबढाएको हुँदा यस पटक कर बढाएर जाउँ भनेर एमाले पक्षीय जनप्रतिनिधिले नै भनेको नगर प्रमुख पौडेलको जिकिर छ। त्यसपछि सबै वडाध्यक्ष, उपमेयरसहित सबैको सहमतिमा कर वृद्धि गरिएको उहाँले प्रष्ट्याउनुभयो।

श्रावण १ पछि कार्यान्वयनमा गएको बजेटलाई, त्यसका करका दरका विषयमा मलाई थाहा थिएन भन्दै भ्रम फैलाएको मेयर पौडेलले बताउनुभयो। नगर सभामा बिद्येयकलाई निणयार्थ पेश गर्ने मात्रै भुमिका आफ्नो रहेको भन्दै पौडेलले नगर सभाले पास गरेको बिषयमा कोही भाग्न नहुने बताउनुभयो।

करका बिषयमा बिवाद हुँदा पनि पछि वडाध्यक्षहरुले राजनितिक दबाव आएपछि बिरोध गरेको भन्दै सहमतिमा नै अगाडि बढौँ भन्ने प्रस्तावमा यहाँ सम्म आएको उहाँले सुनाउनुभयो तर अन्तिम अवस्थामा आएर नगर सभा बस्ने विषयमा बखेडा झिकेको मेयर पौडेलको भनाई छ। 

कसरी शुरु भयो इटहरीमा कर बिवाद ?

१३औँ नगर सभाले आर्थिक बर्ष २०८०/८१ का लागि नयाँ बजेट नीति तथा कार्यक्रम पास ग¥यो । सो नीति तथा कार्यक्रम सञ्चालनका लागि आर्थिक ऐन आवश्यक पर्छ। गएको असारमा सम्पन्न भएको इटहरी उपमहानगरपालिकाको १३ औँ नगर सभाले आर्थिक बर्ष २०८०/८१का लागि आर्थिक ऐन २०८० पास गर्‍यो।  सोही आर्थिक ऐनमा इटहरीमा कुन कुन शिर्षकमा कति कति र कसरी कर, राजश्व संकलन गर्ने भन्ने बिषमय उल्लेख हुन्छ । 

श्रावण पछि कर तिर्न गएका नागरिकले तिर्दै आएको कर भन्दा बढि कर तिर्नुपर्ने अवस्था आयो । नयाँ आर्थिक ऐन र त्यसमा भएको करको दरले नागरिकले तिर्नुपर्ने रकम भन्दा दोब्बर, तेब्बर रुपमा बढि रकम तिर्नुपर्ने स्थिती श्रृजना भयो । 

बिभिन्न शिर्षक मध्ये कतिपय शिर्षकमा २ सय प्रतिशत देखी ३ सय प्रतिशत सम्म बढि कर तिर्नुपर्ने अवस्था श्रृजना भयो । बिशेष गरी भूमिकर, व्यवसाय कर, सम्पत्ति करलगायतका अन्य बिविध बिषयमा करको दर उच्च अंकले बढेको पाईएको छ।

त्यसपछि करको दर बढेको भन्दै नागरिक स्तरबाट कर बृद्धिको बिरोध शुरु भयो । नागरिक स्तरबाट कर बृद्धिको बिरोध नभए सम्म १३ औँ नगर सभामा बसेका कसैले पनि त्यसको बिरोध गरेका थिएनन् तर जब नगरबासी, व्यापारी, व्यवसायी कर तिर्न उपमहानगरपालिका जान थाले त्यसपछि कर बढेको सबैले थाहा पाए। 

खास बिवाद त्यस बेला शुरु भयो जब १३ औँ नगर सभामा सहभागि भएर आर्थिक ऐन पास गरेका उपमेयर, वडाध्यक्ष सहितका जनप्रतिनिधिहरुले नै कर हामीले बढाएको होईन भन्दै बिरोध जनाए। यसमा आफुहरुको कुनै संलग्नता छैन भन्दै अरुलाई आरोप लगाए हो, यहिबाट इटहरीमा करको बिवाद शुरु भएको हो। यहि क्रमले करको विवाद बढ्दै गएर यहाँ सम्म आईपुगेका हो । 

कसले बढायो कर ?

कर विवादको बिषय पहिल्याउँदै जाँदा आर्थिक ऐन निर्माणको प्रकृया सम्मै पुग्नुपर्ने हुन्छ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिकामा बजेट, नीति निर्माणको आफ्नै प्रकृया र अधिकार दिईएको छ। मेयर, उपमेयर, कार्यपालिका तथा नगर सभा सदस्यको आफ्नै अधिकार तोकिएको छ। 

आर्थिक ऐन निर्माणको अधिकार राजश्व परामर्श समितिलाई दिएको छ। राजश्व परामर्श समितिको संयोजक उपप्रमुख वा उपाध्यक्ष रहने व्यवस्था छ । यस हिसाबले बजेट, योजना निर्माण तथा आर्थिक ऐनमा करको विषय के कसरी राख्ने भन्ने विषयमा उपप्रमुखको भूमिका हुन्छ। 

राजश्व परामर्श समितिले तयार पारेको करका दर समेटिएको आर्थिक ऐन उपप्रमुखले कार्यापालिका बैठकमा पेश गरिन्छ । कार्यपालिकाबाट पास भएर सो बिधयकको रुपमा नगर सभामा उपप्रमुखले नै निणयार्थ पेश गर्नुपर्ने हुन्छ । जसलाई नगर सभाका सम्पूर्ण सदस्यहरुले पास गरेपछि त्यो बिद्येयक ऐन बन्छ। सोही ऐनका आधारमा सो आर्थिक बर्षमा कर तथा राजश्व संकलन गरिन्छ। यो ऐन निर्माण गर्ने, पास गर्ने र कार्यान्वयनमा लाने संसदीय अभ्यास हो । 

इटहरी उपमहानगरपालिकामा पनि यहि संसदीय अभ्यासलाई अपनाईएको देखिन्छ  अर्थात नगर सभामा राजश्व परामर्श समिति संयोजक तथा उपमेयर संगिता चौधरीले नै पेश गरेको देखिन्छ।

नगर सभामा पेश भएको आर्थिक ऐन २०८० लाई नगर सभाका सदस्यहरुले पास गरेको देखिन्छ । तर नगर सभाले पास गरेको आर्थिक ऐन र त्यसले बढाएको करको बिषयमा आफ्नो भुमिका नरहेको उपप्रमुख संगिता चौधरीले बताउँदै आउनुभएको छ।

आफु राजश्व परामर्श समितिको प्रमुख भएपनि आफुले कर नबढाएको उहाँको तर्क छ । शुक्रबारको पत्रकार सम्मेलनमा पनि उहाँले आफ्नो धारणा राख्दै कर बृद्धिमा आफ्नो कुनै भूमिका नभएको पुनः दोहोर्‍याउनुभएको छ। करको दर बृद्धि बारे आफुलाई कुनै जानकारी नभएको उपप्रमुख चौधरीको तर्क थियो। 

तर तत्कालिन नगर सभामा बिद्येयकप्रति फरक मत राख्ने, नोट अफ डिसेन्ट लेख्ने वा अन्य कुनै कारणले असन्तुष्टि दर्ज गर्ने यसको नैतिक जिम्मेवार नहोलान् । तर नगर सभामा उपस्थित हुने र विद्येयक पास गर्न हस्ताक्षर गर्ने सबै यसको नैतिक जिम्मेवार हुन। 

कसैले मलाई थाहा थिएन, मैले बिद्येयक पढेकै थिईन, मलाई जानकारी दिईएन भन्नु भनेको जनप्रतिनिधिहरुको नैतिकहिन कुकर्त हो । नैतिकताबाट भाग्नु हो । एमालेबाट निर्वाचित उपमेयर, वडाध्यक्षहरुले शुरुमा कर हामीले बढाएको होईन, मेयर हेमकर्ण पौडेलले बढाएका हुन भन्ने आरोप लगाका थिए।  

आफैले गरेको हस्ताक्षर प्रति आफैले नैतिकताको प्रश्न तेस्र्याएको देखिन्छ । कर बृद्धिको बिषयमा आफुहरु जिम्मेवार नभएको भन्दै पन्छिने जनप्रतिनिधिहरुको नैतिकता कति छ नगरबासीले बुझ्ने कुरा रह्यो। 

अंक गणितको तथ्यमा नैतिकताको कसी

इटहरी उप–महानगरपालिकामा उपमेयरसहित १४ वटा वडामा एमालेले जितेको छ । २०वटा वडा रहेको इटहरीमा मेयर सहित ५वटा वडामा कांग्रेसले जितेको छ। 

एउटा वडामा भने एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका रमेश चौधरी विजयी भएका थिए । उनी पनि अहिले एमालेमै फर्किएका छन्। इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुखसहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन। प्रमुखसहित ६जना नेपाली कांग्रेसबाट निर्वाचित सदस्य छन। राजश्व परामर्श समितिको संयोजक उपमेयर हुने व्यवस्था छ। यस हिसाबले कार्यपालिकामा एमालेको बहुमत छ। 

यता, १०४ जना नगरसभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित छन। २१ जना मात्रै नेपाली कांग्रेसबाट निर्वाचित सदस्य छन। यहाँ पनि एमालेकै बहुमत छ। 

यस अंकगणितलाई मान्ने हो भने कार्यपालिका र नगर सभामा एमालेको बहुमत छ। उपमहानगरबाट बन्ने हरेक ऐन, नियम, कानुन सबै पास गर्ने वा फेल गर्ने ल्याकत एमालेले राख्छ । आफुलाई चाहेको राम्रा काम वा कानुन एमालेले तयार गरी नगर सभाबाट पास गर्न सक्छ। 

यस्तो अंकगणितबाट पास भएको आर्थिक ऐनलाई हामीले पास गरेको हैन भन्न मिल्छ ? यो आफैमा एक गम्भिर प्रश्न हो । काम बिग्रँदा पन्छिने र राम्रो हुँदा मैले गरे भन्नु भन्दा, राम्रो नराम्रो दुवैको जस अपजस लिनुपर्ने अंकगणितले देखाउँछ। 

कर समायोजन समितिको प्रतिवेदनमा के छ ?

लामो समय करमा विवाद भएपछि २६ साउनमा उपमहानगरले वडा नम्बर ३का अध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा कर समायोजन र पुनरावलोकन समिति बनाएको थियो।

समितिमा वडाध्यक्ष सुवेदीसहित १,६ र १७ नम्बर वडाका वडाध्यक्ष सदस्यको रूपमा थिए । यस्तै कर बिज्ञको रुपमा इटहरी उप महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत गणेश प्रसाद दाहाल र पोषराज नेपाल सदस्य थिए।

भदौ मसान्त सम्मको समय सीमा दिइएको समितिले समय भित्र प्रतिवेदन बुझाउन सकेन । एक हप्ता ढिला गरी प्रतिवेदन बुझाएका संयोजक सुवेदी प्रतिवेदनले बिवादका धेरै कुरा समाधान गर्ने बताउनुहुन्छ। 

जनताले धेरै उठाएको सम्पत्ति करको बिषयलाई प्रतिवेदनले सम्बोधन गरेको संयोजक सुवेदीले बताउनुभयो। भूमि करमा त्यति धेरै जनतालाई दबाव नपर्ने गरी समायोजन गर्ने भनिएको उहाँले बताउनुभयो। भूमिकरको बिषयमा सामान्य हेरफेर गरेको उहाँले बताउनुभयो। सेवा दस्तुरमा केही अस्वभाविक कर बढेको थियो त्यसलाई प्रतिवेदनमार्फत सम्बोधन गरेको संयोजक सुवेदीले जानकारी दिनुभयो। 

यता, नागरिकको तर्फबाट आवाज उठाउँदै आएको नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराई नागरिकको आर्थिक स्थितिले नभ्याउने, क्षमताले नभ्याउने कर बृद्धि गर्नु नहुने बताउनुहुन्छ। अहिलेको समयमा सबै नागरिकहरु सचेत रहेको, बिकास निर्माणका लागि कर तिर्न तयार भएपनि अस्वभाविक र क्षमताले नै नभ्याउने गरी कर बढाउनु भन्दा नागरिकले तिर्न सक्ने गरी बृद्धि गर्नु उपयुक्त हुने अध्यक्ष भट्टराईको भनाई छ। 

स्थानीय सरकार नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार हो । त्यस हिसाबले पनि नागरिकले स्वीकार गर्न सक्ने ढंगले करको बिषयलाई समाधान गर्नुपर्ने अध्यक्ष भट्टराईले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved