‘होटल चलाउनेले अर्काको होटलमा गएर खाना खाँदैन। आफ्नैमा खान्छ। अनि पो ग्राहकलाई हिच्किचाहट हुँदैन। नभए अरुले के विश्वासले त्यहाँ खाने?'
यो भनाइ हो, विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलको।
उनी सरकारी र निजी स्कुलबीच किन यति ठूलो खाडल छ भन्ने विषयमा हामीसँग कुरा गर्दै थिए।
'निजी स्कुललाई हेर्नुस्, प्रिन्सिपलदेखि शिक्षकहरु धेरैले आफ्ना केटाकेटी त्यहीँ पढाएका हुन्छन्। सरकारीमा यस्तो विरलै देखिन्छ,' उनले भने।
त्यही विरलमध्ये एक हो, विश्व निकेतन। यहाँ प्रधानाध्यापकदेखि सहायक प्रधानाध्यापक र २१ जना शिक्षकले आफ्ना छोराछोरी पढाउँछन्। स्कुलले राम्रो नतिजा ल्याउनुमा उनी यसलाई पनि मुख्य कारण मान्छन्।
यसपालि एसइईमा यहाँबाट १४८ जना सहभागी थिए। तीमध्ये 'ए प्लस' ल्याउने २० जना, 'ए' ल्याउने ४६, 'बी प्लस' ४५, 'सी प्लस' २९ र 'सी' ल्याउने ८ जना छन्। यसअघि २०७३ को एसइईमा १८४ जनामध्ये १७ जनाले 'ए प्लस' ल्याउँदा यो सामुदायिक विद्यालयतर्फ छात्रामा उत्कृट भएको थियो।
‘हामीले वार्षिक रुपमा नतिजा सुधार गर्दै लगेका छौं,’ प्रधानाध्यापक कँडेलले भने, 'बोकाको दाना खाएर हात्तीको जस्तो भारी बोक्ने हाम्रोजस्तो विद्यालयले यतिको नतिजा ल्याउनु कम्ति होइन। शिक्षकहरुले आफ्ना छोराछोरी पढाउन थाले मात्र सरकारी स्कुल सुध्रन्छ।'
'हामी विद्यार्थीसँग परीक्षा शुल्क मात्र लिएर पनि निजी विद्यालयको नतिजालाई चुनौती दिएका छौं,’ उनले भने।
उनको भनाइ विश्व निकेतन पढ्न विद्यार्थीहरुले देखाएको इच्छाबाट पनि झल्किन्छ।
यो वर्ष यहाँ ८ सय जनाले भर्ना हुन इच्छा देखाएकामा ४ सयले मात्र भर्ना पाएको उनले जानकारी दिए। तीमध्ये ३ सय ५० जना निजी स्कुल छाडेर आएका थिए।
यसमा प्रधानाध्यापक कँडेलको भनाइ यस्तो छ, 'सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिने हो भने निजी विद्यालयको रिस गर्न पर्दैन। हामी जति बलियो हुँदै जान्छौं, निजीको अस्तित्व विस्तारै धराशयी हुँदै जानेछ।'
‘निजी विद्यालयका विद्यार्थी भनेका ब्रोइलर कुखुरा हुन्। न उनीहरु आत्मरक्षा गर्न सक्छन्, न त मासु खान मिठो हुन्छ,’ उनले भने, ‘हामी विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन्छौं। किताबी ज्ञान बाहेकका विषयमा जोड दिन्छौं। त्यही भएर उनीहरु सबैतिर जान सक्छन्। सबै काम सजिलै गर्न सक्छन्।’
सात दशक पार गरेको यो स्कुल २०५३ सालतिर खस्किन थालिसकेको थियो। त्यसपछि प्रधानाध्यापक नरेशमान श्रेष्ठको पहलमा सुधारको प्रयास थालियो। अंग्रेजी माध्यममा पढाउन सुरु गरेको उनैले हो। यही कारणले २०६८ सालपछि स्कुलले काँचुली फेर्यो। त्यसयता क्रमिक रुपमा विद्यार्थी बढ्दै गएका छन्।
तीन वर्षदेखि जिम्मेवारी सम्हालेका कँडेलले थप सुधार अभियान सुरु गरे। यसले विद्यार्थी संख्या बढेर २ हजार ६ सय पुगेको छ।
स्कुलमा विद्यार्थीको आकर्षण र नतिजा बर्सेनि सुध्रिँदै जानुको कारण के हो?
पहिलो त उनी स्कुलका शिक्षकहरुले आफ्ना केटाकेटी यहीँ पढाउनुलाई मान्छन्।
दोस्रोमा सबै शिक्षकबीच 'टिम वर्क' को भावना रहेको बताउँछन्।
‘हामीमा ठूलो वा सानो भन्ने भावना छैन। म बोस वा मालिक हुँ भन्ने पनि छैन। कक्षा खाली नगरी पढाउँछौं। सबैसँग सल्लाह हुन्छ। सबैको सुझाव लिने गरेका छौं। दक्ष र तालिमप्राप्त शिक्षक छन्। प्रयोगात्मक कक्षा पनि उत्तिकै सञ्चालन हुन्छन्,’ उनले भने।
तेस्रो हो, यहाँ पढाइमा सुधार ल्याउन कक्षा शिक्षकहरुलाई मासिक तीन सय भत्ता दिने व्यवस्था गरिएको छ। अन्य शिक्षकलाई पनि महँगी भत्ता, खाजाभत्ता दिइन्छ। सरकारी विदामा पनि स्कुल आउने शिक्षकले एक दिन बराबर तलब पाउँछन्। बर्सेनि एक जना कर्मचारीसहित ५ जना शिक्षकलाई सम्मान गरिन्छ।
यसले पढाइका अतिरिक्त स्कुलको समग्र वातावरण राम्रो भएको कँडेल बताउँछन्।
‘हामीकहाँ विद्यार्थीलाई रुँदै आउनुपर्ने अवस्था छैन। आउँआउँ लाग्ने वातावरण छ। स्कुलमै बसिरहुँजस्तो लाग्छ। कतिपय विद्यालयमा विद्यार्थीले छुट्टी भएपछि बोझ हल्का भएको मान्छन्। हाम्रोमा त्यस्तो छैन। यसको कारण शिक्षक, यहाँको पढाइ र वातावरणले हो,’ उनले भने, ‘यसका लागि हामी हर्स राइडिङ, स्विमिङ पुल, लिफ्ट वा विदेश घुमाउन लैजाने व्यवस्था छ भन्दैनौं। विद्यार्थीलाई पढाइको राम्रो र रमाइलो वातावरण दिन्छौं।'
निजी स्कुलमा जस्तै यहाँ अनुशासनमा ध्यान दिइन्छ। विद्यार्थीलाई पोसाक अनिवार्य छ। हाजिरी पनि पुग्नुपर्छ। केही कारणले गयल भयो भने घरमा सोधपुछ गरिन्छ। परीक्षा पनि नियमित हुन्छ। नतिजा निकाल्ने बेला अभिभावक बोलाएर छलफल गरिन्छ।
कक्षा खाली हुन नदिन 'कन्ट्रोलर' को व्यवस्था गरिएको छ, जसले शिक्षक नआएका बेला छलफलको जिम्मा लिन्छन्। यो विद्यार्थीबाटै छानिन्छ। जस्तो, ९ बाट १० कक्षामा उक्लिँदा सबैभन्दा धेरै नम्बर ल्याउनेलाई कन्ट्रोलर बनाइन्छ। बद्मासी गर्नेहरुलाई यहाँ परामर्शको व्यवस्था पनि छ।
यस्ता विभिन्न क्रियाकलापले गत वर्ष यो नमूना विद्यालय घोषित भएको थियो। उत्कृष्ट विद्यालयका रुपमा राष्ट्रिय शिक्षा पुरस्कार पाएको थियो। यसले बस, छात्रावास र प्रयोगशाला विस्तार हुने भएको छ।
शिक्षक केदारप्रसाद दाहाल रमाइलो वातावरण र अनुशासनले विद्यार्थी संख्या वृद्धि भएको बताउँछन्। यहाँको पढाइ कस्तो छ भन्ने प्रश्नमा उनले भने, ‘हामी विद्यार्थीलाई माछा मारेर खान दिँदैनौं। बल्छी दिएर आफैं माछा मारेर खाऊ भन्छौं।’
‘हामीले लिने विद्यार्थी भनेको कलेक्सन हो, सेलेक्सन होइन,’ उनले भने, ‘ए प्लस ल्याउने खालका विद्यार्थी छानीछानी राख्ने निजी विद्यालयमा पनि सबैले राम्रो गर्न सकेका छैनन्। हामीकहाँ सबैथरीका विद्यार्थी पढ्दा पनि ९९ प्रतिशत राम्रो नतिजा आउने गरेको छ।’
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved