छापामारकी बुढी

  • प्रकाशित मितिः जेठ १३, २०७५
  • 1038 पटक पढिएको
  • Prakash

 

-अन्जना केसी

प्लिज, रोक्नुस न ?
आफ्नै रफ्तारमा दौडिरहेकी म अनामनगर हनुमानथाननिर मेरो ध्यान एकाएक बाटोमा इसारा गरिरहेकी एउटी छोटो कदकी स्मार्ट युवतीतर्फ मोडियो  ।
म वानेश्वरदेखि न्युरोड हिँडेकी थिएँ । केही सामन खरिद्नु थियो । साँच्ची भनुँ भने म एकदम हतारमा थिएँ । प्रायजसो म हतारमै हुन्छु । मेरा आफ्नै काम अनि बाध्यता छन्, घरको काम गर्नु, आफ्नो व्यवसाय चलाउनु, बच्चा सम्हालनु, बुहारी, पत्नी, आमा सबैको भूमिका कुशलतापूर्वक निर्वाह गर्नु मेरो मात्र नभएर सबै कामकाजी महिलाका बाध्यता हो ।

हतारमै भए पनि स्कुटी रोकेँ । त्यतिबेला काठमाडौँमा हाहाकार थियो । नाकाबन्दीको चरम मारमा थिए नेपाली जनता । गाडी चल्दैनथे । सडक प्रायः खाली हुन्थ्यो । कहीकतै आफ्नो पहुँच हुनेको निजी सवारी साधन चले पनि जनजीवन एकदमै कष्टकर थियो ।
सेवा नै धर्म हो भन्ने सोचेर मैले स्कुटीको ब्रेक थिचेँ ।
‘कहाँ जाने बहिनी ?’ हेर्दा पुरानो तर सफा जिन्स र टि–सर्ट लगाएर बाटोमा उभिरहेकी युवतीलाई सोधे ।
प्लिज मलाई लिफ्ट दिनुस् न, मलाई सुन्धारासम्म जानु छ ।
बस्नुस् न म नि उतैतिर जाँदैछु, मैले भनेँ ।

उनी मेरो स्कुटीको पछाडि बसिन् अनि ठूलो श्वास फेरिन् । मानौँ लामो विछोडपछि अविभावक पाएजस्तो ।
बहिनी अलि हतासमा हुनुहुन्छ जस्तो लाग्यो । मैले कुरा निकाल्ने बहानाले औपचारिक बन्दै सोधेँ ।
केही होइन दिदी, फेरि ठूलो श्वास फेरिन् ।

हुन त कहाँ विश्वास गर्न सकिन्छ र बाटोमा पहिलोपल्ट भेटेको अपरिचितलाई । मैले उनलाई हेर्दा सजिलै अनुमान लगाए, उनी तनावमा छिन् अर्थात उनको जीवनमा ठूलो घटनाको बज्रपात भएको छ ।
उनी मसँग पोखिन चाहिनन् जस्तो लाग्यो । बाटोमा सामान्य कुरा गर्दै हिँडे सुन्धरा आइपुग्यो । काठमाडौँ मल अगाडि रोकेर उनलाई स्कुटीबाट झर्न आग्रह गर्दै बोलँे ।

बहिनी यहीँसम्म होइन ?
खै दिदी कासम्म भनूँ ? जाऊँ कहाँ जाऊँ बसूँ कहाँ बसूँ, स्वास्नी मान्छे हुनु त अभिशाप रहेछ । कोठामा पनि अरूलाई लिएर आएको छ ।
उनी आत्मीय हुन खोज्दै भनिन् । म अलमल परेँ, कसको बारेमा बोलिन उनी भनेर ।
कसको कुरा गर्नुभो ? मैले सोधेँ ।
हजुरलाई हतार छैन भने बसौँन कतै उनले सोधिन् ।
बेलुकी ५ बजिसकेको थियो । मलाई हतार त थियो नै त्योभन्दा ज्यादा हतार उनको जीवन जान्नु थियो । मैले हुन्छ भन्दै काठमाडौँ मलको छेउमा रहेको रेस्टुरामा लगेर गएँ ।

के खाने बहिनी ? मैले सोधेँ, ‘केही नखाने भनिन् । मैले २ कफी मगाएँ ।
वातावरण शून्य थियो । मैले कुरा निकाल्ने बहानाले सोधे कहाँ बस्नुहुन्छ ?
हनुमानथान नजिक ।
घर ?
घर गुल्मी हो रे माइती सल्यान ।
अघि कसको कुरा गर्नु’भा ?
मेरो लोग्नेको । आज पनि त्यही केटीलाई कोठामा लिएर आएको छ । म बस्न सकिन अनि निस्किएर हिडेँ ।
‘अनि ?’

म सल्यानको विकट गाउँको दलित परिवारमा जन्मिएर हुर्केकी हुँ । मेरी आमा म सानी छँदा नै सुत्केरी हुन नसकेर बित्नुभो । भाइ बाच्यो । आमा बितेको ३ महिना नबित्दै हाम्रो हेरचाह गर्न भनेर सानिमा पर्नेसँग बाबाले बिहे गर्नुभयो । सुरुमा राम्रै थियो । हाम्रो बाल मस्तिष्कले सबै कुरा नबुझे पनि राम्रो नराम्रो बुझ्न सकिन्थ्यो । सानीमाको बच्चा जन्मिएसँगै भाइ र मेरा कष्टकर दिन सुरु भए । जसोतसो भाग्यलाई दोष दिँदै घरको काम सकेर पढ्दै थियौँ ।

स्कुलमा पनि युद्धको प्रभाव पर्दै थियो । विद्यार्थी सङ्गठन निर्माण हुँदै थिए । घरको पीडा भइरहेको बेला, दलित मुक्ति, महिला मुक्ति अनि सबैखाले मुक्ति, बुर्जुवा शिक्षा नपढ्ने भन्दै युद्धमा लागे । नाच्न जान्ने भन्दै पार्टीले कलाकार बनायो । नाच्नेबाहेक आफ्नो स्तर बढ्न सकेन । आफूभन्दा पछाडिका सङ्गठनको क्षेत्रमा माथि पुगे । आफू जिल्लाभन्दा माथि कहिले पुग्न सकिएन । तैपनि सेनाको प्लाटुन कमान्डरले प्रस्ताव राखे । खुसी भएर बिहे गरे । दलित र ब्राह्मणबीचमा अन्तर्जातीय जनवादी बिहे भयो ।

भाइ पनि पछि युद्धमै लाग्यो । उसलाई पार्टीले सेनामा खटायो । दाङको घोराहीको लडाइँमा सहिद भयो । दुःख, सुख जसोतसो चलिरहेको थियो । पछिल्लो समयमा पार्टी शान्ति प्रक्रियामा आएसँगै हाम्रा नराम्रा दिन सुरु भए । मेरो लोग्नेले थुप्रै युद्ध जितेर आए पनि पछि सरकारले अयोग्य लडाकू घोषित गरिदियो । पार्टीले गर्व गरेको अन्तर्जातीय बिवाहले मेरो जिन्दगी नै तहस नहस पारिदियो । उसले मलाई अहिलेसम्म आफ्नो घर देखाएन । मेरो त के कुरा उसको परिवारले दलित केटीसँग बिहे गरेकै कारण सामाजिक बहिष्कार गरँे ।

जाने ठाउँ कतै भएन, पार्टीभित्र पनि साङ्गठनिक हैसियत ठूलो हुने र नेताको चाप्लुसी चाकडी गर्न सक्नेहरू मात्र वर्चश्वमा रहे । पार्टीले मलाई नाच्नबाहेक केही सिकाएन । जिउने कला जानिनँ, मैलेँ । काठमाडौँको बसाई, आर्थिक कठिनाइ, जातीय विभेद यी सबै कारणले परिवारमा कलहको विजारोपण भयो । जीवनलाई सुखी होइन सम्पन्न बनाउनुपर्छ भनेर लागिरहे । तर न सुखी भए न सम्पन्न ।

जीवनमा यस्ता घटनाहरू पनि हुँदोरहेछ, जसलाई पत्याउनै गाह्रो हुन्छ । मलाई आखिर त्यही भयो । आफ्नो जीवन आफैलाई भारी भएको बेला म गर्भवती भएँ । एउटा मीठो अनुभूत भयो । बच्चाको आगमनसँगै भौतिक कठिनाइ भए पनि मानसिक सन्तोष मिल्नेछ । मलाई जिउने आधार मिल्ने छ । विडम्बना ! त्यसको उल्टो भैदियो । असोचनीय भयो । अकल्पनीय भयो । मेरो पेटको बच्चा ट्युबमा बसेको रहेछ । ३ महिनामा बच्चा खेर गयो । एकदम धेरै रगत बग्यो । हस्पिटल जाँदा थाहा भयो, ट्युब फुटेको रहेछ, रगत नरोकिएकोले गर्दा अप्रेसन गर्नुपर्ने भयो । पछि थाह भयो कि मेरो पाठेघर निकालेर फालिसकेको रहेछ । अब म जीवनभर आमा बन्न नसक्ने भएँ ।

तपाईं आफैं कल्पना गर्नुस् दिदी त्यो बेला मेरो के हाल भएको होला । एउटा कहालीलाग्दो र अन्त्यहीन जीवनको जस्केलोमा आएर पसारिए । जसलाई पन्छाउने झिनो सामथ्र्य पनि रहेन ममा । देश परिवर्तन गर्न हिँडेको मेरो छापामार लोग्नेको ज्यादती अब ममाथि सुरु हुन थाल्यो । प्रत्येक तीता शब्द सुन्नुपर्यो मैले बच्चा जन्माउन नसक्ने कमिनी भन्दै कुटिए, पिटिएँ, जातीय बेइज्जती त मेरा लागि सामान्य भए ।

जन्मले दिएको नाता पनि रहेन ममा, सम्बन्धले बनेको नाता पनि रहेन, वर्गीय नाताको त के कुरा गरौँ ? वर्गीय साथीहरूलाई भेटेर कुरा गर्न, समस्या राख्न पनि नखोजेकी होइन । मेरो लोग्नेकोबारे । ऊ अयोग्य लडाकू भएर के भो त ? साथी सर्कलको जमातमा कति प्रिय छ, अरूका लागि ऊ यति महान छ कि कसैलाई उसको बारे नराम्रो केही भन्यो भने विश्वास गर्न गारो हुन्छ । भन्छन् नि ? खुकुरीको चोट अचानोलाई मात्र थाह हुन्छ । म त्यही अचानो हो दिदी ।

उनले आँशु पुछिन् र फेरि बोल्न थालिन् । आजकल मलाई कोही आफ्नो लाग्दैन । आफन्त नभएको घर जेलभन्दा बढी हुन्छ अहिले पनि सधैँ जस्तै घरमा उसले क्षेत्री थरकी केटी लिएर आएको छ । कोठा एउटा छ, ऊ आउँदा म त्यहाँ अटाउँदिन । त्यसैले बाहिर निस्केर तपार्इंसँग यता आएँ ।

तपाई ऊ बिना पनि बाँच्न सक्नुहुन्छ काम गर्नुस् । आफ्नै तरिकाले जीवन जिउनुस् । मैले साहस बटुलेर उनलाई सान्त्वना दिँदै बोलेँ ।
काम के गरुँ दिदी ? म बुर्जुवा शिक्षा भन्दै ९ कक्षा पनि पास गरिनँ । काम कहाँ के पाइन्छ ? ब्यवसाय गरूँ कसले पैसा दिने? कसैका जुठा भाँडा माझूँ, मजदुरी गरूँ कहाँ गरूँ ? अझै पनि म हिजो युद्ध लडेको मान्छे भन्ने महत्वकाङ्क्षा छ । बाहिर कसैले नचिने पनि जिल्लामा राम्रै चिन्छन् ।

सबैले सम्भावना बोकेकी मान्छे भन्थे । गाउँमा जाऊँ कहाँ जाऊँ ? माइती उहिल्यै गुमाएँ । लोग्ने आफ्नो नभएपछि घर को त कुरै नगरौँ । जब एउटी नारी आमा, दिदी, बहिनी, छोरी र पत्नीमध्ये केही बन्न सक्दिनँ तब ऊ वेश्या बन्छे । तर पाठेघर झिकिएकी म वेश्या पनि बन्न सक्दिनँ । उसको कुराले म स्तब्ध भएँ । बोल्नै सकिनँ । कुनै गर्हौं भारीले थिचेजस्तो भयो । कफी सेलाइसकेको रहेछ । पिउन मन लागेन, बिल तिरँे, उनलाई त्यही हालमा छोडेर आफ्नो कामै नगरी घर फर्किएँ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved