सप्तकोशी नदीमा सबैभन्दा महंगो र स्वादिलो माछा हो जल कपुर । पहिलेको भन्दा कोशी नदीमा निकै कम भेटिन थालेको जल कपुर प्रजातिको माछा खरिद गर्नको लागी कोशी ब्यारेजमा दैनिक ‘लडाई’ हुने गर्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।
तर वास्तवमै कोशी ब्यारेजको पश्चिम भागको माछा बजारमा जल कपुर माछा किन्न लडाईनै हुने गरेको छ । मध्य रातमा मछुवाराहरुले दैनिक ५ देखि ७ केजीसम्म मात्र निकाल्ने जल कपुर माछाको लागी अरु कोही नभई सुरक्षाकर्मी र व्यवसायीबिच लडाई हुने गर्छ ।
कोशी नदी आसपास होटल संञ्चालन गर्ने व्यवसायीहरु प्रत्येक दिन बिहान ३ बजे जल कपुर माछा खरिद गर्नकै लागी ब्यारेजको पश्चिम भागमा पुग्छन् । तर माछा खरिद गर्न जादा सुरक्षाकर्मीनै आफै ग्राहक भएर आउदा प्राय व्यवसायीहरु रित्तो हात लिएर फर्किने गर्छन ।
ग्राहक बनेर आउने सुरक्षार्कीहरु भने अरु कोही नभई प्रहरीकै बडीगार्ड र भान्से हुन्छन् ।
नेपालमा पाइने माछाहरुको प्रजाति मध्ये जल कपुरको स्वाद लोभलाग्दो छ । यस कारण पनि प्रहरीका हाकिमहरु जल कपुरको स्वाद प्रति लोभिएका छन् ।
Fish कोशी नदी किनारमा ८ बर्षदेखि माछाको होटल सञ्चालन गर्ने सुरेन्द्र यादवले यो दुई महिना भित्र बल्लतल्ल दुई केजी जल कपुर माछा खरिद गरे । त्यो पनि प्रहरीसँग लडाईनै गरेर ।
उनि भन्छन् ‘कोशीको जल कपुर माछामा प्रहरीको सिण्डीकेट जस्तै भएको छ’ । ‘मछुवाराहरुलाई नदीबाटै साथमा लिएर प्रहरीका मान्छेहरुले माछा लान्छन् ’ ।
‘प्रतिकेजी १२ सय पर्ने जल कपुर होटलमा आउने ग्राहकहरुको पनि पहिलो रोजाई हुन्छ’, तर माछानै नभेटिएपछि व्यवसायीमा प्रत्यक्ष असर पुगेको यादवको तर्क छ ।
उनका अनुसार माछा लिन आउनेहरु कोही एसपी, डिआईजी, जर्नेल, सिडियोका बडीगार्ड वा भान्से हुन्छन् ।
पैसा तिरेर नै लान्छन् तर हामी व्यवसायीलाई माछानै पाउदैनउँ ।
‘यो प्रबृति पुरानो नै हो, प्रहरीको यस्ता व्यवहारका कारण हामी आजित छौ’ अर्काे माछा व्यवसायी हेमलाल यादव भन्छन् । ‘हामी माछा व्यापारी र होटल व्यवसायीहरुले धेरै पटक यो प्रबृतिको बिरोध पनि गरेउँ, तर सुनुवाई भएन’ । उनले सिडियो कार्यालयमा पुगेर पनि धेरै पटक जानकारी गरायौ, तर वास्ता नभएको बताए ।
हामी माछा बेचेर जिवन धान्दै आएका छौ, तर जुन ग्राहकको रोजाईको माछानै खरिद गर्न नपाउदा दिनप्रति दिन व्यवसाय खस्किदै गएको हेमलालको भनाई छ ।
माछा खरिद गर्न जादा धेरै पटक प्रहरीसँग झगडानै भएको हेमलालको अनुभव छ । ‘साधा पोसाक अनि कम्बरमा पेस्तोल बोकेका उनिहरुसँग बोल्नै डर हुन्छ । माछाको लागी लडाई नै गर्नुपर्छ, कहिलेकाही त ठेलेर लडाइदिन्छन् त कहिले हात हालाहाल नै हुन्छ’ ।
माछाको ‘पावर’
कोशी ब्यारेजको पश्चिम गेट (सप्तरी जिल्लाको भाग) को नजिक माछा बजार छ । प्रत्येक बिहान ३ देखि ५ बजेसम्म यहाँ कोशीको ‘फ्रेस’ माछा खरिद गर्नेहरुको भिड लाग्ने गर्छ । मछुवाराहरुले कोशी नदीमा मारेको माछा यही ठाँउमा बिक्रीको लागी दिन्छन् । जसमा पहिलो नम्बरमा सुरक्षाकर्मीका मान्छेले उक्त माछा खरिद गर्ने गरेका छन् ।
त्यसपछि बाँकी रहेका माछाहरु व्यापारी र होटलवालाहरुले खरिद गर्ने गरेका छन् ।
यहाँ माछा खरिद गर्नको लागी सुनसरी, सप्तरी, मोरङ लगायतका प्रहरी कार्यालयका बडीगार्ड र भान्से पुग्ने गर्छन । साथै सेना र शसस्त्रका मान्छेहरु पनि बिहानै कोशीको पश्चिम गेट पुग्ने गर्छन ।
कतिपय अबस्थामा कोशी ब्यारेजमा खटिएका सुरक्षाकर्मी मार्फत पनि हाकिमहरुको लागी माछा मगाउने गरिन्छ ।
रोचक त के छ भने हाकिम फकाउन कतिपय सुरक्षाकर्मी जल कपुर माछा बोकेर क्यावटर पुग्ने गर्छन । साथै प्रहरी, शशस्त्र प्रहरी र सेनाले समय समयमा आयोजना गर्ने भोजहरुमा जल कपुर माछा बिशेष परिकारको रुपमा भेटिने गर्छ ।
FishfromKoshi प्रहरी स्रोतका अनुसार कोशीको जल कपुर माछा प्रहरी हेडक्वाटर, मन्त्री निवास र नेताहरुको भान्सासम्म पुग्ने गरेको छ । माछा बिराटनगर बिमानस्थलबाटै सिधै काठमाडौ पुग्ने गर्छ ।
‘हाकिम रिजाउन वा आफ्नो काम निकाल्न’ प्रहरी भित्र कोशेलीको रुपमा माछा लैजाने संस्कार पुरानो मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved