काठमाडौं । संघीय संसदअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठक तीन जना सांसदले बहिष्कार गरेका छन् । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकबाट रास्वपा सांसद अमरेश कुमार सिंह, एमाले सांसद मोहम्मद ईश्तियाक राई तथा नेपाली कांग्रेसका सांसद निश्कल राई बैठक बीचमै बाहिरिएका हुन् ।
समितिको बैठकमा बनेपामा राखिएका सुकुमवासीहरूको अवस्थाबारे गरिएको अनुगमन प्रतिवेदनमाथि छलफल गर्ने तथा पूर्वाधारमन्त्रीसँग आवश्यक परामर्श गर्ने कार्यसूची तय गरिएको थियो । साथै मनसुन नजिकिँदै गएको अवस्थामा विपद् व्यवस्थापनसम्बन्धी सरकारको पूर्वतयारी, राहत तथा उद्धार योजनाबारे समेत छलफल गर्ने एजेन्डा रहेको थियो ।
बैठकका क्रममा बनेपामा सारिएका सुकुमवासीहरूको वर्तमान अवस्थाबारे पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छलफल भएको थियो । तर विपद् व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण विषयमा छलफल हुने समयमा सम्बन्धित कुनै पनि मन्त्री समितिमा उपस्थित नभएपछि सांसदहरूले आपत्ति जनाएका थिए ।
सांसदहरूले विपद् व्यवस्थापनजस्तो संवेदनशील र जनतासँग प्रत्यक्ष जोडिएको विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् । मन्त्रीहरू अनुपस्थित भएपछि बैठकको औचित्यमाथि नै प्रश्न उठेको भन्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।
बैठक बहिष्कारपछि सांसदहरूले सरकारको गैरजिम्मेवार कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संसदका समितिहरूलाई सरकारले आवश्यक महत्व नदिएको टिप्पणी समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved