इस्कोनको वक्तृत्वकलामा सीबी कलेज प्रथम
- प्रकाशित मितिः भदौ ३, २०८२
- 500 पटक पढिएको
- समय अनलाइन
इटहरी । श्रीकृष्ण जन्माष्टमीको अवसरमा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) इटहरीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सीबी कलेज प्रथम भएको छ । इस्कोन इटहरीको तीन दिने विशेष धार्मिक तथा सांस्कृतिक महोत्सव कार्यक्रम अन्तर्गत शुक्रवार भएको प्रतियोगितामा सीबी कलेजकी छात्रा नंशाल तामाङ प्रथम भएकी हुन । प्रतियोगितामा विराटनगरको पूर्वाञ्चल ल क्याम्पसकी मनिका चौधरी दोस्रो र पिसजोन स्कुलका गीत कौर तेस्रो भए । सुष्मा गोदावरी कलेज इटहरीकी प्रर्चना पासवानले सान्त्वना स्थान हासिल गरिन ।
भागवत गीताको परिचय शीर्षकमा भएको वक्तृत्वकलामा उत्कृष्ट हुने उनीहरूलाई स्कोनद्धारा प्रकाशित विभिन्न धार्मिक ग्रन्थहरू पुरस्कारका रूपमा प्रदान गरिएको आयोजकले जनाएको छ । यसअघि स्कोन इटहरीले हिजो स्कुल स्तरीय प्रतियोगिता सम्पन्न गरेको थियो । तीन दिने कार्यक्रम अन्तर्गत वैदिक ग्रन्थ तथा चित्रकला प्रदर्शनी, विद्यालय स्तरीय वक्तृत्व प्रतियोगिता र शिक्षामूलक गतिविधि सञ्चालन गरिएको हो ।