इटहरी /इटहरी उपमहानगरपालिकाले यहाँका विभिन्न स्थानहरूमा स्थापना गरेको खुल्ला व्यायामशालामा नगरवासीको आकर्षण बढेको छ ।
पालिकाले विभिन्न वडामा खुल्ला व्यायामशालाहरू राखेपछि शारीरिक तन्दुरुस्त कायम राख्न बालबालिकादेखि वृद्धवृद्धासम्मको यसमै रमाइरहेका देखिन्छन् ।
मेयर हेमकर्ण पौडेलले बिकासलाई बाटोमा मात्र नजोडी स्वास्थ्य ध्यान दिन नगरबासीको लागि उपमहानगरपालिकाले ७१ लाख १९ हजारको लगानीमा खुल्ला व्यायामशाला सञ्चालनमा ल्याएको बताए।
पौडेलले सबै उमेर समूहलाई लक्षित गरेर व्यायामशाला सञ्चालनमा ल्याएको बताए ।
खुल्ला व्यायामशाला निर्माण गरेपछि स्थानीय युवा, तथा व्यायामप्रेमीहरूको आकर्षण बढेको उनको भनाई छ । व्यायामशाला स्थापना गरेको क्षेत्रमा घुमफिरसँगै कसरत गर्ने र व्यायाम गर्नेहरूको चाप बढ्दै गएको छ ।
पछिल्लो समय प्रायः सबै जना योगप्रति आकर्षित भइरहेको बेला घर नजिक स्थापना भएका यस्ता खुल्ला व्यायामशालामा गृहिणीहरूको समेत बाक्लो उपस्थिति देखिन थालेको बताइन्छ ।
खुला व्यायामशाला तौल घटाउने, शारीरिक तथा मानसिक तन्दुरुस्ती कायम गर्नेहरूका लागि उपयुक्त बनेको मेयर पौडेलको दाबी छ ।
टोल विकास र वडाको माग बमोजिम व्यायाम उपकरण वितरण गरिएको मेयर पौडेलले बताए ।
इटहरी ५ का कृष्ण माझीले खुला व्यायामशाला शारीरिक मात्र नभई मानसिक तनाव कम गर्न पनि उपयोगी रहेको बताए ।
‘म सधैँ यहाँ व्यायाम गर्न आउँछु, व्यायाम गर्न आउँदा मेरो छिमेकीहरू पनि आउनु हुन्छ । गफ हुन्छ, रमाइला कुराहरू हुन्छन्,’ उनले भने ।
इटहरी ५ नेप्से चोकमा खुल्ला व्यायामशालाको स्थापना भएपछि आफू दैनिक रूपमा व्यायाम गर्न आउने गरेको माझीले बताए ।
घर नजिकमा खुल्ला व्यायामशाला भएपछि चुलो चौकोमा व्यस्त हुने गृहिणीसमेत समय निकालेर व्यायाम गर्न जान थालेका छन् ।
आफू दैनिक रूपमा बेलुकाको समयमा व्यायाम गर्ने गरेको इटहरी ५ की हरिमाया मगर बताउँछिन् । ‘मोटोपन घटाउन एक्ससाइज गर्न आएको हुँ । दिन बिराउँदै म यहाँ नातिनीसँग आउँछु,’ मुस्कुराउदै उनले भनिन् ।
खुल्ला व्यायामशाला निर्माणपछि मोबाइलमा रमाउने बच्चाहरू पनि अहिले अभिभावकसँगै व्यायामशालामा आउन थालेको उनको भनाइ छ ।
अधिकांश युवाहरुको बिहान र साँझको दैनिकी व्यायामशाला आउने र कसरत गर्नेमै बित्ने गरेको स्थानीयवासीहरूको भनाइ छ ।
उपमहानगरपालिकाले खुल्ला व्यायामशाला स्थापना गरेपछि आफूले जिम जान छाडेको युवा दिनेश लिम्बूले बताए ।
‘म महिनाको एक हजार पाचँ सय रुपैयाँ तिरेर जिम जाने गर्थेँ । तर, यहाँ जिमको सामानहरू राखेपछि मैले पुस देखि जान छाडे । एक्ससाइज कसरी गर्ने भनेर थाहा छदैँछ । म त दिनको एक घण्टा यही खुल्ला व्यायामशालामा बिताउँछु,’ लिम्बूले भने ।
व्यायामशालामा बालकदेखि वृद्धसम्मका विभिन्न उमेर समूहका मानिस आफू अनुकूल समय मिलाएर शारीरिक अभ्यास गर्न आउने गर्छन् ।
अहिले सहर बजारमा शारीरिक कामहरू कम हुने भएकाले शारीरिक स्फूर्तिका लागि जिम हल जाने, मर्निङ वाक जाने लगायतका काम भइरहन्छन् । तर खर्च गरेर जिम हल जानेहरू पनि खुल्ला व्यायामशालातर्फ आकर्षित भएको वडा नं. १२ का वडा सदस्य संजय कुमार मिश्रले बताए ।
उनले भने, ‘ज्येष्ठ नागरिकहरू व्यायाम भन्दा पनि बढी मर्निङ वाक गर्न रुचाउँछन् । तर उनीहरूलाई हल्का फुल्का शारीरिक अभ्यासका लागि खुल्ला व्यायामशाला निकै प्रभावकारी भएको छ । मर्निङ वाक गरेर एकछिन् ब्यायाम गरेर उहाँहरु घर जानुहुन्छ ।’
पछिल्लो समय आयुर्वेद औषधी, योग, ध्यान तथा व्यायामशालाप्रति आकर्षण बढ्दो रहेको उनले बताए । खुल्ला व्यायामशाला आम नागरिकको पहुँचमा पुगेसँगै स्वास्थ्यप्रति नागरिक सचेतना वृद्धि हुने उनको जिकिर छ ।
हालसम्म इटहरीका ९ वटा वडाको १० ठाउँमा व्यायामशाला राखिएको इटहरी उपमहानगरपालिकाका मेकानिकल इञ्जिनियर रुपेश आचार्यले बताए ।
वडा नं. १, २, ५, ८, १२, १४, १५, १८, १९ का विभिन्न ठाउँमा निर्माण गरिएको छ ।
जस अन्तरगत वडा नं १ को कञ्चन चोक, वडा २ को शान्तिनगर सामुदायिक वन नजिक, वडा ५ को ज्योति मावि नजिक , इटहरी ८ को फूलबारी टोल, वडा १२ को वडा कार्यालय भन्दा पूर्व पट्टी नहरसँगै रहेको जग्गामा व्यायामशाला राखिएको छ ।
यसैगरी वडा १४ को गैसारमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा, वडा नं १५ को एकम्बा विद्यालयको प्राङ्गणमा, वडा नं १८ को इकाहा मन्दिर पूर्वपट्टी र वडा १९ को जब्दी स्कुल छेउमा र तामाङ टोलको खेलमैदान नजिकमा खुल्ला व्यायामशाला स्थापना भएको इन्जिनियर आचार्यले बताए ।
यसैगरी वडा नं ९ मा समेत व्यायामशाला राख्ने काम अगाडि बढाएको उनले बताए । खुल्ला व्यायामशालाहरूमा हात, खुट्टा, कम्मर, घाँटी, ढाड, पेट लगायत शरीरका विभिन्न अङ्गहरूको व्यायाम हुने अचार्यको भनाइ छ ।
उनका अनुसार ‘पुस अप बार,’ ‘सिङ्गल स्काईवाकर,’ ‘डबल एयर वाल्कर,’ ‘डबल सिट अप बोर्ड,’ ‘हर्ष राइडर’ लगायत १६ प्रकारका उपकरण रहेको उनले जानकारी दिए ।
‘एक सेटमा १६ वटा उपकरण छन् । व्यायामशाला स्थापना गरेको ठाउँमा एक सेटमा हुने सबै प्रकारका उपकरण राखिएको छ,’ इञ्जिनियर आचार्यले भने ।
इन्टर ट्रेड नेपाल विराटनगसँग ७१ लाख १९ हजार रुपैयाँमा व्यायाम उपकरण ल्याउने सम्झौता भएको उनले बताए । व्यायाम उपकरण बिग्रिएमा दुई वर्षको ‘वारेन्टी’ रहेको उनको भनाइ छ ।
इटहरी उपमहानगरले गत वर्षदेखि नै व्यायामशाला निर्माण कार्य सुरू गरेको हो । बाँकी रहेका वडाहरूमा आवश्यकता र माग बमोजिम व्यायाम पार्क निर्माण गर्ने उपमहानगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved