काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन मूलधारको राजनीतिमा आउनु नेपाली राजनीतिमा विशेष भएको बताउनु भएको छ।
राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति कार्यक्रममा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र डाक्टर सीके राउतबीच केही समानता भएको बताउनुभयो। प्रचण्ड पनि युद्ध र हतियारको बाटो त्यागेर शान्तिपूर्ण राजनीति हुँदै संविधान निर्माणमै अगुवाइ गर्दै यहाँसम्म आइपुगेको बताउँदै प्रधानमन्त्री ओलीले ती गुण डाक्टर राउतमा पनि देखेको बताउनुभयो।
डाक्टर सीके राउत कम्प्युटर वैज्ञानिक मात्रै होइन, एउटा राजनीतिक चिन्तक पनि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो। नेपालको संसदीय व्यवस्था विश्वकै उदाहरणीय संसदीय प्रणाली भएकाले कुनै पनि माग पूरा गर्न हिंसाको आवश्यक नपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो।
अहिले सिङ्गै देशलाई सार्वभौमसत्ता र स्वाधिनताको रक्षा गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको एक इञ्च जमिन पनि छुट्याउन र कसैलाई दिन मिल्दैन।’
नेपाली भूमि विद्वानहरुले ज्ञान संग्रह र त्यसलाई विस्तार गर्नेहरुको देश भएको पनि प्रधानमन्त्री केपी शर्मा ओेलीले बताउनुभयो। राजनीतिक प्राप्तिको एउटा चरण पार भएकाले अब नेपाल समृद्धि र सुशासनको बाटोमा हिँडेको पनि उहाँले बताउनुभयो। सीके राउत समूहसँगको सहमति पनि यसै कार्यको एउटा उचाइ भएको प्रधानमन्त्री ओलीले बताउनुभयो।
त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले देशमा देखिएका सबै समस्या समाधान गर्न चाहेको पनि स्पष्ट पार्नुभयो। त्यसैले पनि कसैले पनि सरकारलाई शंकाको दृष्टिले हेर्न नपर्ने उहाँले बताउनुभयो।
शुक्रबार नेपाल सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच मधेश र देशमा देखिएको मतभेदको समाधान जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत समाधान गर्ने ११ बुँदे सहमति भएको हो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved