मोरङको कानेपोखरी गाउँपालिकामा अबस्थित स्वास्थ्य चौकीमा गएर बच्चा जन्माउने सुत्केरीले झण्डै सात हजार भत्ता पाउने भएका छन् ।
कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले पाँच हजार र स्वास्थ्य चौकीले एक हजार ८ सय उपलब्ध गराउने भएको हो । सो निर्णयका आधारमा अब स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीले जम्मा ६ हजार ८ सय भत्ता पाउने छन् ।
आर्थिक वर्ष ०७५/७६ को बजेटमा नै बजेट बिनियोजन गरेकोले साउन महिनादेखि नै सो निर्णय लागू हुने गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताए ।
यो सुविधा स्थानीय मात्र होईन, अन्यत्रबाट आएका नेपाली नागरिकलाई पनि दिइने छ । प्रसूतिगृहमा प्रसूति गराउन नसकी स्वास्थ्य चौकीले अर्काे अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्स खर्च बापत दुई हजार भाडा समेत उपलब्ध गराइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए ।
तर स्वास्थ्य चौकीमा आएर नियमित जाँच गराएकालाइ मात्र स्वास्थ्य चौकीको सुबिधा पाउने स्वास्थ्य चौकीका प्रमुख कामेश्वर अधिकारीले बताए । बयरबन स्वास्थ्य चौकीले २४ सै घण्टा प्रसूति सेवा दिइरहेको छ ।