संयुक्त पहिचानवादी मोर्चाको घोषणा:
एकल जातिय राज्य, भ्रष्टाचार, असमानता, सबैखाले विभेद र अन्याय विरुद्ध लड्दै देश जिम्मा लिन सक्षम राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नको लागि संयुक्त पहिचानवादी मोर्चाको घोषणा
प्रेस विज्ञप्ति
नेपालमा विभिन्न जनसंघर्षहरुले राणा शासन, पन्चायत र राजतन्त्र अन्त्य गरे पनि कायमै रहेको एकल जातिय राज्यले भ्रष्टाचार, विभेद र असमानता व्यापक बनाएको र देशलाई समृद्ध हुनबाट अवरोध सृजना गरेको छ । नश्लवादी ठुला दलका नितिगत भ्रष्टाचार र दलाल पुँजीपति पोश्ने नीतिका कारण लाखौ नेपाली युवाहरु विदेशिन बाध्य छन् । विशेष गरि ठुला दलको संरक्षणमा खुलेआम सहकारी काण्ड, मिटर ब्याज, लघु वित्त लगायत थुप्रै कान्डमा सर्वसाधरण नागरिकहरुको शोषण गर्ने गतिविधिहरु फस्टाएको छ। लाखौ नागरिकहरु पिडित भएपनि राज्य अमुक दर्शक मात्र बनेको छ । यस्ता विकृति र विसंगतिहरु बढाउन र निरन्तरता दिन नेपालका कथित ठुला दलहरुको उल्लेखनिय हात रहेको कुरा आम नागरिकहरु बिच दिनानुदिन छर्लङ्ग हुँदैछ र नागरिकहरु तिनका विरुद्ध उत्रन थाली सकेका छन् । ती भ्रष्ट नेता र दलहरुबाट देश समृद्ध नहुने घट्नाक्रम र इतिहासले प्रष्ट पारी सकेको छ।
सांस्कृचिक विविधताले भरिपुर्ण समाजमा बहुसांस्कृतिक, बहुराष्ट्रिय र बहुल राष्ट्रिय राज्य स्थापना गर्न, पहिचानमा आधारित न्युनतम १० प्लस १ सक्कली संघीयता सुनिस्चित गर्न, भ्रष्टाचार नियन्त्रण तथा शुसाशन स्थापना गर्न, देशमा समृद्धिको लहर ल्याउन र सर्वसाधरण नेपालीहरुको कल्याण गर्न एउटा इमानदार, जनमुखी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यकता नागरिकहरुले महसुस गरेका छन् । त्यही टड्कारो आवश्यकता पूरा गर्नको लागि देशमा विस्तारित तर छरिएर रहेका पहिचानवादी संगठनहरु र अभियन्ताहरुलाई एक ठाउँमा ल्याउदै पाँच महिना भित्र देश जिम्मा लिन सक्षम राजनीतिक शक्ति निर्माणको शुरूवात गर्नको निमित्त पुष ११ गते धरानमा बसेको पहिचानवादी मोर्चा, नेपाल जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं. १ समिति र प्रदेश नं. १ पुन: नामङ्कन अभियान समितिको बैठकबाट संयुक्त पहिचानवादी मोर्चा गठन गर्ने निर्णय भयो। हाल चार संगठन बीच मोर्चा निर्माण भएको र पछी अन्य संगठनहरुलाई पनि समावेश गर्दै लागिने निर्णय भएको छ।
उक्त बैठक डकेन्द्र सिंह थेगिम संयोजक, मधुराज केरुङ सदस्य सचिब र केदार धिमाल सदस्य रहेको पहिचान पक्षधर राजनीतिक संगठनहरुको एकीकृत शक्ति निर्माण अन्तर संवाद समितिको सहजिकरणमा बसेको थियो।
बैठकले नयाँ दल निर्माणसम्मको लागि चक्रीय प्रणालीको आधरमा डकेन्द्र सिंह थेगिमको संयोजकत्वमा मोर्चाको ४ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरेको छ। विचारधारा, कार्यदिशा, सांगठनिक संरचना आदि छलफल गर्दै टुंगो लगाउन कार्यदल पनि निर्माण गरेको छ । उक्त कार्यदलमा राष्ट्रिय मुक्ति पार्टीको पनि प्रनिनितिनिधित्व रहनेछ। साथै देशै भरी टोल तहसम्म एक संयोजक, सहसंयोजकहरु र एक सदस्य सचिब र विभिन्न विभागहरु सहितको संयुक्त पहिचानवादी मोर्चा गठन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले मोर्चाको तर्फबाट मुक्कुमलुङ आन्दोलन परिचालन समिति संयोजकमा रामभक्त कुरुम्बाङ साथै सहसंयोजकहरु सरु सिंघक र दिलेन्द्र कुरुम्बाङ, र कोशी नामकरण विरुद्ध आन्दोलनमा मोर्चाको तर्फबाट आन्दोलन परिचालन समिति संयोजक केपि पालुङवा साथै सहसंयोजकहरु जेन्टल लावती, केदार धिमाल, गजेन्द्र पालुङवा, धनबहादुर पन्धाक चयन गरिएको छ। संघर्षको जगमा देशभर चलिरहेका संघर्षहरुलाई जोड्दै मजबुत विकल्प सहितको जनविद्रोहको जग निर्माण गर्दै तेस्रो जनआन्दोलनको तयारी गर्दै मोर्चा अगाडि बढ्ने छ ।
असमानता र अन्याय विरुद्ध दलित/शिल्पी, मधेशी, आदिवासी जनजाति तथा मुलवासी, अल्पसंख्यक धर्मावलम्बी, महिला तथा अन्य लैङ्गिक समुदायहरु तथा मिटर ब्याज, सहकारी ठगी र लघु बित्त आदिबाट पिडित नागरिकहरुले देशको विभिन्न भागमा उठाइरहेका आन्दोलनहरुमा पनि संयुक्त पहिचानवादी मोर्चाले समर्थन र साथ दिने घोषणा गर्दछ।
नागरिक हितमा कार्यरत संगठनहरु, अभियन्ताहरु र स्वतन्त्र नागरिकहरु सबैलाई एकल जातिय राज्यको अन्त्य र अधिकार सम्पन्न पहिचान र ऐतिहासिक पृष्ठभूमिमा आधारित संघीयता, थोरै जनसंख्या भएका र छरिएर रहेका समुदायहरुको लागि विशेष स्वायत्त संरचनाहरु, जातीय, लैङ्गिक र वर्गिय जनसंख्याको आधारमा राज्यको सबै अंगमा समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्ष राज्य र गणतन्त्रको सुदृढीकरण र विधिको शासन स्थापित गर्दै नागरिक प्रती उत्तरदायी लोकतान्त्रिक राज्य स्थापना गर्दै प्रतिगमन विरुद्ध लड्न, भ्रस्टाचार नियन्त्रण गर्न र प्रतिस्पर्धात्मक निजि क्षेत्र, राज्य र नागरिकहरुको सक्रीय सहभागितामा देशमा द्रुत्ततर गतिमा समृद्धिको लहर ल्याउन यस महान ऐतिहासिक अभियानमा जोडिन हार्दिक आव्हान गर्दछौं ।
जय पहिचान !
प्रा. डा. महेन्द्र लावती
संघीय संयोजक, पहिचानवादी मोर्चा
केपि पालुङवा
अध्यक्ष, नेपाल जनमुक्ति पार्टी
डकेन्द्र सिंह थेगिम
संयोजक, प्रदेश नं. १ पुन: नामङ्कन अभियान समिति
ज्ञान बहादुर गुरुङ
संघीय अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं.१ समिति
२०८१ पुष १२,धरान
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved