हिमांशु राय-बेलबारी मोरङ/बेलबारी साहित्य विकास समिति,मोरङले बेलबारी निवासी राजु परियारको मुक्तकसङ्ग्रह `रापका ज्वारभाटा´ सार्वजनिक गरेको छ।
मुक्तक सार्वजनिक कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङले आदिम कालबाट मानव समुदायले सिर्जना र श्रम निरन्तर गर्दै आइरहेको हुनाले यति सुन्दर सिर्जनात्मक कार्य भइरहेको र यो कृतिले राजु परियारलाई ओजस्वी मुक्तककारको मान्यता प्रदान गरेको बताउनुभयो। शोषणरहीत समाज, विभेदरहीत समाज निर्माणका लागि `रापका ज्वारभाटा´जस्ता ज्वारभाटाहरू उत्पन्न गरिरहनुपर्ने बताउनुभयो।
बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले कृतिकार राजुजीले आफ्नो कृतिमा देशको इतिहासदेखि वर्तमानसम्मका विविध विषयहरूलाई समेटेर अलिकति पीडा,अलिकति आक्रोश,अलिकति ऊर्जाका रूपमा प्रस्तुत गर्नुभएको, र अब युवामा विकराल बन्दै गईरहेको लागू औषध प्रयोग तथा ग्लोबल वार्मिङ जस्ता महत्त्वपूर्ण सचेतनामुलक जल्दाबल्दा समसामयिक विषयहरुका बारेमा पनि साहित्यकारहरूले ससक्त कलम चलाउनुपर्ने बताउनुभयो।
विशिष्ट अतिथि ईरानराईले राजु परियार बहुपदीय मात्र होइन,बहुमुखी प्रतिभाका सर्जक भएको र उहाँको यो सङ्ग्रहमा राजनीति र सत्ताबारे १०२, सामाजिक विभेद बारे २०, मायाप्रेमबारे ६६, र विविध विषयहरूबारे २४४, गरी जम्मा ४३२,थान मुक्तकहरू सङ्गग्रहीत गरिएको जानकारी गराउनुभयो।
मुक्तकसङ्ग्रहबारे समीक्षात्मक टिप्पणी गर्दै विनोद विवश घिमिरेले कृतिमा केही कमीकमजोरीका बाबजुद धेरै राम्रा पक्षहरू र धेरै चोटिला मुक्तकहरू रहेको बताउनुभयो।
प्रलेस,कोसी प्रदेशका अध्यक्ष बिन्दु दाहाल मूकदर्शकले भावना,विषयवस्तु र सशक्त प्रस्तुतिका कारण राजुजीको यो कृति पहिलोजस्तो लाग्दैन, अनुभवी प्रगतिशील मुक्तककारका खारिएका मुक्तकहरूजस्तो रहेको बताउनुभयो।
मुक्तककार राजु परियार विद्यालयकालका आफ्ना शिष्य भएको, र शिष्यले प्रगति गर्दा एउटा गुरु खुसी भएझैँ म पनि खुसी छु, उहाँका मुक्तकहरूले मेरो मन छोएको छ भन्नुभयो।
कृतिकार राजु परियारले आफ्ना कुराहरु राख्ने क्रममा समाज विकृत बन्दै गइरहेको हुनाले समाज सुधारका लागि मनका भावना र अनुभूतिहरूलाई समेटेर मुक्तक बनाएको हुँ भन्नुभयो।
कार्यक्रमका अध्यक्ष रमेश निरौलाले राजु परियारजीले आफ्नो कृति प्रकाशन गर्न धेरै मेहनत गर्नुभएको र उहाँ कार्यक्रम आयोजक संस्थाका सहकोषाध्यक्ष पनि हुनुहुन्छ, बेलबारीमा चाहिँ प्रकाशनपूर्व पाण्डुलिपिमाथि छलफल गर्ने चलन बसाएका छौँ, यसरी छलफल गर्दा राजु जीको यो कृतिमा पनि राम्रो छलफल प्रश्चयात संस्थाले मुक्तक संग्रह प्रकाशन गरिएको जानकारी गराउनुभयो।
कार्यक्रममा भरत बर्बरिक, सरन परियार, शिव पराजुली सहयात्री, रूपनारायण श्रेष्ठ र छात्रा सीता थापाले कृतिभित्रका र आफ्नै रचनाहरू बाचन गर्नुभएको थियो।
कार्यक्रममा साहित्यकारहरू मधु गुरुङ, पुरन याखा, बादल चाम्लिङ, धनजित पराजुली, केपी घिमिरे, हिरा खड्का अधिकारी, शारदा दाहाल भण्डारी, विष्णु भण्डारी आचार्य, विकास बुढाथोकी, टेकराज मगर, चक्र लोहोरुङ, प्रकाश भट्टराई, सुन्दर भट्ट, काइँला बा, गीता श्रेष्ठ, बेलबारी वडा नं. २ का वडाध्यक्ष कृष्णबहादुर गुरुङ, सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचाका सहायक क्याम्पसप्रमुख गणेशप्रसाद दहाल, सामाजिक अभियन्ताहरू घनश्याम गौतम, शङ्कर गुरुङ, लक्ष्मणजङ थापा, दुर्गा गौतम, मञ्जु रिजाल, दीपक लिम्बू, कविन्द्रराज धिमाल, सुनिता तिवारीको आतिथ्य रहेको थियो।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता, साहित्यकार जेबी थुलुङको सञ्चालन तथा उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रम रमिते सामुदायिक वन उपभोक्ता समितिको सभाकक्ष, बेलबारी-२ मा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved