मोरङमा /भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन गरिएको छ । बेलबारी बहुमुखी क्याम्पस, बेलबारी, मोरङको सभाहलमा आयोजित एक कार्यक्रममा मोरङ जिल्लाका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका जुझारु व्यक्तित्वहरूको भेलाले उक्त साहित्यिक संस्थाको गठन गरेको हो ।
लेखक तथा अनुसन्धाता केशु विरहीको अध्यक्षतामा गठित तदर्थ समितिमा विष्णु भण्डारी आचार्य (उपाध्यक्ष), नवराज पोखरेल ‘नवशिला’ (सचिव), गीता कुलुङ राई (सहसचिव), चिरञ्जीवी काफ्ले (कोषाध्यक्ष) रहेका छन् ।
त्यस्तै ३ जना सदस्य पछि थप्ने गरी गठित १३ सदस्यीय समितिका सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, मनोस विश्वकर्मा, सिजन श्रेष्ठ, नवीन थापा क्षेत्री, लक्ष्मीप्रसाद फुयल आदि रहेका छन् । आज गठित "कोशी साहित्य कला प्रतिष्ठान नेपाल" तदर्थ समितिले यथासिघ्र यस संस्थाको विधान तयार गर्ने र सोही अनुरुप विधानत आफ्ना सम्पुर्ण गतिविधि हरुलाई कला, साहित्य र संस्कृति संग आवद्ध संघ संस्थाहरु संग परस्पर हातेमालो गरि ससक्त रुपमा अघि बढाउने बताईएको छ।
आजको तदर्थ समिति साहित्यिक भेला कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, अग्रज स्रष्टा रामविक्रम थापा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुली लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै रमेशचन्द्र अधिकारी, गीताप्रसाद श्रेष्ठ, यादव भट्टराई, दुर्गा न्यौपाने रूपाखेती, शान्ता भट्टराई, एकराज भट्टराई, लगायतका स्रष्टा तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
अक्षयकोष निर्माणमा संस्थाको विशेष जोड
आर्थिक कोषका अभावमा गठन भएको केही वर्षमै बन्द हुने कुरालाई मध्यनजर गर्दै आफूहरूको विशेष ध्यान संस्थाको अक्षयकोष निर्माणमा रहेको नव गठित तदर्थ समितिका सचिव नवराज पोखरेल ‘नवशिला’ ले बताए । वार्षिक रूपमा विभिन्न विधाका पुरस्कार वितरण गर्ने गरी संस्थालाई सञ्चालनका लागि एउटा मोटो रकमको साहित्यिक अक्षयकोषको निर्माणमा जुट्ने उनी बताउँछन् ।
हरेक साहित्यिक संस्थामा केही व्यक्ति मात्र हाबी हुने, सङ्घसंस्थालाई सीमित घेरामा कैद गर्ने, एउटै व्यक्तिले धेरै ठाउँको नेतृत्व ओगट्ने तर काम भने नगर्ने, कुनै पनि संस्थामा व्यक्तिको योगदान भन्दा पनि उसको राजनीतिक आस्थालाई मुख्य आधार बनाइने परम्परालाई तोड्दै योगदान र क्रियाशीलताका आधारमा सबैलाई समेट्दै पुरस्कृत तथा प्रोत्साहित गर्ने उद्देश्यले विशुद्ध साहित्यिक संस्थाको अवधारणामा यस संस्थाको स्थापना गरिएको तदर्थ समितिका अध्यक्ष केशु विरही बताउँछन् ।
उनी भन्छन्, ‘राजनीति यति हाबी भयो कि, कुनै संस्थामा को अध्यक्ष बन्ने, को सदस्य बन्ने भन्ने पनि केही मानिसको चाहनामा भर पर्न थाल्यो । योगदान तथा क्रियाशीलता भन्दा पनि उसको राजनीतिक आस्थालाई मापदण्ड बनाउन थालियो । पुरस्कार होस् या संस्थामा प्रतिनिधित्व गर्ने काममा होस् यिनै मापदण्ड बनाइएको पाइन्छ । जसले गर्दा साहित्यिक संस्थाहरू साहित्यिकजस्ता नभएर एउटा राजनीति पार्टीका भातृ सङ्गठन बन्न पुगे । अझ साहित्यले राजनीतिलाई निर्देशित गर्नुपर्नेमा राजनीतिले साहित्यलाई निर्देशित गर्ने काम भइरहेको पाइन्छ । तसर्थ यस्तो गलत परम्परालाई तोडेर साहित्यलाई साहित्यजस्तै बन्न दिने, साहित्यिक संस्थालाई विशुद्ध साहित्यिक बनाउने उद्देश्यले यस संस्थाको स्थापना गरिएको बताईएको छ। हाम्रो प्रयास हरपल यसैमा केन्द्रीत हुने छ भन्दै नव गठित "कोशी साहित्य कला प्रतिष्ठान नेपाल" ले आफ्नो भनाई आज भएको तदर्थ समिति गठन कार्यक्रम मार्फत सार्वजनिक गरेको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved