रेखाको ‘मालिका’ गीत ‘सर सर’ सार्वजनिक
- प्रकाशित मितिः भदौ ४, २०७५
- 1050 पटक पढिएको
- समय अनलाइन
अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘मालिका’ को दोस्रो गीत सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको ‘सर सर...’ बोलको गीतमा आस्था राउतले स्वर भरेकी छन् ।
गीतको अडियो बलियो छ । भिडियोमा फिल्मका लिड कलाकार रेखा र कमला वलीको यात्रा देखाइएको छ । गीतबारे रेखा भन्छिन्, ‘गीतमा छोरी चेलीको आजको अवस्था बिम्बित गरिएको छ । यो गीत सबै प्रकारका असमानता, बिभेद र आक्रमण बिरुद्धको आवाज हुनेछ ।’
हरेक फिल्ममा नारी सशक्तिकरणको आवाज उठाउने रेखाले यसपटक 'मालिका' मा बाल विवाहको कथालाई टिपेकी छन् । सार्वजनिक गीतले पनि मूल कथालाई प्रस्ट्याएको छ । सशक्त र कमजोर नारीको कथा फिल्मले वाचन गर्ने रेखा बताउँछिन् ।
रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म यस वर्षको लक्ष्मीपूजामा रिलिज हुँदैछ । शिवम अधिकारीको पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ ।
नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् । यसअघि सार्वजनिक भएको ‘मालिका’ को 'हल्का माया' बोलको गीत अहिले चर्चामा छ ।
'हिम्मतवाली' पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'रुद्रप्रिया' पछि पर्दामा देखिन लागेकी हुन् । एक्सन अभिनेत्रीको छवि बनाएकी उनले अचेल समाजमा जरा गाडेर बसेका विकृती र विसंगतिलाई फिल्ममार्फत् टिप्न थालेकी छन् ।