सिसि क्यामराको निगरानीमा इटहरी, ट्राफिक व्यवस्थापन र अपराध अनुसन्धानमा भरपुर सहयोग

  • प्रकाशित मितिः माघ १४, २०८०
  • 223 पटक पढिएको
  • जीवन फुयाँल

इटहरी/ गत मंसिर १८गते रातको २बजे इटहरी उपमहानगरपालिका ९ स्थित नविल बैंक इटहरी शाखाको एटिएम काउन्टरमा एक युवक प्रवेश गरी त्रिशूलले एटिएम मेसिन फुटाउन थाले। 

पैसा चोरी गर्न एटिएम मेसिन तोडफोड गर्न थालेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले चोरी प्रयास गर्दा गर्दै पक्राउ गर्न सफल भयो। एटिएम मेसिनबाट पैसा चोरी हुनबाट जोगियो। 

यस्तै, गत कात्तिक २८ गते इटहरी ४ बस्ने मनमाया गुरुङको घरको कम्पाउन्ड भित्र राखिएको साइकल चोरी भयो। उनले प्रहरीमा जानकारी गराइन। प्रहरीले सिसिटिभी फुटेजका आधारमा इटहरी उपमहानगरपालिका वडा न. १० डुमरकटा बस्ने ३९बर्षका मनोज कार्कीलाई चोरी भएको साइकलसहित पक्राउ गर्न सफल भयो । चोरीमा संलग्न कार्कीलाई कानुनी कारबाही भयो। 

यी दुई घटना इटहरीका प्रतिनिधि घटना मात्र हुन्। जो सिसि क्यामराका कारण समाजमा हुने आपराधिक तथा अवाञ्छित कार्यलाई रोक्न र शान्ति सुरक्षा कायम गर्न सफल भएका छन्। व्यापारिक ट्रान्जिट शहर इटहरी, कोसी प्रदेशकै व्यस्त शहर हो । मानिसहरुको आवतजावतले मात्रै नभएर आर्थिक तथा वित्तीय कारोबार गर्ने मुख्य थलो बनेको छ, इटहरी।

सुरक्षित शहरमा मात्रै आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि हुन्छन्। सुरक्षित ठाउँमा नै व्यवसायीक कारोबार गर्न व्यापारी,व्यवसायी,ठुला बैङ्क वित्तीय संस्थाहरु जान्छन्। यस्ता संघ संस्थालाई आकर्षित गर्न र टिकाई राख्न सुरक्षाको प्रत्याभूति दिनैपर्छ। 

शहरको सुरक्षामा संवेदनशील बन्दै इटहरी उपमहानगरले मुख्य दुई पक्षमा जोड दिएको छ। पहिलो, सुरक्षित र शान्त शहर, दोस्रो अपराध न्यूनीकरण र नियन्त्रण। झट्ट सुन्दा प्रहरी प्रशासनको काम लागे पनि त्यसमा स्थानीय सरकारले सहयोगीको भूमिका निर्वाह गरेको इटहरी उपमहानगरले बताएको छ। 

उपमहानगरले शहरलाई सुरक्षित राख्न सिसि क्यामरा जडानलाई तीव्रता दिएको छ। सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै इटहरी उपमहानगरपालिकाले सिसि क्यामरा जडान गर्न थालेपछि  सुरक्षित महसुस गर्न थालिएको छ। यहाँका व्यापारी, व्यवसायी, बैंक वित्तीय संस्था, अन्य व्यवसायीक संस्थाहरूले आफ्ना गतिविधि गर्न सुरक्षित महसुस गर्न थालेका छन्। 

सिसिक्यामराबाट मनिटरिङ

अहिले इटहरीको पूर्वपश्चिम, उत्तर दक्षिण हाइवे, मुख्य बजार, व्यस्त बजार र सार्वजनिक स्थललाई सिसि क्यामराले निरन्तर निगरानी गर्दै सुरक्षा दिईरहेका छन्। इटहरीमा हाइवे, मुख्य बजार, चल्तीका व्यस्त बजार, सार्वजनिक स्थल देखी इटहरी ६का भित्री सडकहरू सम्म गरी कुल ८०भन्दा बढि सिसि क्यामरा जडान भएका छन्। 

इटहरीको हाइवे दक्षिण पश्चिम ८ वटा, पूर्व उत्तरमा ८ वटा सिसि क्यामराले हाइवेको निगरानी गर्छन्। इटहरीका व्यस्त बजारहरू आइतबारे क्षेत्रमा ८वटा, वि.पि चौक क्षेत्रमा ६ वटा, नेशनल गल्लीमा ८ वटा, बुधबारे हटिया लाइन एरियामा ६ वटा, सदकार्य टोलमा ६वटा, संगित चौक, पारुहाङ चौकमा ४,४ वटा क्यामरा जडान गरिएको छ। 

जडान भएका सिसि क्यामराको व्यवस्थापन, इलाका प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालय र वडा नम्बर ६ले गर्ने गरेको छ। बिभिन्न स्थानमा जडान भएका सिसि क्यामराको डिस्प्ले मोनिटर तथा कन्ट्रोल निश्चित स्थानमा राखिएको छ।

मुख्य रुपमा इलाका प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालयमा मोनिटर कन्ट्रोल रुम राखिएको छ। यी बाहेक अन्य ठाउँका क्यामराको डिस्प्ले मोनिटर नजिकका कुनै सरकारी कार्यालय वा व्यवसायीसँगको सहकार्यमा राखिएको छ। 

डिस्प्ले मोनिटर कन्ट्रोल रुम राखिएको ठाउँमा २४सै घण्टा बिजुली तथा इन्टरनेटको सुविधा हुने ठाउँमा राखिएको छ। यस्ता कन्ट्रोल रुममा पासवर्ड राखिएको छ। जसको जानकारी इलाका प्रहरी र वडा कार्यालयका प्राविधिकलाई मात्र हुन्छ। फुटेजको सुरक्षा र गोपनीयतामा विशेष ध्यान दिएर प्रहरी र वडा कार्यालयलाई मात्रै पासवर्डको अधिकार दिएको छ।  

अपराध नियन्त्रण र अनुसन्धानमा सहयोगी 

दैनिक विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको अनुसन्धान गर्न सिसि क्यामराले प्रहरीलाई सहज बनाइदिएको छ। बजारमा शान्ति सुरक्षा कायम राख्न देखी लिएर बिभिन्न समयमा हुने राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गरी व्यवस्थापन गर्न पनि सिसिक्यामरा सहयोगी बनेको प्रहरी अधिकारीहरू बताउँछन्। 

इटहरीमा हुने बिभिन्न अपराधका घटना देखी लिएर चोरीका घटनाको अनुसन्धान तथा अध्ययन गर्न सिसिटिभी फुटेज ठुलो प्रमाण बन्ने गरेको छ। विशेष गरी चोरीका घटनामा चोरको पहिचान गर्न सिसिटिभी फुटेजले धेरै सहज भएको इटहरी प्रहरीको भनाई छ। इटहरीमा चोरीका घटनामा संलग्नको पहिचान गर्ने र पक्राउ गर्न सिसिक्यामराले सहज बनाइदिएको इलाका प्रहरी कार्यालयका डिएसपी टेक बहादुर कार्कीले बताउनुभयो।

इटहरी ४को चोरी र इटहरी ९को एटिएम मेसिन तोडफोडको घटना दुवै सिसिटिभी फुटेज हेरेर नै दोषीलाई पक्राउ गर्न सफल भएको डिएसपी कार्कीले बताउनुभयो। अन्य प्रकृतिका अपराधमा प्रमाणहरूको खोजीमा सिसिटिभी फुटेज प्रमाणको रूपमा काम गर्ने डिएसपी कार्कीले बताउनुभयो। 

इटहरीमा थोरै जनशक्तिमा सम्पूर्ण बजारको निगरानी गर्न समस्या हुने गरेको अवस्थामा सिसिटिभी क्यामराले सहयोग पु¥याएको उहाँको भनाई छ। कार्यालयको कन्ट्रोल रुममा भएका सिसि क्यामरा हेरेर पनि धेरै कुराहरु निगरानी गर्ने गरिएको उहाँको भनाई छ । 

ट्राफिक व्यवस्थापनलाई सहज बनाउँदै  

सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा सो घटनामा संलग्नको पहिचान तथा कारबाही गर्न इटहरीमा जडान भएका सिसि क्यामराले सहज बनाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले बताउनुभयो। मुख्य गरी सवारी दुर्घटना हुँदा दुर्घटना गरी फरार भएका सवारी साधन तथा चालकलाई पक्राउ गर्न सिसि क्यामराले सहयोग पु¥याएको प्रमुख पौडेलले बताउनुभयो। 

इटहरीको मुख्य चौकमा रहेका सिसि क्यामराले बजार क्षेत्रमा हुने सवारी दुर्घटना तथा अन्य सवारी नियम उलंघन गर्नेलाई पक्राउ गरी कारबाही गर्न सहज भएको ट्राफिक प्रहरीको भनाई छ। ट्राफिक कार्यालयमा रहेका सिसि क्यामरा र लाइटको सिस्टमको कन्ट्रोल रुमबाट इटहरीको मुख्य चौक तथा हाइवे क्षेत्रको प्रत्यक्ष निगरानी भईरहेको हुन्छ। हाइवेमा जडान भएका सिसि क्यामराले पूर्वपश्चिम तथा उत्तर दक्षिण क्षेत्रमा हुने सवारी दुर्घटनाको पहिचान गर्न सहयोग पुगेको प्रमुख पौडेले बताउनुभयो। 

गत मंिसर १९गते राती ११ः५० बजे इटहरी ४ मिलन चौकमा हाइवेमा पूर्वबाट आउँदै गरेको को १ख ६०३४ नम्बरको ट्रकले बुढिखोलामा चेकजाँच गर्न बसेका प्रहरी हवल्दार कमल प्रसाद शर्मालाई नै ठक्कर दिएर भाग्यो। फरार भएको ट्रकलाई सिसि क्यामराको फुटेज हेरेर पक्राउ गर्न ट्राफिक सफल भयो। धनकुटा पख्रिबास ९बस्ने ३०बर्षका अर्जुन तामाङलाई इटहरी २०बाट प्रहरीले पक्राउ गर्न सफल भयो। उनलाई कानुन बमोजिम कारबाही गरियो । 

केहिदिन अघि सिसिटिभी क्यामराको मद्दतले दुर्घटना गराएर फरार भएको सवारी साधनको पहिचान गरी पक्राउ गर्न सफल भएको ट्राफिक कार्यालयले जनाएको छ। माघ ५ गते दुहबी ८मा नम्बर नखुलेको कारले साइकल यात्रीलाई ठक्कर दिएर फरार भयो। घाइतेको उपचारको क्रममा मृत्यु भयो। सिसिटिभी फुटेजका आधारमा ट्राफिक प्रहरीले दुर्घटना गराउने सवारी साधनलाई धरानबाट पक्राउ गर्न सफल भयो। यी दुई घटना जस्ता थुप्रै सवारी दुर्घटनाका मुद्दामा प्रहरीले सिसिटिभीको मद्दतले दोषीलाई पक्राउ गरी कानुनी कारबाही गरेको छ। 

पछिल्लो समय सिसि क्यामरा फुटेजकै आधारमा २१वटा घटनामा अनुसन्धान गरी ट्राफिक प्रहरीले दोषीलाई कारबाही गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ। यात्रा गर्ने यात्रुको छुटेका सामानहरू सिसिटिभी फुटेज हेरेर ३७जना यात्रुको सामान फिर्ता दिएको छ। यस्तै ३ जना यात्रुको नगदसहितको सामान फेला पारेर सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो। इटहरीमा ३० क्यामरा निगरानी गर्ने यस कार्यालयले कोसी प्रदेश भरीमा भने कुल ११७ वटा सिसिक्यामरालाई मनिटरिङ गर्ने गरेको छ।

हराएको सामान खोजी गरिदिन वडा अध्यक्षलाई फोन 

इटहरीमा कुनै सामान हराए वा कुनै ठाउँमा चोरी भए खोजी गरिदिनुप¥यो भन्दै वडा नम्बर ६का अध्यक्ष दिवस पोख्रेललाई फोन आउँछ। सिसिक्यामरा जडान अभियान चलाएपछि अध्यक्ष पोख्रेललाई बिशेष गरी बजार क्षेत्रमा हराएको सामान खोजी गरिदिनुप¥यो भन्दै धेरैले फोन गर्छन। 

उहाँ पनि सेवाग्राहीको समस्यालाई बुझेर सम्बन्धित ठाउँको सिसिक्यामरा फुटेज हेरेर हराएको सामान खोजेर हस्तान्तरण गरिदिनुहुन्छ। पछिल्लो समय सिसिक्यामरा जडान भएपछि सामान हरायो भन्दै मानिसहरू उहाँलाई भेट्न वडा कार्यालय सम्मै पुग्छन्। 

सुनसरीको चतरा घर भएकी एक महिलाको करिब ४० हजार बराबरको कस्मेटिक सामान खरिद गरी घर जाने क्रममा म्याजिकमा छुट्यो। ती महिलाले रुँदै वडा अध्यक्ष दिवस पोख्रेललाई फोन गरेर घटना सुनाउनुभयो। खोजी गर्दा नभेटेपछि घरमा गाली गर्छन् भनेर उहाँ घर नगई रातभर इटहरीमै बसेको बताउनुभयो। भोली पल्ट त्यस क्षेत्रलाई कभर गर्ने सिसिक्यामराको फुटेज हेर्दा उहाँ चढेको म्याजिक देखियो। म्याजिक सञ्चालकसँग कुरा गरेपछि सञ्चालकले सामान ल्याइदिए।

सामान ल्याइदिए पनि म्याजिक सञ्चालकको नियत साफ देखिएन। हराएको सामान उनले प्रहरीमा बुझाएका थिएनन्। आइन्दा यस्तो गल्ती नगर्ने गरी एक पटकलाई भनेर सम्झाएर छाडिदिएको वडा अध्यक्ष पोख्रेलले बताउनुभयो।

यस्तै अर्को घटना सुनाउनुभयो वडा अध्यक्ष पोख्रेलले। इटहरी आइतबारे घर भएकी एक बिद्यार्थी काठमाण्डौबाट इटहरी ओर्लिएर सिटिरिक्सा चढिन्। उनी घर पुगेको केही समय पछि थाहा भयो, ल्यापटप र डकुमेन्ट भएको ब्याग सिटिरिक्सामै छुटेछ। खोजी गर्दा नभेटेपछि उनी प्रहरीका कहाँ गइन् तर प्रहरीले जति चासो दिनुपर्ने त्यति दिएन।

त्यसपछि उनले वडा अध्यक्ष पोख्रेललाई फोन गरिन् र घटना सुनाइन। वडा अध्यक्ष पोख्रेलले विपी चोकबाट सिसिक्यामरा फुटेज फलो गर्दा सिटिरिक्सा सब्जीमण्डीको बाटो हुँदै आइतबारे गएको देखियो।

सिटिरिक्सा चालकहरुसँग कुरा गर्दै सामान फिर्ता गरिदिन नभए कानुनी कारबाही गर्ने पोख्रेलले बताउनुभयो २ घण्टा पछि सिटिरिक्सा चालकले सामान ती बिद्यार्थीको घरमै पु¥याइदिए । तर सामान पाएको ती विद्यार्थीले फेरी वडा अध्यक्षलाई जानकारी गराइनन्। किन जानकारी नगराएको भन्दा आफूबाट गल्ती भएको उनले स्वीकार गरिन् पछि सामाजिक सञ्जालमा आफूले हराएको सामान भेटिएको भन्दै सतर्कता अपनाउन उनले पोस्ट गरिन्। 

यी घटना जस्ता थुप्रै फोन अहिले आफूलाई आउने गरेको वडा अध्यक्ष पोख्रेल बताउनुहुन्छ । कतिपय घटना सामाजिक सञ्जालमा पनि राखिदिने गरेको उहाँले सुनाउनुभयो। मुख्य रूपमा इटहरी बजारमा सबै सिसि क्यामराको निगरानीमा हुनुहुन्छ भन्ने सन्देश दिन पनि यो आवश्यक भएको उहाँको भनाई छ। 

सिसि क्यामराको निगरानीमा छ भन्ने थाहा भएपछि आपराधिक गतिविधि तथा अवाञ्छित गतिविधि नियन्त्रणमा आउने उहाँको भनाई छ। वडा कार्यालयको पहलमा उहाँ आफैले सिसि क्यामरा जडान अभियान चलाएको बताउनुहुन्छ । हाल सम्म करिब २५ लाख बराबरको सिसिक्यामरा जडान गरिसकेको उहाँले सुनाउनुभयो। इटहरीका अझै केही व्यस्त सार्वजनिक स्थलमा क्यामरा जडानको योजना रहेको उहाँले सुनाउनुभयो।  

व्यवस्थापनको चुनौती 

इटहरी बजारसहितका अन्य ठाउँमा राखिएका सिसि क्यामराको दीर्घकालीन व्यवस्थापन भने चुनौतीपूर्ण नै देखिएको छ। सडकका पोल, सार्वजनिक स्थलमा राखिएका क्यामरा घामपानीलगायत अन्य बिविध कारणले बिग्रने सम्भावना हुन्छ। त्यसको नियमित मर्मत सम्भार गर्नुपर्ने हुन्छ। यसका लागि नियमित आर्थिक श्रोत नहुँदा समस्या हुने गरेको छ। 

सिसि क्यामरा राखिएपनि त्यसको नियमित मर्मत तथा सम्भार नहुँदा र बिग्रिएको बेला कसले बनाउने भन्ने समस्या हुने गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले बताउनुहुन्छ।

व्यवसायीक संस्था तथा उपमहानगरले हाइवेमा सिसिक्यामरा जडान गर्ने तर त्यसको मर्मत सम्भारमा ध्यान नदिँदा समस्या हुने गरेको पौडेल बताउनुहुन्छ। 

प्रहरी उपरीक्षक पौडेलको जस्तै अनुभव छ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेक बहादुर कार्कीको पनि। इलाका प्रहरी कार्यालयले मोनिटरिङ गर्ने क्यामरा बिग्रिएको समयमा बनाउन समस्या हुने गरेको डिएसपी कार्की बताउनुहुन्छ।

सिसिक्यामराको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने दुई प्रहरी अधिकारीको सुझाव छ। सिसि क्यामराको दीर्घकालीन व्यवस्थापनका लागि उपमहानगरपालिकाले बजेट विनियोजन गर्नुपर्ने वडा अध्यक्ष पोख्रेल बताउनुहुन्छ। अल्पकालीन र दीर्घकालीन दुवै ढङ्गबाट आर्थिक श्रोतको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ। 

वडा न.६ मातहत रहेका क्यामराको मनिटरिङ गर्ने गरी वडा कार्यालयमै कन्ट्रोल रुम बनाउने योजना रहेको उहाँले सुनाउनुभयो। अब केही समय पछि सबै क्यामराको डिस्प्लेसहितको मनिटरिङ वडा कार्यालयबाट हुने उहाँको भनाई छ। वडा कार्यालयमा हुँदा सुरक्षा, बिजुली, इन्टरनेटलगायतले सहज हुने भएकाले यसो गर्न लागिएको उहाँले स्पष्ट पानुभयो। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved