काम नगर्ने ठेकेदार कम्पनीलाई कडाइ गर्दै उप-महानगर, सम्पर्कमा नआउनेलाई कालो सूचीमा राखिने

  • प्रकाशित मितिः माघ २१, २०८०
  • 137 पटक पढिएको
  • जीवन फुयाँल

इटहरी/ सडक तथा पूर्वाधार निर्माणका योजनाहरुको काम अलपत्र पार्ने निर्माण कम्पनीहरुलाईं कारबाही गर्दै कालोसूचीमा राख्न इटहरी उपमहानगरले स्पष्टिकरण सोधेको छ। बिभिन्न १४ वटा योजनाहरु अलपत्र अवस्थामा छाडेपछि उप–महानगरले किनकालो सूचीमा नराख्ने भन्दै स्पष्टिकरण सोधेको हो। 

पटक पटक सम्पर्क गर्दा तथा सार्वजनिक सूचना जारी गर्दा पनि सम्पर्कमा नआएको तथा निर्माणको काम पनि सुचारु नगरेको भन्दै इटहरी उप–महानगरले सार्वजनिक रूपमा स्पष्टिकरण सोध्दै कारबाही गर्ने चेतावनी दिएको हो।

माघ १० गते एक दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गर्दै १५ दिन भित्रमा स्पष्टिकरण पेस गर्न इटहरी उप–महानगरले भनेको छ। तोकिएको मितिमा सम्पर्कमा नआउने, स्पष्टिकरण पेस नगर्ने कम्पनिलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने चेतावनी दिएको छ।

कारबाहीमा पर्ने कम्पनीको जमानत जफत गरी बाँकी निर्माण कार्य गर्ने रकम समेत सो कम्पनीबाट नै असुल उपर गर्ने उपमहानगरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। 

ठेक्का सम्झौता भई निर्माण कार्य अधुरा रहेका, म्याद समाप्त भएका निर्माण कम्पनीहरूलाई ठेक्का सम्झौता अद्यावधिक गरी काम सुचारु गर्न गएको भदौ १ गते पनि सार्वजनिक सूचना प्रकाशित गरेको थियो। आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन उप–महानगरले सूचनामार्फत भनेको थियो तर त्यो बेला पनि कुनै निर्माण कम्पनीहरु उप–महानगरको सम्पर्कमा गएनन्। 

योजनाहरू अलपत्र छाडेर भाग्ने तथा सम्पर्क बिहिनहुने निर्माण कम्पनीहरूलाई पटक पटक आग्रह गर्दा पनि सम्पर्कमा नआएका कारण कारबाहिको प्रक्रिया शुरु गरिएको इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिनुभयो। 

यी हुन अलपत्र छाडिएका योजना

दुईबर्ष अघि इटहरीको थारु संस्कार संस्कृति सहित अन्य जातजाति भाषाभाषीहरूको कला र संस्कृतिलाई संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न आदिवासी जनजाति संग्राहलय निर्माण शुरु गरिएको थियो। १६ मंसिर २०७८ मा निर्माण सम्झौता भएर काम शुरु भएको यो संग्राहलय २५असार २०७९ मा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने हो तर यो संग्राहलयको कामहाल सम्म १६.७२ प्रतिशत मात्रै भएको छ।

Aadhibashi sangrahalaya

निर्माण अलपत्र पारिएको जनजाती संग्रहालय, तस्विर : इटहरी उपमहानगर

 

संग्रहालय बनाउने ठेक्का प्रेरा गिरी जे.भि हात्तिवनले पाएको थियो। निर्माण कम्पनीले संग्राहलयको बेसको काम र पिल्लर आधा ठड्याएर त्यसै छाडिएको छ। गर्दा गर्दैको काम त्यसै छाडेपछि संग्राहालय अलपत्र छ। अहिले सो क्षेत्र हेर्दै उराठ लाग्यो देखिन्छ।  

यस्तै, दुईबर्ष अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण भएर सञ्चालन हुनुपर्ने १५ बेडको इटहरी अस्पतालको भवन अझै निर्माण सकिएको छैन। अस्पतालको ६५ प्रतिशत काम भएको छ तर बाँकी गर्नुपर्ने ३५प्रतिशत काम कहिले सकिने हो टुङ्गो छैन।

अस्पतालको भवन ३०असार २०७८मा प्रतिष्ठा गिरी जे.भि कम्पनीले सम्झौता गरेरकाम शुरु गरेको थियो। इटहरी अस्पतालले अहिले पुरानो भवनबाटै सेवा दिई रहेको छ। साँघुरो जीर्ण भएको भवनबाट नागरिकलाई सेवा दिनुपर्ने अवस्था छ। भवनको अभावमा इटहरी अस्पतालले थप सेवा बिस्तार गर्न सकेको छैन्।

Itahari Hospital

निर्माण अलपत्र पारिएको इटहरी अस्पताल, तस्विर : इटहरी उपमहानगर

पर्याप्त ठाउँको अभावमा थप सेवाविस्तार गर्न नसकिएको अस्पतालका मे.सु डा.गुञ्जन त्रितालले बताउनुभयो। निर्माण हुँदै गरेको भवन चाँडै सकिए अस्पतालले थप सेवा विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो। 

स्मार्ट शौचालय बनाउने भनेर उपमहानगर गेट पूर्वपट्टि भवननिर्माण शुरु गरिएको थियो। भवन त बन्यो तर सञ्चालनमा आउन सकेन्। बाँकी काम त्यसै छाडेर ठेकेदार सम्पर्कबिहीन बनेपछि भवन अलपत्र छ। त्यो भवनमा अहिले माकुराले जालो लगाएको छ।

Smart Toilet _ Itahari

निर्माण अलपत्र पारिएको इटहरी उपमहानगर परिसरमा रहेको स्मार्ट शौचालय, तस्विर : इटहरी उपमहानगर

अन्य स्मार्ट शौचालय सञ्चालनमा आए तर यो स्मार्ट शौचालय अझै सञ्चालनमा आउन सकेको छैन। यो शौचालय निर्माणको ठेक्का सिराहाको अङ्कित कन्स्ट्रक्सनले पाएको थियो यो कन्स्ट्रक्सन कम्पनी पनि लामो समय देखी उप–महानगरको सम्पर्कमा छैन। 

Smart Toilet_ Itahari 1

निर्माण अलपत्र पारिएको इटहरी उपमहानगर परिसरमा रहेको स्मार्ट शौचालय, तस्विर : इटहरी उपमहानगर

इटहरी ६को मुख्यबजार भएर बग्ने टेङ्ग्राखोलामा वाल लगाएर कोरिडोर बनाउने र त्यसमा व्युटिफिकेशन गर्ने उपमहानगरको योजना छ। सोही बमोजिम भोजपुरको अनु निर्माण सेवा कम्पनी सँग उपमहानगरले सम्झौता गरेको थियो तर यो कामपनि शुरु हुनै सकेको छैन।  

इटहरी अस्पताल दक्षिणको सतन मार्गमा कालोपत्रे गर्ने काम बीचमै रोकिएको छ । ठेकेदारले २१ जेठ २०७९ मै कालोपत्रे गरिसक्नुपर्ने हो तर अहिले सम्म त्यहाँ कालोपत्रे गर्ने तयारी देखिँदैन। यहाँ केवल २४.१५ प्रतिशत मात्रै काम भएको इटहरी उप–महानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले जानकारी दिनुभयो। 

ठेकेदारले काम नगर्दा समस्या भएको स्थानियबासीले गुनासो गरेका छन्। यस्ता काम नगर्न ेकम्पनीलाई खारेज गरी अन्यकाम गर्ने कम्पनीलाई जिम्मा दिनुपर्ने स्थानीय रमेश चौधरीले बताउनुभयो। 

यी योजनासहित इटहरीका नगर स्तरीय सडक तथा पुल निर्माणका योजनाहरू अहिले ठेकेदारले काम नगर्दा अलपत्र छन्। नगर स्तरीय ७ वटा सडक ग्राभेल र कालोपत्रे, ३ वटा पुल निर्माणसहितका योजना अलपत्र छाडेर ठेकेदार उप–महानगरको सम्पर्कमा छैनन्। पटक पटक तागेता गर्दा पनि सम्पर्कमा नआएको इन्जिनियर जीवन घिमिरेले जानकारी दिनुभयो।

 यी ठेकेदार,जसले काम पुरा गरेनन्  

इटहरीका बिभिन्न १४वटा योजना अन्र्तगत निर्माणको कामलाई अलपत्र पार्ने ६वटा कम्पनी छन् । त्यस मध्ये धेरै योजनाहरू लिने तर काम नगर्ने कम्पनि भने गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवन हो। यो कम्पनीले बिभिन्न ५ वटा योजनाको निर्माण ठेक्का पाएको थियो तर सबै काम आधा मात्रै भएका छन्। 

इटहरी १४, हुलाकी सडक राधाकृष्ण मार्ग, स्कुल टोल कालोपत्रे सडक योजना, इटहरी १७ को लविपुर मझरा कालोपत्रे सडक योजना, इटहरी १८,जातपुर बिसनपुर सडक ग्राभेल तथा प्रोटेक्सनवाल निर्माण योजना, इटहरी १७ र १९ जोड्ने बिसनपुर अमाहा जोड्ने कालोपत्रे सडक योजना र इटहरी ८को सतनमार्ग कालोपत्रे सडक योजना गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवनले ठेक्काको लिएको छ तर कुनै काम पुरा गरेको छैन। 

यसैगरी इटहरी १० को बहुजातीय संग्राहलय प्रेरा गिरी जे.भि हात्तीवन र इटहरी ९ स्थित १५बेडको इटहरी अस्पतालको भवन प्रतिष्ठा गिरी जे.भि कम्पनीका ठेकेदार पनि गिरी कन्स्ट्रक्सनका ठेकेदार एकै हुन्। ठेकेदार एकै तर कम्पनी फरक पारेर ठेक्का लिएका हुन्। यसरी एउटै ठेकेदारले बिभिन्न ७ वटा निर्माणको ठेक्का लिएको र कामै नगरी अलपत्र पारेको देखिएको छ। यी सबै कम्पनीका ठेकेदार इटहरीबासी कुमार गिरी हुनुहुन्छ। 

ठेकेदार कुमार गिरीले समयमा भुक्तानी नपाएका कारण काममा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्माण सामाग्रीको मूल्य बढेकाले समेत समस्या भएको छ। मैले यहि कुरा स्पष्टीकरण पत्रमा लेखेर पठाएको छु।’

यस्तै अन्य योजना अलपत्र पार्ने अर्को कम्पनि सिराहाको अङ्कित कन्स्ट्रक्सन प्रा.लि हो। यो कम्पनीले स्मार्ट सार्वजनिक शौचालय र इटहरी १६को हक्राहा खोलाको बक्स पुल निर्माणको काम बीचमै छाडेर सम्पर्क बिहीन भएको छ। 

भोजपुरको अनु निर्माण सेवाले पनि २ वटा योजनाको काम गर्छु भनेर काम गरेको छैन । इटहरी २० को धन पुरी मार्गको कालोपत्रे योजना र टेङ्ग्राखोला कोरिडोरमा रिटर्नीङ वाल लगाउने काम हुन सकेको छैन। 

खनार प्रहरी चौकी–भानु मार्ग भारबी रोड कालोपत्रे योजना आर वन कन्स्ट्रक्सन र घोईन्डा खोलाको पुल निर्माण इटहरी १६को योजना एम के कन्स्ट्रक्सन सिराहाले अलपत्र छाडेका छन्। इटहरी १५ स्थित भोटिया खोलामा पुल बनाउने ठेक्का पाएको भैरव नारायणम जे.भि नेपालगञ्जले काम गर्न सकेको छैन।

एकभन्दा बढी ठेक्का लिने तर काम नगर्ने कम्पनीहरूलाई कारबाही गरिने इटहरी उप–महानगरका नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो। कानुनले दिएको अधिकार प्रयोग गरी तोकिएको मितिमा स्पष्टीकरण नदिने तथा सम्पर्कमा नआउने कम्पनीलाई कारबाही गर्ने उहाँले बताउनुभयो।

कानुनको छिद्र प्रयोग गर्दै एक भन्दा धेरै ठेक्का लिने, योजना बिट गर्दा कम रेटमा विट गर्ने, कामै नगरी बीचमै छाडेर अलपत्र पार्ने, ढिलो काम गर्दै अल्झाएर म्याद मात्रै थप गर्न लगाउने ठेकेदारहरूको नियत नै ठिक देखिँदैन। यस्ता गलत ढङ्गबाट काम गर्ने कम्पनीहरूलाई कारबाही गर्नुपर्ने आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved