इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १० प्रकाशपुरस्थित रामधुनी सामुदायिक वनमा निर्माण गर्न लागिएको पिकनिक स्पोर्ट बन्न नपाउँदै भत्कीन सुरु भएको छ ।
उक्त पिकनिक स्पोर्ट नगरपालिकाको ८ लाख र रामधुनी सामुदायिक वनको चार लाख लगानीमा निर्माण भइरहेकोछ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको योजनामा निर्माण कार्यको सुरुवाती चरणमै लापरवाही भएको पाइएको छ । हालसम्म निर्माण कार्यको लागि १० लाख ५५ हजार खर्च भइसकेको छ ।
सो रकमबाट पिकनिक स्पोर्टमा सिमेन्ट पिल्लर लगाउने र तारबार गर्ने काम भइरहेको छ । प्रकाशपुर पिकनिक स्पोर्ट निर्माण समितिले तारबार लगाउने काम गरीरहेकोछ । निर्माण समितिका अध्यक्ष पोषराज भट्टराई हालसम्म १० लाख ५५ हजारमध्ये लगभग ६ लाख ५० हजार रुपैयाँ तारबार गर्न र ४ लाख ५ हजार रुपैयाँ सिमेन्टका पिलर निर्माणमा लगानी भएको बताउँछन् ।
४ लाख रुपैयाँको लगानीमा ३ सय ७८ वटा सिमेन्टका पिल्लर तयार गरिएको पिलर निर्माण गर्ने जिम्मा पाएका प्रेम बहादुर विष्टले बताए । ३ सय ७८ वटा पिल्लर निर्माणमा ४ लाख ५ हजार खर्च भएको हो । त्यसअनुसार प्रति पिल्लर १ हजार ७२ रुपैयाँ पर्ने गएको छ ।
तरबारको लागी गाडिएका पिलरहरू भने धमाधन भत्कीन थालेका छन् । सामान्य हावा आएको समयमा पनि लड्ने र भाँचिने गरेको सोही वडाका वाडाध्यक्ष महेन्द्रबहादुर खत्री बताउँछन् ।
१ सय १० प्रतिफुटका हिसाबले पिल्लरहरु बिक्री गरिरहेको बिष्ट बताउँछन् । उनीहरूले विक्री गर्ने दररेटका आधारमा ती पिल्लरहरु प्रतिगोटा ५ सय ५० रुपैयाँमा तयार भएका छन् । तर, उपभोक्ता समितिले भने प्रति पिलर १ हजार ७२ रुपैयाँ प्रतिगोटा पिलर तयार भएको खर्च देखाएको छ ।
निर्माण समिति अध्यक्ष भट्टराई पिल्लर निर्माणमा लापरबाही भएको बताउँछन् । आफू धान रोपाइँमा व्यस्त भएको र निरन्तर अनुगमन गर्न नपाएकोले लापरबाही गरेको उनको भनाइ छ ।
स्थानीय नवराज बस्नेतले समितिको लापरबाहीले यस्तो भएको बताएका छन् । उनले यो योजना सुरु हुँदा स्थानीयले विरोध गरेको तर समिति र नगरपालिकाको मिलेमतोमा सुटुक्क योजना जिम्मा लगाइएको उनको भनाइछ । काम सम्पन्न नै नभई, अनुगमन नै नगरी रकम निकासा हुनुले थप शंका उत्पन्न गराएको उनले बताए ।
अर्का स्थानीय नरेन्द्र बस्नेतले सबैतिरबाट सो योजनाको विषयलाई नगरपालिकामा जानकारी गराउँदा समेत कुनै वास्ता नभएको बताउँछन् ।
आफूले निरन्तर अनुगमन गर्न नभ्याएको कारण यस्तो भएको उप मेयर कमला मगरको भनाइछ । गुणस्तरहीन सामाग्रीको तयार गर्ने निर्माणकर्ता, अनियमितता गर्ने ठेकेदार र निर्माण समिति सबैलाई कानुनी कारबाही गरिने उनी बताउँछीन् ।
‘म अन्य योजनामा व्यस्त भएको बखत यस्तो भएको हो,’ उनी भन्छीन्, ‘पुरानो समितिलाई पैसा फिर्ता गराएर अर्को कम्पनीलाई काम जिम्मा दिइन्छ ।’
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved