विराटनगर / बढ्दो अपराधिक घटना तथा नेपालीहरुको नजिकिंदो चाडपर्वलाई दृष्टिगत गर्दै प्रदेश १ को सुरक्षा व्यवस्था कडा पारिएको छ । विगतमा अपराधिक घटना भएका तथा शान्ति सुरक्षाको अवस्थालाई विगार्न खोजिएका स्थानको पहिचान गर्दै पछिल्लो समय शान्ति सुरक्षाको अवस्था मजवुत बनाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । विभिन्न समूहका गतिविधीका कारण उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको विश्लेषण गर्दै त्यही हिसावको सुरक्षा व्यवस्था मिलाएको जनाइएको छ ।
प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले सुरक्षाको स्थितीलाई मजवुत बनाउँदै सबै ठाउँमा चेकजाँच बढाइएको बताए । उनले भारतसंग सीमा जोडिएका जिल्लामा पनि उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनका अनुसार प्रदेशका १४ वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बम विष्फोट, हत्या, आक्रमण, चोरी, लुटपाट र पकेटमारी जस्ता घटना हुन थालेसंगै आगामी दिनमा यस्ता घटना हुन नदिन र घटनामा संलग्नको हिचान गर्नका लागि प्रहरी सक्रियता बढाइएको रिजालको भनाइ छ । उनले नागपञ्चमीदेखि नेपालीहरुको चाडपर्व सुरु हुने गरेको बताउँदै बीचबीचमा विभिन्न समयमा मनाइने चाडपर्वलाई पनि लक्षित गरेर सुरक्षा व्यवस्था मिलाइएको जनाए । जनैपूर्णीमा, विराटनगरमा हुने रथयात्रा, गाईजात्रा, हिले जात्रा, तीज, दशैं, तिहार, छैठ लगायतका चाडपर्वका लागि दीर्घकालिन रुपमा सुरक्षा रणनीति बनाएर लागू गरिएको जानकारी रिजालले दिए ।
चाडपर्वका बेलामा धेरै गरगहना लगाउने तथा धेरै रकम साथमा बोकेर हिंड्ने चलन रहेका कारण चोरी, लुटपाट तथा पकेटमारीको घटना हुन नदिन सबै ठाउँको निगरानी बढाउन थालिएको रिजालले बताए । उनका अनुसार चाडपर्वमा बैंक तथा वित्तिय संस्थाहरुमा आर्थिक कारोवार बढी हुने भएका कारण त्यस्ता संस्थाहरु, सार्वजनिक स्थल, राजमार्ग, भित्री सडक, जंगल क्षेत्र, बजारहरु, मानविय तथा सवारी साधनको चहलपहल बढी हुने ठाउँ लगायत सम्भावित घटना हुनसक्ने क्षेत्रलाई प्रहरीले २४ घन्टा नै निगरानीमा राख्न थालेको छ ।
डीआईजी रिजालले ठाउँ ठाउँमा हतियार सहितको पैदल गस्ती, पिकेट ड्युटी, मोवाइल गस्तीसंगै सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार तालिम प्राप्त कुकुर सहित प्रहरीले गस्ती गरिरहेको छ । उनले विभिन्न ठाउँमा जडान गरिएका सीसीटिभी चलिरहेको वा नचलिरहेको भन्ने बारेमा पनि जानकारी लिन थालिएको बताए । ‘सीसीटिभीले अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गर्छ । कतिपय घटना भएका ठाउँमा पुग्दा त्यहाँ राखेका सीसीटिभीले केही दिनदेखि काम नै नगर्ने गरेको पाइयो,’ उनले भने, ‘घटना भएपछि वा हुनु भन्दा अघिदेखि नै सीसीटिभी चलेको छ वा छैन भन्ने बारेमा जानकारी राख्न आवश्यक रहयो । यसले पनि अपराध नियन्त्रण र अनुसन्धानमा धेरै ठूलो मद्धत गर्छ ।’
रिजालले यस अघि अपराधिक घटनामा संलग्न भएका कारण पक्राउ परेकाहरु छुटेपछि उनीहरुले गर्ने गतिविधीका बारेमा पनि प्रहरीले निगरानी बढाइरहेको बताए । उनीहरुका बारेमा विश्लेषण गर्दै शंकास्पद गतिविधी गर्नेहरुलाई भने नियन्त्रण लिएर छानविन तथा अनुसन्धान गर्न थालिएको हो । भारतसंगको खुल्ला सीमानाका कारण हुन सक्ने अपराधिक घटनालाई पनि मध्यनजर गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएर कडाई गर्न थालिएको उनको भनाइ छ । भारतबाट हुने लागूऔषध तथा साना हतियारको ओसारपसार र चोरी तस्करी नियन्त्रण गर्न चुनौतीपूर्ण देखिएको प्रहरीको विश्लेषण छ । ‘सुरक्षामा जहाँ जस्तो चुनौती छ, त्यस्तै सुरक्षा रणनीति तय गरिएको छ’, डीआईजी रिजालले भने, ‘राजमार्ग क्षेत्रमा सुरक्षा चेकजाँचलाई व्यापक बनाइएको छ, प्रदेशको अस्थायी मुकाम विराटनगर पनि उच्च सुरक्षा निगरानीमा छ ।’
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved